काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवा बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले घोषणा गरेको प्रारम्भिक राहत प्याकेजको स्वागत गरेको छ । सरकारले घोषणा गरेको राहत प्याकेजले अटोमोबाइल व्यवसायीहरूलाई ठूलो राहत पुग्ने नाडाले जनाएको छ । सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गरी भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ ।
विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको यो कदम अत्यन्त सकारात्मक र स्वागतयोग्य रहेको नाडाको भनाइ छ । विशेषगरी बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने नाडा विश्वास गर्दछ । नाडाले भनेको छ, ‘त्यस्तै, क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियत पनि पुनःस्थापनाका लागि महत्वपूर्ण छ ।’
नाडाका अनुसार बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने निर्णयले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्नेछ । साथै, क्षतिग्रस्त सवारी तथा उपकरण पुनः खरिदका लागि कर्जा उपलब्ध गराउने व्यवस्था व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण रहेको नाडाको निष्कर्ष छ । नाडा अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक भएको बताए । यसले प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्ने उनको भनाइ छ ।
नाडाले सरकारको निर्णयको शीघ्र, सरल र प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेज ल्याउन पनि नाडाले सरकारसँग माग गरेको छ ।
नाडाद्वारा बाढीपीडितको सहयोगको लागि आर्थिक सहयोग हस्तान्तरण
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवा बाढी पीडितको सहयोगको लागि १० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण
गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।
बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराएको नाडाले जनाएको छ । साथै, नाडाले बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गर्दै राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ । नाडाको टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खाद्यान्न, आवश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गरेको छ ।