काठमाडौं, पोखरा विश्वविद्यालय स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थी लक्षित ‘साइबर सुरक्षामा एआई र सामाजिक प्रभाव’ विषयक कार्यशाला आयोजना गरेको छ । कार्यक्रम टेकपाइला इनोभेसन्स र वान कभर प्रालिको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन तथा पूर्व रजिस्ट्रार अजय कुमार थापाले उच्च शिक्षाले प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउनुपर्ने आवश्यकता औंल्याए । विश्वविद्यालयको स्थापना, इतिहास र मार्गदर्शक मूल्यबारे चर्चा गर्दै उनले विश्वव्यापी प्राविधिक परिवर्तनसँगै शैक्षिक संस्थाहरूको भूमिका थप महत्त्वपूर्ण बन्दै गएको बताए । डिन थापाले एआई र साइबर सुरक्षामा ‘सीप–पहिलो’ दृष्टिकोण अपनाउनु नेपालको डिजिटल सुरक्षा सुदृढ बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रमका क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले ‘सार्वभौम एआई’ को अवधारणा प्रस्तुत गर्दै नेपालले विदेशी प्रविधिमा मात्र निर्भर नभई आफ्नै एआई पूर्वाधार, डाटा र डिजिटल क्षमता विकास गर्नुपर्नेमा जोेड दिए ।
कार्यशालामा एथिकल ह्याकर स्वागत अर्याल र प्रलिन बारामुले लाइभ फिसिङ डेमोमार्फत सामाजिक इन्जिनियरिङ आक्रमणका प्रविधि तथा साइबर सुरक्षामा एआईको प्रयोगबारे प्राविधिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थीहरूको सहभागितामा प्राविधिक हाजिरीजवाफ प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । कार्यक्रमका सभापति तथा क्याम्पसका कार्यक्रम संयोजक फूलबाबु झाले उद्योगसँगको सहकार्यलाई थप सुदृढ बनाउन टेकपाइला इनोभेसन्स र वान कभर प्रालिसँग मेन्टरसिप, इन्टर्नसिप तथा उन्नत तालिमका लागि औपचारिक समझदारी गर्ने तयारी रहेको जानकारी दिए ।