हाम्रो नेपाली समाजमा एउटा उखान सर्वव्यापक छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शासकदेखि शासितसम्म आम जनसमुदायले यसलाई एक अर्कालाई होच्याउनु खुइल्याउनु पर्यो भने खुब मुख मिठ्याइ मिठ्याइ जिब्रो फट्कार्दै आफ्ना मित्रजनलाई सुनाइन्छ । प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएको नेपाली शब्दकोषमा पनि यस उखानको तात्पर्य छलङ्ग हुने गरी प्रष्ट्याइएको छ । त्यो उखान हो ‘Ò लाई भन्दा देख्नेलाई लाज’ । नेपाली समाजको यो उखान यति खेर नेपाली राजनीतिको तात्तातो सन्दर्भमा पहिले ‘कमरेड’ अहिले ‘मिस्टर’ पुष्पकमल दाहाल (प्रचण्ड) को हकमा अक्षरसः चरितार्थ भएको छ । हुन पनि हो यति खेर मिस्टर प्रचण्डलाई ऐना अगाडि उभिएर आफ्नै अनुहार हेर्नु ठूलो लाजको विषय भएको छ ।
यो तथ्य आम शासक शासित सम्पूर्ण जनसमुदायमा त्यति खेर उजागर भयो जति खेर रास्वपाको प्रचण्ड बहुमतको संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री बालेन शाहले आफ्नो अनुहार हेरेनन् भनेर गुनासो रोइलो गरे । आफैँलाई हेर्न लाज भएको अनुहार अरूले हेरेनन् भनेर गुनासो रोइलो गर्नु यस्तैलाई एकेडेमीको शब्दकोषले ‘Ò लाई भन्दा देख्नेलाई लाज’ भन्ने उखानको तात्पर्य परिभाषा गरेको छ ।
मिस्टर प्रचण्डलाई आफ्नै अनुहार हेर्न लाजको विषय भएको सुरुवाती दौरको यो पंक्तिकार स्वयं प्रत्यक्ष साक्षी हुन पुगेको हो । प्रचण्ड र मेरो एउटै मञ्चबाट दुई पटक भाषण गर्नु परेर त्यस बखत मैले प्रचण्डलाई सोधेको प्रश्नमा उनीसँग कुनै उत्तर नभएबाट नै त्यस बखत नै मलाई आजको अवस्था ‘Ò लाई भन्दा देख्नेलाई लाज’ सामना गर्नु परेको थियो । पाठ्यक्रम प्रचण्ड पहिलो पटक प्रधानमन्त्रीबाट सडकमा आइपुगेका बखत सायद प्रधानमन्त्री बाबुराम भट्टराइ थिए, नेपालको कर्मचारीतन्त्रका एक नमुना उदाहरण पात्र काभ्रेका पुष्पप्रसाद लुइँटेल रहेछन् । विसं. २०१८ सालमा ग्य्राजुएसन गरेर श्री ५ को सरकारमा अधिकृत जागिरमा प्रवेश पाएका । सीडीओ सह अञ्चलाधीश (अहिलेको प्रदेश प्रमुख) हुँदै प्रशासनका विभिन्न ओहोदामा जिम्मेवारी निर्वाह गरेर अवकाश भएर कुवेर शर्माको हरियाली पार्टीको अध्यक्षसमेत हुन भ्याएका । अझ भनौँ सुनसरीमा गिरिजाको खिलाफमा चुनाव पनि लडेका । सम्भवतः यो विसं. २०६६/०६७ सालको कुरो हुन सक्छ । नजाने ठाउँको बाटो नसोध्नु भने जस्तै यस्ता कुराका मलाई महिना गते याद रहँदैनन् ।
कुवेर शर्माको सिफारिसमा लुइँटेलको ‘अनुभव वृत्तान्त’ पुस्तक प्रस्तुत गरिदिन म तयार भएँ । विसं. २०४२ सालको गणेशमान, भट्टराइको कांग्रेस सत्याग्रहमा नक्खु कारागारमा (त्यसअघि नै म बीपीसँग लागेर ६ वर्ष जेल भोगिसकेको) भेट भए यतादेखि नै उहाँको मृत्यु पर्यन्त मित्रताको कथागाथा लामो छ, यहाँ वर्णन सम्भव हुन्न । लुइँटेल कर्मचारीतन्त्रको नमुना उदाहरण चाहिँ के हो भने उच्च ओहोदामा पुगेर रिटायर भएकाहरू सम्पूर्णको एउटै ध्याउन्न सत्ताधारी पार्टीका उपल्लो तहमा चाकरी पुर्याएर मोटो रकम बुझाएर राजदूत या विभिन्न संवैधानिक अङ्गका पदाधिकारीमा पुग्नु । प्रचण्ड बाबुरामले पनि रिटायर कर्मचारीको यो मनोविज्ञान बुझेर पञ्चायत कालका खुङ्खार अञ्चलाधीश सूर्यबहादुर सेन ओलीलाई समानुपातिक सांसद बनाएर राम्रै जालो बिछ्याइ सकेका थिए । पुस्तकको भूमिका बाबुरामले लेख्ने र लोकार्पण चाहिँ प्रचण्डले गर्ने भने पछि कलम समाउनु अघि नै कुरो बुझिहालेँ ।
पुस्तक लेखन प्रकाशनको एउटै मात्र उद्देश्य थियो जसरी भए पनि आफूलाई कट्टर माओवादी प्रमाणित गर्नु र योग्यता अनुसारको पद माग्नु । मलाई भने लुइँटेलको यो मनोविज्ञान ‘के खोज्दछस् कानो आँखा’ भयो । लुइँटेलले वाह–वाह गर्ने शैलीमा संसद्वादी र लुइँटेलले नबुझ्ने शैलीमा माओवादीका जति पनि राष्ट्रघात, जनघात लुटतन्त्रका कुकर्महरू छन् तिनलाई पाठ्यक्रममा अभिलेख गर्न एउटा अवसर मिल्यो ।
(१) ‘नेपाली राजनीतिको ६ दशक’ र (२) ‘नेपालमा नारी जागरणको इतिहास’ त्यस बखत लुइँटेलका नाममा लेखिएका यी दुई पुस्तक अहिले पनि बजारमा (लाइब्रेरीहरूमा) खोजियो भने भेटिन्छ । कोही जिज्ञासु अध्येता पाठकले खोजेर पढ्नु भयो भने छक्क पर्नु हुनेछ । आजको कांग्रेस एमाले माओवादीको आफ्नै अनुहार हेर्न लाजको अवस्था त्यस बखत नै अक्षरसः पाठ्यक्रम उपलब्ध भइसकेको थियो । २३/२४ भदौ ०८२ आइपुग्न समय लागेको त कविलायी चेतना दाश मानसिकतामा नवजागरण टुसाउन समय लागेको हो । जब जातीय, क्षेत्रीय, धार्मिक द्वन्द्व मच्चाएर नेपाललाई ‘ब्ल्याक लिस्ट’ मा पुर्याइ सिध्याइदिने परचक्री षडयन्त्र तहत ०७२ को संविधान लादियो त त्यति खेर नै कुरो बुझेर कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी आदि इत्यादि दलहरूका प्राधिकार नेताहरूका पाता कसिनु पर्दथ्यो । त्यस बखत नै त्यो हुन सकेको भए आजको जस्तो अन्तर्राष्ट्रिय जगतले माया गरेर ‘ग्रे लिस्ट’ भने पनि तथ्य र यथार्थमा ‘ब्ल्याक लिस्ट’ मा पुगिएको अवस्था झेल्नु पर्ने थिएन । राष्ट्रिय अर्थतन्त्र ८३ प्रतिशत बिहान बेलुका छाक टार्न आयात निर्भर र ३० खर्ब वैदेशिक ऋणको ब्याज तिर्न पनि ऋण नै भने पछि यो भनेको कम्प्लीटली ‘ब्ल्याक लिस्ट’ नै हो ।
हो यी नै दुई पुस्तकको लोकार्पण मञ्चमा प्रचण्ड र मैले एउटै माइकबाट बोलेका हौँ र एक अर्कालाई सवाल जवाफ गरेका हौँ । त्यस बखत मैले उठाएको माओवादी अवसानको प्रश्नमा मिस्टर प्रचण्डसँग कुनै उत्तर थिएन ‘जुन दिन १७ हजार बढी हत्याको चिहानमा उभिएर माओवादी (प्रचण्डपथ) हरू (८३ जना) ले गिरिजाप्रसाद कोइरालाको हातबाट टीका थापेर राजा ज्ञानेन्द्रद्वारा पुनर्जीवित मृत प्रतिनिधीसभाको सांसद भए त्यही दिन श्रीलंकाको तामिल टाइगरमा रूपान्तरण भएका थिए र प्रचण्ड तामिल टाइगरको नायक प्रभाकरण भइसकेका हुन्, जसको दाहसंस्कार अन्त्येष्टी भइसकेको थियो । प्राण गएको मानिस जस्तै विचार हराएको माओवादी अब लास भइसकेको छ । अब माओवादीको समयमै अन्त्येष्टी भएन भने कुहेर गन्हाएर रोग फैलाउन थालेर देश, जनता, प्रणालीका लागि ठूलै अप्रेसन आवश्यक पर्ने क्यान्सरमा रूपान्तरण हुनेछ ।’ नभन्दै त्यस बखत प्रचण्ड समक्ष मैले छर्लङ्ग पारेको यो तथ्य (प्रश्न) कालक्रममा अक्षरसः चरितार्थ भएको छर्लङ्गै छ ।
सुन तस्करीका ठूला अपराधी (रातारात करोडौँ अर्बौँका मालिक) मा माओवादी नेताकै नाम मुछिएको पाइएको छ । उपराष्ट्रपति अर्थमन्त्री भएको नेताको पाँचतारे शैलीका महल पजेरो शान शौकत हेर्नुभयो भने छक्क पर्नुहुनेछ । नक्कली भुटानी शरणार्थी काण्ड (मानव तस्करी) मा प्रचण्डकै नाम पनि प्रष्टै मुछिएको भेटियो । भुटानी शरणार्थी नेता टेकनाथ रिजालको टोपबहादुर रायमाझी साक्षी रहेको बयान । ०८२ भदौ २४ शेरबहादुर देउवाको घर जल्दा अर्बौँ (१६ अर्बको हाराहारी रिपोर्ट) नेरू, भारू, डलरको गोदाम खरानी भए जस्तै प्रचण्डको घर जल्दा पनि नोटको गोदाम जलेको भेटिएको थियो ।
यो भन्दा पनि अझ छक्क पर्नु पर्ने आश्चर्यको तथ्य प्रचण्डको जलेको घरमा स्वीमिङ पुल (पौडी खेल्ने पोखरी) को अवशेष भेटिएको थियो । गरिब शोषित पीडित जनताको नेताको घरमा स्वीमिङ पुल ? होइन भने नेपालमा स्वीमिङ पुल या त पाँचतारे होटलहरूमा हुन्छ या राजा महाराजाहरूका दरवारमा भेटिन्छ । देश बेचेर (महाकाली सन्धि) जनता लुटेर (तीन करोड जनसङ्ख्याका झण्डै एक करोड बलिया पाखुरी जनसङ्ख्या विदेशमा कामदार विवश रेमिटेन्समा मोजमस्ति) धनाड्य भएको नोटको गोदाम मालिक शेरबहादुर देउवाको महल जल्दा पनि स्वीमिङ पुलको अवशेष भेटिएको थिएन ।
नेपाल सिध्याउने परचक्री षडयन्त्रको रिक्रुट भएर जातीय, क्षेत्रीय, धार्मिक द्वन्द्व मच्चाउने मनपरीतन्त्र लुटतन्त्रका नायक (खलनायक) भएर अस्थिरता अशान्तिको प्रतिमूर्ति बनेको मिस्टर प्रचण्डको प्रधानमन्त्री बालेन शाहले मुख हेरेर मूल्यवान् समय किन बर्बाद गर्नु ? प्रचण्डको मुख हेर्नु र कालो बिरालोले बाटो काट्नु एउटै खालको अपसकुन हो । मुलुकको राजनीति सुध्रिन थाल्यो भने यस्ता बिगार्ने तत्वले अवश्य नै ठाउँ पाउने छैनन् । यसमा पंक्तिकार छक्क परेको चाहिँ ठूलो पत्रकार भएर गृहमन्त्रीद्वय खुमबहादुर खड्का र वामदेव गौतमको सुन तस्करीको प्रहरेदारी गरेर राजधानीमा महल र पजेरो जोडेका १२ भाइका आका बनेकाले प्रचण्डको रोइलोमा लेफ्ट राइट गरिरहेका देख्दा हो ।
खैर अब यी सबै अध्यायहरू जनता जनार्दन समक्ष छर्लङ्ग उजागर भइसकेका छन् । प्रधानमन्त्री बालेन शाहले आँट प्रदर्शन गर्न नसक्नाका कारण मात्रै अहिले पनि नेपालको राज्यसत्तालाई ११ हजार गुण्डाहरूले हिजो पूर्ण रूपमा क्याप्चर गरेका (एक अन्तर्राष्ट्रिय रिसर्च— पुरञ्जन आचार्य) मा हल्लाइ रहेका छन् । त्यस्ता ११ हजार गुण्डा नायकहरूलाई पाता कसेर नठिङ्गु¥याए सम्म प्रचण्डको अनुहार हेरिदिनु प¥यो भन्ने पधेर्नी रोइलोको अपसकुन भइ नै रहने छ ।
प्रधानमन्त्री बालेन शाहलाई सल्लाह जस्तो पनि मुख्य विषय (शीर्षक) माओवादी प्रचण्डको अनुहारमा आउँछु । यति खेर नेपाल अधिराज्यमा राजनीतिक हिसाबले श्रीलंकाका प्रभाकरण भइसकेका प्रचण्डसँग तुलनीय हुन सक्ने एउटै अनुहार छ विगत १५ वर्षदेखि अस्पतालको शवगृहमा सडीरहेको अनसनकारी नन्दप्रसाद अधिकारीको लास । नन्दप्रसाद अधिकारी (गोर्खा) भनेका नेपाल आमाका एक सपुत नेपाली राज्यसत्ताका एक नागरिक हुन् । आफ्ना नागरिकको लास १५ वर्ष सम्म सद्गति गर्न नसक्नु भनेको त्यस्तो देशलाई दुनीयाँका कुनै पनि राष्ट्रले स्वाभीमानी सार्वभौम मान्न मिल्दैन । कल्पना गर्नुहोस् आफन्तको लास १५ वर्ष सम्म आँगनमा कुर्नु प¥यो भने त्यो परिवारलाई कत्रो ठूलो सकस हुन्छ ? मैले भन्ने पनि गरेको छु, हो त्यस्तै सकस यति खेर नेपाल आमालाई भइरहेको छ । नेपाल आमाको यस सकसबाट पिरोलिएर बेलाबेलामा दोलखाका भीमसेन देवता (शिला) मा पसिना आउने गरेको सबैलाई थाहा छ ।
अस्ति भर्खरै भोटेकोशीको बाढी प्रकोप आउनु तीन दिन अगाडि काभ्रेपलाञ्चोककी पलाञ्चोक भगवती (हिमालय पुत्री पार्वती) महालक्ष्मीलाई पनि पसिना (आँशु) आएको धेरैले देखेका र सबैले सुनेकै हौँ । जब पार्वती नै रुन थाल्नुभए पछि महादेव चुप लागेर बस्ने हुन्न । नेपाल आमाको सकसबाट पिरोलिएका आफ्ना अङ्गगणहरूप्रति द्रवित भएर भगवान् पशुपतिनाथले नन्दप्रसाद अधिकारीको लासमाथि टेकेर ताण्डव नृत्य प्रारम्भ गर्नुभएको छ । यस कालखण्डमा नक्कली भुटानी शरणार्थी काण्ड मानव तस्करीदेखि वाइडबडी, पोखरा, भैरहवा विमानस्थल घोटाला, गिरिबन्धु टिस्टेट, बालुवाटार, टीकापुर, सर्जुलाधार, कीर्तिपुर टियू जग्गा हडप, सहकारी ठगी, एन्सेल कर छली जस्ता सयकडौँ देश बेचेका, जनता लुटेका राष्ट्रघात जनघातका अपराधहरू जनता जनार्दन (अपराजित शक्ति) मा जसरी उजागर भण्डाफोर भए ती सबै पशुपतिनाथको माथि उल्लिखित ताण्डव नृत्यबाट छुटेका अस्त्र तीरहरू हुन् भन्ने मेरो लख कटाइ छ ।
यसै कारण मैले बालेन सरकारलाई सबैभन्दा पहिले नन्दप्रसाद अधिकारीको लास आर्यघाट पुर्याएर सद्गत गरेर आफ्नो काम थाल्न सल्लाह दिने गरेको थिएँ । जबसम्म यो काम हुन्न तबसम्म अरू कुनै कामको गफ चुट्नु कुनै अर्थ हुन्न । गफ चुट्नमा माहिर खगेन्द्र सुनुवारले प्रचण्डलाई मुख हेर्नु नपरेको जवाफ त फर्काए । तर नन्दप्रसादको लास सद्गत गर्नैपर्ने अनिवार्य काममा चाहिँ के कति प्रगति गरेका छन् ? जान्न पंक्तिकार आतुर छ । अस्तु ।