काठमाडौं, भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पीडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो मात्रामा धनजनको क्षती भएको र आसपासका अन्य जिल्लामा समेत क्षती पुर्याएको घटनामा बाढी प्रभावित नागरिकको उद्दार, राहत र पुनःस्थापनामा सहयोग गर्न फरवार्ड माइक्रो फाइनान्सले नगद ३० लाख ६ सय ६५ रुपैयाँ रकम प्रदान गरेको संस्थाका कम्पनी सचिब विनोद कुमार चौधरीले जानकारी दिए ।
संस्थाले उक्त घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार र राहतमा प्रभावकारी रुपमा काम गर्न पनि अनुरोध गरेको छ । उक्त रकम कोषमा दाखिला गर्नुका साथै बाढीबाट प्रभावितहरुलाई दैनिक उपयोग हुने किसिमका सामग्रीहरु संस्थाले आफैंले वितरण गर्नेेछ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख र कर्मचारीहरुबाट संकलित १४ लाख ६ सय पैंसठ्ठी रुपैयाँ गरी ३० लाख ६ सय ६५ रुपैया नगद रकम जम्मा गरेको हो । संस्थाकी अध्यक्ष भगवती चौधरीले राष्ट्र नै विपत्तिको चपेटामा परेको बेला देश र जनताको लागि सरकारले अभियानमा जोडिएको बताइन् । ‘यो विशुद्ध राष्ट्र निर्माण र मानवीय सहयोग हो ।’
आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमार्फत गरे पनि पीडितहरुलाई अन्य जिन्सी सामग्रीहरु संस्था आफैंले वितरण गर्नेछ । फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको (घ) वर्गको वित्तीय संस्था हो । यसले नेपालको ४० वटा जिल्लामा एक सय ५९ वटा शाखामार्फत गरिब, विपन्न समुदायका महिलाहरुलाई वित्तीय सेवा दिँदै आएको छ । संस्थामा दुई लाख ८४ हजार ग्राहक सदस्यहरु आबद्ध रहेका छन् ।