काठमाडौं महानगरपालिकाको प्रमुख भएदेखि बालेन शाहका गतिविधि नियाल्दा एउटा प्रश्न बारम्बार उठ्छ—उहाँ आफ्नै निर्णय र इच्छाअनुसार खुलेर काम गर्न सक्ने अवस्थामा हुनुहुन्छ त ?
उहाँको बोल्ने शैली होस् वा फेसबुकमा व्यक्त गर्ने विचार, उहाँको शैली अरू राजनीतिक व्यक्तित्वभन्दा फरक देखिन्छ । आफ्नै सीमित सहयोगीको घेराभन्दा बाहिर जनतासँग प्रत्यक्ष संवाद र भेटघाट कमै देखिन्छ । जनताका अत्यावश्यक विषय लिएर भेट्न आउनेहरूका लागि समेत उहाँसम्मको पहुँच सहज छैन भन्ने गुनासो सुनिन्छ ।
आज उहाँ देशको सबैभन्दा शक्तिशाली पद—प्रधानमन्त्री—मा हुनुहुन्छ । तर संसद्मा नियमित उपस्थित नहुने, आफ्नै दलका महत्वपूर्ण बैठकमा समेत अनुपस्थित हुने र हालै आफ्नै दल ले विपद् व्यवस्थापनजस्तो राष्ट्रिय विषयमा बोलाइएको सर्वदलीय बैठकमा समेत प्रत्यक्ष सहभागी नहुने व्यवहारले स्वाभाविक रूपमा प्रश्न उठाउँछ—उहाँको प्राथमिकता के हो ?
देश–विदेशबाट विपद् व्यवस्थापनका लागि पर्याप्त सहयोग प्राप्त भएको अवस्थामा पनि उपलब्ध स्रोत–साधन प्रभावकारी रूपमा परिचालन हुन नसकेको जनगुनासो बढिरहेको छ । स्थानीय तहसँग अपेक्षित समन्वय हुन सकेको देखिँदैन । एकद्वार प्रणालीका कारण राहत तथा सेवा प्रभावकारी रूपमा प्रवाह हुन नसकेको गुनासो पनि सुनिन्छ ।
अझ गम्भीर कुरा, बालेन शाहले गरेका केही पुराना प्रतिबद्धता र अहिलेको व्यवहारबीच नै विरोधाभास देखिन थालेको छ ।
दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक खाना पकाउने ग्यासको अभावले सर्वसाधारण प्रभावित भइरहेका बेला प्रधानमन्त्रीको तहबाट स्पष्ट र प्रभावकारी पहल तथा सार्वजनिक धारणा किन सुनिँदैन ?
‘लाइन होइन, अनलाइनबाट सेवा’ दिने भनिएको प्रतिबद्धता कहाँ पुग्यो ? ग्यास सिलिन्डर बोकेर जनता भौतारिएको हेर्न नसकिने अवस्था छ । जनताले खोजेको अनलाइन सेवा र सुशासनको अनुभूति कहाँ छ ?
मन्त्रिपरिषद् बैठक बस्छ । उद्योगमन्त्री हटाइन्छ, नयाँ मन्त्री नियुक्त हुन्छन् । तर मन्त्री परिवर्तन मात्र समस्याको समाधान हो कि समस्याको मूल कारण पहिचान गरी समाधान खोज्ने प्रयास पनि भइरहेको छ ? यो प्रश्न जनताले सोध्न पाउने अधिकार हो ।
आज त उहाँकै दलका सांसदहरूले समेत सरकारको कार्यशैली माथि प्रश्न उठाउन थालेका छन् । संसद्मा सांसद अमरेश सिंहले सरकार, प्रधानमन्त्रीको अनौपचारिक सलाहकार र सचिवालयको कार्यशैली तथा उद्योगमन्त्री बर्खास्ती को विषयमा सार्वजनिक रूपमा प्रश्न उठाउनुभएको छ । यसलाई सामान्य असन्तुष्टिका रूपमा मात्र हेर्ने कि सरकार र दलभित्रै बढिरहेको असन्तोषको संकेतका रूपमा लिने ?
गृहमन्त्रीका सार्वजनिक कार्य तथा अभिव्यक्तिहरू पनि बेलाबेला विवादमा पर्ने गरेका छन् । प्रश्न उठ्छ—सरकारको समग्र अभिव्यक्ति र कार्यशैलीमा समन्वय गर्ने जिम्मेवारी कसको हो ?
सरकार र आफ्नै दलबीच समेत अपेक्षित समन्वय हुन नसकेको देखिन्छ । कार्यशैलीमा दूरी बढ्दै गएको आभास हुन्छ । यस्तो अवस्थामा रवि लामिछानेजस्तो दलको सभापति समेत असहाय वा प्रभावहीन देखिन थालेको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
सबैभन्दा ठूलो प्रश्न—प्रधानमन्त्री स्वयम् कहा“ हुनुहुन्छ ?
सुनिन्छ, उहाँ बिहान ९ बजेदेखि बेलुकासम्म आफ्नै कार्यकक्षमा व्यस्त रहनुहुन्छ । तर त्यति लामो समय जनतासँगको प्रत्यक्ष संवाद, संसद्, राजनीतिक सहकार्य र राष्ट्रिय समस्याको समाधानमा कति प्रयोग भइरहेको छ भन्ने कुरा सार्वजनिक रूपमा स्पष्ट देखिँदैन ।
मलाई उहाँ काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा एउटा विशेष कामका सिलसिलामा भेट्ने अवसर मिलेको थियो । बजारमा सुनिने उहाँसम्बन्धी धारणा र मैले प्रत्यक्ष अनुभव गरेको उहाँको व्यवहारबीच निकै फरक पाएँ । हामीले राखेका प्रस्ताव उहाँले सहज रूपमा सुन्नुभयो, सहर्ष स्वीकार गर्नुभयो र निकै आत्मीय कुराकानी भयो । व्यक्तिगत रूपमा पि एल दाई र मेरो छोराले के गर्दैछ भन्नेसम्म कुरा समेत भयो । त्यो भेट बाट मैले उहाँलाई सकारात्मक र खुला व्यक्तिका रूपमा पाएँ ।
तर त्यसपछि उहाँलाई भेट्ने अवसर कहिल्यै दिइएन र जुन परियोजना लागू गर्न सकिएन । अर्को भेट उहाँका स्वर्गीय बुवाको निधनमा समवेदना प्रकट गर्ने क्रममा मात्र भयो । त्यसैले आज मेरो प्रश्न बालेन शाहको क्षमतामाथि नहोला, उहाँको स्वतन्त्र निर्णय क्षमता र उहाँ वरिपरिको घेरामाथि हो ।
के बालेन आफैँले चाहेर पनि खुलेर काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ ? के उहाँ वरिपरिको सीमित घेराभित्र यति धेरै बाँधिनु भएको छ कि जनतासँग प्रत्यक्ष संवाद, राजनीतिक सहकार्य र राष्ट्रिय जिम्मेवारीबाट दूरी बढ्दै गएको छ ?
कतै बालेन आफ्नै घेराभित्र ‘नजरबन्द’ त हुनुहुन्न ? यो आरोप होइन—उहाँको पछिल्लो राजनीतिक व्यवहारले जन्माएको गम्भीर प्रश्न हो ।