काठमाडौं, फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम (ऋण लगानी) एक खर्ब सात अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार २०८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम एक खर्ब सात अर्ब ३६ करोड ६५ लाख पुगेको हो ।
यस अवधिमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम भने एक खर्ब ४२ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । प्रतिवेदनअनुसार फाइनान्स कम्पनीहरूमा कुल निक्षेपको तुलनामा कर्जा लगानीको अनुपात (सीडी रेसियो) ७५ दशमलव २१ प्रतिशत छ भने खुद तरलता ३४ दशमलव ७२ प्रतिशत र एसएलआर ३० दशमलव ८४ प्रतिशत रहेको छ । फाइनान्स कम्पनीहरूको औसत निष्क्रिय कर्जा भने सात दशमलव ६६ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब १५ करोड पाँच लाख रुपैयाँ रहेको छ भने कुल पुँजी कोष१६ अर्ब ८३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीहरूमध्येमा जानकी फाइनान्सको अवस्था सबैभन्दा कमजोर देखिएको छ । प्रतिवेदनअनुसार यो फाइनान्सको कोर पुँजी २५ करोड २७ लाख ऋणात्मक छ भने कुल पुँजी कोष पनि ऋणात्मक रहेको छ । यसैगरी फाइनान्सको कुल निक्षेप दुई अर्ब ३१ करोड ५३ लाख र कर्जा दुई अर्ब १६ करोड २३ लाख रहेको छ । सीडी रेसियो ९८ दशमलव ५७ प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा ६१ दशमलव ५५ प्रतिशत छ । नेपाल फाइनान्समा भने १३ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यो फाइनान्सको कुल निक्षेप चार अर्ब ५३ करोड ५५ लाख रुपैयाँ र कुल कर्जा रकम दुई अर्ब ७० करोड ८२ लाख रुपैयाँ रहेको छ ।
प्रतिवेदनअनुुसार जानकीपछि पोखरा फाइनान्समा निष्क्रिय कर्जाको अनुपात धेरै देखिएको छ । उक्त फाइनान्समा २० दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिँदा बेस्टमा १३ दशमलव ६९ प्रतिशत, गोर्खाजमा १३ दशमलव ३२ प्रतिशत, सेन्ट्रलमा १० दशमलव ४० प्रतिशत र रिलायन्समा छ दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यसैगरी गुडविलमा छ दशमलव २७ प्रतिशत, रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा पाँच दशमलव २० प्रतिशत, मल्टिपर्पसमा तीन दशमलव ३० प्रतिशत, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्समा तीन दशमलव ७४ प्रतिशत, मञ्जुश्रीमा तीन दशमलव ४२ प्रतिशत र प्रोग्रेसिभमा तीन दशमलव शुन्य एक प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । प्रतिवेदनअनुसार सबैभन्दा कम निष्क्रिय कर्जा भने आईसीएफसी फाइनान्समा देखिएको छ । यो फाइनान्समा एक दशमलव ५५ प्रतिशत कर्जा मात्र निष्क्रिय देखिएको छ ।
प्रतिवेदनअनुसार निक्षेप र कर्जाको आकारमा भने मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्स अगाडि देखिएका छन् । मञ्जुश्रीको कुल निक्षेप रकम २४ अर्ब ९७ करोड ३९ लाख र कुल कर्जा २१ अर्ब १७ करोड २४ लाख रुपैयाँ रहेको छ । आईसीएफसी फाइनान्सको भने कुल निक्षेप रकम २२ अर्ब ७३ करोड ५३ लाख र कुल कर्जा रकम १९ अर्ब ३३ करोड १४ लाख पुगेको छ । यसैगरी रिलायन्स फाइनान्सको निक्षेप ११ अर्ब १० करोड ८६ लाख र कर्जा नौं अर्ब ४४ करोड ४७ लाख रुपैयाँ रहेको छ । गुडविल फाइनान्सको निक्षेप भने १३ अर्ब २९ करोड ६० लाख र कर्जा नौ अर्ब २१ करोड ३५ लाख रुपैयाँ रहेको छ । यीबाहेकका अन्य फाइनान्स कम्पनीहरूको निक्षेप र कर्जा रकम भने पाँचदेखि आठ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।
अझै दुईवटा फाइनान्स कम्पनी समस्याग्रस्त सूचीमा
प्रतिवेदनअनुसार अझै दुईवटा फाइनान्स कम्पनीहरू समस्याग्रस्त सुचीमा रहेका छन् । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेड र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीमा रहेका हुन ।
प्रतिवेदनअनुुसार समस्याग्रस्त नेपाल सेयर मार्केट्सको चुक्ता पुँजी २३ करोड ३३ लाख रुपैयाँ रहेको । यो फाइनान्समा कुल निक्षेप रकम २१ करोड ९१ लाख मात्रै हुँदा कुल कर्जा रकम दुइ अर्ब १५ करोड २३ लाख पुगेको छ । यो फाइनान्समा सत् प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
यसैगरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको चुक्ता पुँजी ९३ करोड ५१ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यो फाइनान्सको कुल निक्षेप रकम दुई करोड ७२ लाख रहेकोमा कुल कर्जा रकम ६६ करोड ३५ लाख रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार यो फाइनान्समा पनि शत प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।