काठमाडौं, राइड–हेलिङ सेवा प्रदायक याङ्गो राइडले नयाँ ‘सेफ्टी रिपोर्ट’ सार्वजानिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ ‘सेफ्टी रिपोर्ट’ अनुसार सन् २०२४ देखि २०२५ सम्म कम्पनीका विश्वभरका बजारमा रिपोर्ट भएका गम्भीर ट्राफिक उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन् ।
प्रतिमिलियन यात्रामा रिपोर्ट भएका गम्भीर ट्राफिक उल्लङ्घन ९ दशमलव ८३ बाट घटेर ६ दशमलव ७६ मा झरेको कम्पनीले जनाएको छ । कम्पनीले मध्यपूर्व तथा उत्तर अफ्रिका, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाका २५ भन्दा बढी देशमा सुरक्षा प्रविधि, आपत्कालीन सहयोग तथा समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । रिपोर्टअनुसार लापरबाहीपूर्ण ड्राइभिङका घटना सबै रिपोर्टिङ क्षेत्रमा घटेका छन् । अफ्रिकामा यस्ता घटना ३८ प्रतिशत, ल्याटिन अमेरिकामा २४ प्रतिशत तथा मध्यपूर्व र दक्षिण एसियामा ४७ प्रतिशतले घटेको कम्पनीको दाबी छ ।
कम्पनीले व्यक्तिगत फोन नम्बर गोप्य राख्ने प्रविधि लागू गरेका बजारमा यात्रापछि हुने अनावश्यक सम्पर्कसमेत उल्लेख्य रूपमा घटेको जनाएको छ । सन् २०२६ को प्रारम्भिक तथ्यांकअनुसार पेरुमा यात्रापछिको सम्पर्क ८१ प्रतिशत, कोलम्बियामा ७८ प्रतिशत र पाकिस्तानमा ३१ प्रतिशतले घटेको छ । यस्तै सन् २०२४–२०२५ को अवधिमा कम्पनीको ठगी नियन्त्रण प्रणालीले सम्भावित ठगीका संकेत पहिचान गरी विश्वभर १७ हजार २७५ यात्रुका खाता ब्लक गरेको थियो । यसबाट पार्टनर चालकलाई सम्भावित ठगी तथा जोखिमपूर्ण अन्तरक्रियाबाट जोगाउन मद्दत पुगेको कम्पनीको भनाइ छ । कम्पनीले सुरक्षा प्रणालीलाई पनि मजबुद बनाएको जनाएको छ ।
कम्पनीका अनुसार सुरक्षा प्रणाली यात्रु चढेपछि मात्र नभई यात्राअघि, यात्राका क्रममा र यात्रा समाप्त भएपछि पनि सक्रिय हुन्छ । याङ्गो राइडका प्रमुख कार्यकारी अधिकृत रोमन कार्लासले सुरक्षा निरन्तर जिम्मेवारी भएको बताए । उनका अनुसार २०२४–२०२५ को तथ्यांकले प्रविधि, मानव विशेषज्ञता र स्थानीय ज्ञानलाई निरन्तर प्रयोग गर्दा सुरक्षामा मापनयोग्य सुधार ल्याउन सकिने देखाएको छ ।