काठमाडौं, नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूको मिलेमतोमा लाखौँ बीमित ठगिएको आरोप लगाएको छ । संघले विशेषगरी अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई भ्रममा पार्ने तथा बीमा अवधि पूरा भएपछि विभिन्न बहानामा रकम कटौती गरी भुक्तानी गर्ने गरेको आरोप लगाएको हो ।
संघले बिहीबार राजधानीान पत्रकार सम्मेलन आयोजना गरी बीमा क्षेत्रका विकृति, बीमितमाथि भइरहेको भनिएको आर्थिक अन्याय तथा अभिकर्तामाथि कम्पनीहरूले गर्ने व्यवहारबारे सार्वजनिक रूपमा आवाज उठाएको हो । संघका अध्यक्ष राजेन्द्र अमात्यले बीमा कम्पनीहरूले लाखौं बीमितलाई आकर्षक प्रतिफलको आश्वासन दिएर बीमा गराउने तर अवधि समाप्त भएपछि अपेक्षाभन्दा निकै कम रकम भुक्तानी गर्ने गरेको दाबी गरे । उनका अनुसार बीमितलाई बीमांक दोब्बर हुनेलगायतका आश्वासन दिइए पनि वास्तविक भुक्तानीमा ठूलो अन्तर देखिने गरेको छ ।
अमात्यले बीमितलाई प्रतिवर्ष प्रतिहजार ६५ रुपैयाँ बोनस दिने भनिए पनि कतिपय अवस्थामा ३७ रुपैयाँ मात्रै दिने गरिएको आरोप लगाए । विगतमा अभिकर्ताहरूले निरन्तर आवाज उठाएपछि आठ वर्षसम्म प्रतिहजार ६५ रुपैयाँ बोनस कायम गर्न सफल भएको, तर पछिल्ला पाँच वर्षमा अभिकर्ताहरूबीच विभाजन ल्याएर बोनस घटाउँदै ५० रुपैयाँमा झारिएको उनको भनाइ छ । उनले कम्पनीहरूको वित्तीय प्रगतिका सूचकहरू बढिरहेको अवस्थामा बीमितले पाउने बोनस भने बढ्नुको सट्टा घट्दै जानुले आम नागरिकमा बीमाप्रतिको विश्वास कमजोर बनाउँदै लगेको बताए । ‘हामीले आजसम्म यो विषय बाहिर ल्याएका थिएनौँ, तर अब ल्याउन बाध्य भयौँ । किनकि अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धेरै बदमासी गर्न थाल्यो’, अध्यक्ष अमात्यले भने ।
उनका अनुसार कम्पनीहरूले लाखौँ बीमितलाई आकर्षक तथा आश्वासनपूर्ण जानकारी दिएर बीमा गर्न लगाउने गरेका छन् । तर बीमा अवधि समाप्त भएपछि विभिन्न शीर्षक र बहानामा रकम कटौती गरी भुक्तानी गर्ने गरेको उनको आरोप छ । कम्पनीको नीति तथा निर्देशनअनुसार अभिकर्ताले जनतालाई बीमा गराउने भएकाले अन्ततः कम्पनीको कमजोरीको भार अभिकर्तामाथि पर्ने गरेको उनले बताए । ‘जनताको रकमलाई दुरुपयोग गरी नाफा कमाउने कम्पनी अनि समस्या जति अभिकर्ताको थाप्लोमा हाल्ने, कहिलेसम्म सहने ?’ अमात्यले प्रश्न गरे ।
संघले आफूहरूले विभिन्न समयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित बीमा कम्पनीलाई खबरदारी गर्दै आए पनि समस्या समाधान गर्नुको साटो ज्यादती झन् बढाइएको आरोप लगाएको छ ।
दुर्व्यवहार र पक्राउको आरोप
संघका महासचिव केशरबहादुर गरञ्जाले नेपाल लाइफ इन्स्योरेन्सले भदौ ३ देखि ६ गतेसम्म काठमाडौंस्थित होटल याक एन्ड यतिमा आयोजना गरेको ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रममा अभिकर्ताहरूले कम्पनीको कथित बदनियतको विरोध गरेपछि उनीहरूमाथि थप ज्यादती गरिएको आरोप लगाए ।
वर्षभरि मिहिनेत गरी प्रथम बीमाशुल्क संकलनमा योगदान पु¥याएका अभिकर्तालाई सम्मानका लागि बोलाइएको कार्यक्रममा उल्टै उनीहरूमाथि दुव्र्यवहार गरिएको उनको भनाइ छ । अभिकर्ताहरूले आफ्नो सांगठनिक अधिकारको विषय उठाउँदा पक्राउसमेत गरिएको उनले आरोप लगाए । ‘छ सय जना उपस्थित भएको कार्यक्रममा तीन सय जना बाउन्सर किन चाहियो ? तिनको खर्चको स्रोत के हो ? आधिकारिक संगठनमाथि पूर्वाग्रही बन्नुपर्ने कारण के हो ?’ गरञ्जाले प्रश्न गरे ।
उनले कार्यक्रममा बाउन्सर परिचालन गरी अभिकर्तामाथि कुटपिट, लछारपछार तथा गलहत्याउने काम भएको आरोप लगाए । साथै राज्यशक्तिको दुरुपयोग गरी संघका नेपाल लाइफ अध्यक्ष कृष्णप्रसाद आचार्य र इमाडोल शाखा समिति अध्यक्ष शुभचन्द्र शाहलाई प्रहरीले गिरफ्तार गरेको दाबी गर्दै त्यसलाई घोर निन्दनीय घटना भने ।
गरञ्जाका अनुसार नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियनका नेतृत्वलाई अपमान गर्ने काम भएको छ । उनले अभिकर्ताको संगठनात्मक अधिकारमाथि हस्तक्षेप गर्ने प्रयास भएको आरोपसमेत लगाए ।
‘एउटालाई काखी, अर्कोलाई उपेक्षा’
संघले बीमा क्षेत्रमा कार्यरत अभिकर्ताका संगठनहरूप्रति नियामक तथा कम्पनीहरूको व्यवहारसमेत समान नभएको आरोप लगाएको छ। एउटा संघलाई काखी च्याप्ने र अर्को संघलाई उपेक्षा गर्ने कार्यले ऐन–कानुनकै धज्जी उडाएको महासचिव गरञ्जाको भनाइ छ । अभिकर्ताहरूबीच विभाजन ल्याएर बीमितले पाउने बोनस घटाउने तथा बीमा कम्पनीभित्रका विकृतिविरुद्ध उठ्ने आवाजलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको उनको दाबी छ ।
संघले बीमा क्षेत्रको नियमन, बीमितको हित संरक्षण तथा अभिकर्ताको अधिकारका विषयमा नेपाल बीमा प्राधिकरणले स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने माग गरेको छ । बीमा कम्पनीहरूको वित्तीय अवस्था, नाफा तथा अन्य सूचकहरूमा सुधार भइरहँदा बीमितले पाउने प्रतिफल र बोनस घट्नुको कारणबारे नियामक निकायले पारदर्शी रूपमा जवाफ दिनुपर्ने संघको माग छ ।
संघले बीमा कम्पनीहरूको कार्यशैली, बीमितलाई दिइने प्रतिफल तथा अभिकर्तामाथि भइरहेको व्यवहारबारे निष्पक्ष छानबिन गर्नसमेत माग गरेको छ । बीमितको विश्वास गुम्दै गएमा त्यसको प्रत्यक्ष असर समग्र बीमा क्षेत्रमै पर्ने भन्दै संघले नियामक निकायलाई समयमै हस्तक्षेप गरी समस्या समाधान गर्न आग्रह गरेको छ ।