काठमाडौं, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष एवं सहसचिव मदन दहाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको सयुक्त इजलासले दहाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालविरुद्ध तीन अर्ब ५० करोड ३० लाख ६३ हजार एक सय ९२ रुपैयाँ विगो कायम गर्दै त्यसको आधा बराबर सजाय मागदाबी गरी मुद्दा दायर गरेको थियो । दाहालमाथि एउटै कम्पनीमा पटक–पटक समान प्रकृतिको लगानी गर्न स्वीकृति दिएको, एउटै सेयरमा लगानी केन्द्रित हुँदा उच्च जोखिम देखिए पनि प्रभावकारी नियमन नगरेको तथा सीमित स्वार्थ समूहको हितअनुकूल काम गरेको लगायतका आरोप छन् ।
दाहाल २०८१ मंसिर २८ गतेदेखि २०८१ फागुन १२ गतेसम्म नेपाल बीमा प्राधिकरणको अध्यक्ष रहेका थिए । विशेष अदालतको पछिल्लो आदेशसँगै उनीविरुद्धको भ्रष्टाचार मुद्दा अब थप न्यायिक प्रक्रियामा अघि बढ्ने भएको छ ।