काठमाडौं, कुल बीमाशुल्क आर्जन झण्डै १३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १४ जीवन र १४ निर्जीवनसहित २८ बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/०८३ मा कुल दुई खर्ब ५६ अर्ब ५१ करोड ९५ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार यो रकम अघिल्लो आवको तुलनामा १२ दशमलव ९१ प्र्रतिशतले बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरूले कुल दुई खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए । जीवन बीमा कम्पनीहरूले मात्र आव २०८२/०८३ मा दुई खर्ब चार करोड ५९ लाख ७१ हजार एक सय रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा १२ दशमलव २५ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख ४७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले पनि आव २०८२/०८३ मा कुल ५१ अर्ब ९२ करोड २४ लाख २८ हजार रुपैयाँ कुल निर्जीवन बीमा शुल्क संकलन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा १५ दशमलव ६१ प्रतिशतले बढी हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले कुल ४४ अर्ब ९१ करोड २६ लाख सात हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
आव २०८२/०८३ कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्य रूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरूमा आव २०८२/०८३ एक करोड ६७ लाख ९२ हजार दुई सय ३० वटा सक्रिय जीवन बीमालेको संख्या रहेको छ । यो संख्या अघिल्लो आवको तुलनामा सात दशमलव ४३ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूमा कुल एक करोड ५६ लाख ३० हजार नौ सय ९९ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो ।
प्राधिकरणका अनुसार आव २०८२/०८३ जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या भने ७९ लाख ५३ हजार ३२ रहेको छ । यो संख्या अघिल्लो आवको तुलनामा १२ दशमलव ८६ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूमा जारी बीमालेखको संख्या ७० लाख ५६ हजार पाँच सय ८० रहेको थियो । कुल निर्जीवन बीमालेखको संख्या भने भने पछिल्लो अवधिमा ३४ लाख ६७ हजार एक सय ६७ वटा पुगेको छ । यो संख्या अघिल्लो आवको तुलनामा छ दशमलव ८७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कुल निर्जीवन बीमालेखको संख्या ३२ लाख ४४ हजार तीन सय ८३ रहेको थियो ।
प्राधिकरणका अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या भने ५० दशमलव शून्य चार प्रतिशत पुगेको छ । यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित हो, प्राधिकरणले भनेको छ । यो संख्या अघिल्लो आवमा तीन दशमलव ७१ प्रतिशतले बढी हो । अघिल्लो आवमा बीमाको दायरामा आएको कुल जनसंख्या ४८ दशमलव ३३ प्रतिशत रहेको थियो ।