काठमाडौं, बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई लक्षित गर्दै रामादा बाइ विन्धाम इटहरीले विशेष आवास तथा सेवा प्याकेज सार्वजनिक गरेको छ । होटलले श्रावण महिनाभर लागू हुने गरी आवास, भोजनमा छुट तथा अन्य सुविधा समेटिएको प्याकेज घोषणा गरेको हो ।
होटलका अनुसार ‘वान नाइट डिलक्स रूम स्टे’ प्याकेजअन्तर्गत एक रातको बसाइ, बुफे ब्रेकफास्ट, अतिरिक्त खानामा १५ प्रतिशत छुट, स्विमिङ पुल तथा फिटनेस सेन्टरको सुविधा उपलब्ध हुनेछ । एक जनाका लागि प्याकेज शुल्क ६ हजार ५ सय रुपैयाँ र दुईजनाका लागि ७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
होटलका महाप्रबन्धक अभिमन्यु कायस्थले बोलबम यात्रा पूर्वी नेपालको महत्वपूर्ण धार्मिक परम्परा भएकाले यात्रामा सहभागी भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विशेष प्याकेज ल्याइएको बताए । उनका अनुसार यसले यात्रुलाई आरामदायी बसाइका साथै यात्राप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्नेछ ।
बोलबम यात्रा हरेक वर्ष बराहक्षेत्रको चतराबाट सुरु हुने धार्मिक यात्राका रूपमा परिचित छ । भक्तजनहरूले सप्तकोशी नदीबाट पवित्र जल संकलन गरी पैदल यात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिरमा पुगेर भगवान् शिवलाई जलाभिषेक अर्पण गर्ने परम्परा रहिआएको छ । रामादा बाइ विन्धाम इटहरीले आफूलाई पूर्वी नेपालको धार्मिक तथा पर्यटन गतिविधिको केन्द्रका रूपमा स्थापित गर्दै आएको जनाएको छ ।
होटलले पिण्डेश्वर महादेव मन्दिर, बराहक्षेत्र धाम र कोशी टप्पु वन्यजन्तु आरक्ष भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । ८१ कोठा तथा सुइट रहेको होटलमा विभिन्न रेस्टुरेन्ट, ब्यान्क्वेट हल, खुला लन, स्विमिङ पुल र फिटनेस सेन्टरलगायत सुविधा उपलब्ध छन् ।