काठमाडौं, रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भीषण बाढी आएपश्चात भएको जनधनको क्षतिको अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा तीन दिन थप गरिएको छ ।
नेपाल टेलिकमले सो क्षेत्र र आसपासका सेवाग्राहीलाई दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब आगामी भदौ १४ गतेसम्म सो सुविधा उपलब्ध रहने कम्पनीले जनाएको छ । कम्पनीले भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायत नदी आसपासका क्षेत्रहरूमा बसोबास गर्ने सबै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ । बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रसुवाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्नको लागि न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरबाट जेनेरेटर तथा ब्याट्रीलगायतका उपकरणहरू पठाइ न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठूलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ, क्याङ्जिनलगायतका क्षेत्रहरूमा सेवा सुचारू गरिएको छ । धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको कम्पनीले जनाएको छ ।
नुवाकोट जिल्लाअन्तर्गतको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङ जिल्लाअन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारीहरू परिचालन गरी सेवा सुचारु गरेको कम्पनीको भनाइ छ । साथै, हाल सञ्चालनमा रहेका विभिन्न जिल्लाका अन्य बीटीएसहरूमा कभरेज र क्षमता विकास तथा अप्टिमाइज गरी प्रभावकारी रुपमा सेवा सञ्चालन गर्ने कार्य भइरहेको पनि टेलिकमले जनाएको छ । यस अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट गरी समग्रमा प्रभावित देखिएका १५२ साइट मध्ये ६० साइट सञ्चालनमा आउन बाँकी छन् । नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।