काठमाडौं, निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल खरिदका लागि संयुक्त अरब इमिरेट्सका मन्त्रीले नै चासो देखाएको पाइएको छ । स्रोतका अनुसार यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीले उक्त चासो दिएका हुन् ।
डा. थानी गत असार २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए । उक्त भ्रमणबारे आएका सूचनाअनुसार यूएईले भौतिक पूर्वाधार, सूचना प्रविधि, स्वच्छ ऊर्जा, वातावरणमैत्री ग्रीन डेटा सेन्टर र कृषि क्षेत्रमा लगानी गर्न इच्छुक भएको औपचारिक बैठकहरूमा नेपाल पक्षलाई जानकारी दिएको थियो ।उनको काठमाडौं बसाईमा औपचारिक कुराकानीको अलावा अनौपचारिक रूपमा अन्य विषयहरूमा पनि लामो छलफल भएको थियो। उक्त स्रोतका अनुसार एनसेल कम्पनी सरकारले बिक्री गर्ने भएमा खरिद गर्न इच्छुक भएको भ्रमण टोलीले बताएको थियो ।
उक्त अनौपचारिक छलफलमा सहभागी केही व्यापारीहरूले यो सुचना गोप्य राख्न खोजेपनि दुरसंचार क्षेत्रको कक्टेल सर्किटमा यो चर्चाको विषय भइसकेको छ ।करिब १० वर्ष पहिले टेलियाले आफ्नो सम्पूर्ण शेयर बिक्री गर्ने हल्ला चलेपछि नेपालको विभिन्न व्यापारी र बिजनेस हाउस बीच तिब्र प्रतिस्पर्धा भएको थियो। त्यस समय टेलियाको सम्पूर्ण शेयर मलेशियाको आजियटाले खरिद गरेको थियो। अहिले फेरी आफ्नो सम्पूर्ण शेयर बिक्री गर्ने निर्णयमा आजियटा पुगि सकेपछि उक्त शेयर खरिद सम्बन्धमा नेपालको बिजनेस हाउसहरू बीच तीब्र प्रतिस्पर्धा पुनः शुरु भएको हो। यो एक ठुलो रकमको खरिद बिक्री भएकोले राजनीतिक शक्तिको भूमिका हुने नै भयो। यसरी व्यापारिक प्रतिस्पर्धामा राजनीति घुसेको कारणले एनसेलको इस्यूहरू विगत केही वर्ष देखि चर्चामा आइरहेको श्रोतको दाबी छ।
एनसेल सम्बन्धी आर्को एक पेचिलो कुरा के छ भने लाइसेन्स अवधि सकेपछि एनसेलको सम्पूर्ण सम्पत्ति नेपाल सरकारले कब्जा गर्नेछ भनेर ऐनमा कतै उल्लेख नभए पनि केही बिजÞनेस हाउसको दबाबमा नियमावलीमा यो प्रावधान राखिएको आरोप छ । स्पाइस नेपालको सम्पूर्ण शेयर खरिद गर्ने व्यापारीहरूको एक समुहले करिब १८ वर्ष पहिले स्वीडेनको टेलिया कम्पनीलाई ‘मेरो मोबाइल’ कम्पनी बिक्री गर्दा ठुलो नाफा कमाएको थियो।
यसरी मोबाइल लाइसेन्स आफ्नो ‘झोला’ मा राखेर ठुलो ‘सलामी’ रकम खान पल्किसकेका ती शक्तिशाली व्यापारीहरूले राजनीतिक शक्तिको दुरुपयोग गरी ऐनमा व्यवस्था नभएपनि नियममावली संशोधन गराएर एनसेलको सम्पत्ति स्वतः नेपाल सरकारकोमा आउने प्रावधान राख्न लगाएको आरोप छ। केही गरी नेपाल सरकारले करिब ३ वर्ष पछि एनसेलको सम्पूर्ण स्वामित्व लिइसकेपछि सरकारले एनसेललाई पुनः निजीकरण गर्छ होला भन्ने मान्यतामा व्यापारीहरू बीच अहिले देखि आफ्नो जग मजबुत पार्न लागिरहेको हो। यो ‘व्यापारिक युध्द’को तयारीको रूपमा आजकल एनसेलको विरुध्दमा नियोजित रूपमा चारैतिरबाट विष वमन भइरहेको श्रोतको दाबी छ ।