काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यताबाट निलम्बन गर्दै प्रदेशसभा सदस्य पदबाट समेत पदमुक्त गर्न सिफारिस गरेको छ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको निर्णय र पटक–पटक दिइएको निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन दिएको भन्दै थापामाथि कारबाही गर्ने निर्णय गरेको हो।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार थापाको गतिविधिलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिइएको छ। केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा राप्रपा विधानको धारा ३० (ड) र ३२ (ङ) बमोजिम उनलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न सिफारिस गर्ने, पार्टी सदस्यता निलम्बन गर्ने तथा निर्णयबारे बागमती प्रदेशसभा, निर्वाचन आयोग र सम्बन्धित अन्य निकायलाई जानकारी गराउने निर्णय भएको हो।
यसैबीच राप्रपाले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुन आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ। पार्टीको अनुमति र निर्णयबिना सरकारलाई समर्थन गर्ने वा सरकारमा सहभागी हुने सांसदलाई समेत सोहीअनुसार कारबाही गरिने चेतावनी राप्रपाले दिएको छ।
बैठकको निर्णयप्रति पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने फरक मत राखेका छन्।यता, नेकपा (एमाले) का किरण थापाको नेतृत्वमा बन्न लागेको बागमती प्रदेश सरकारमा राप्रपा सहभागी हुने तयारीमा छ। राप्रपाका अनुसार प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा पार्टी सरकारमा सहभागी हुन लागेको हो। राप्रपाबाट तीन जनालाई बिहीबार नै प्रदेश सरकारमा नियुक्त गरी शपथ गराउने तयारी भइरहेको बताइएको छ। राप्रपा सरकारमा सहभागी हुने तयारीकै बीच संसदीय दलका नेता उद्धव थापामाथि भएको कारबाहीले बागमती प्रदेशको सत्ता समीकरणसँगै पार्टीभित्रको विवादलाई समेत थप चर्चामा ल्याएको छ।