काठमाडौं, सानिमा बैंकको खुद नाफा बढेको छ । बैंकले आर्थिक वर्ष २०८२/०८३ मा तीन अर्ब ५५ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब ५७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको सञ्चालन नाफा ४४ दशमलव ४४ प्रतिशतले बढेर पाँच अर्ब १६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यसैगरी खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर छ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी ११ दशमलव १० प्रतिशतले बढेर एक अर्ब ३२ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि १३ दशमलव १३ प्रतिशतले बढेर नौ अर्ब ७३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा दुई अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । सोही आधारमा बैंकको लाभांश क्षमता प्रतिसेयर २० रुपैयाँ ८५ पैसा पुगेको छ । चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा नौ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको निक्षेप संकलन आव २०८२/०८३ मा ११ प्रतिशतले बढेर दुई खर्ब ४९ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप दुई खर्ब २३ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, कर्जा प्रवाह १० प्रतिशतले बढेर आव २०८२/०८३ मा एक खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष एक खर्ब ७६ अर्ब ४४ करोड पाँच लाख पाँच हजार रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार देखिएको छ । निष्क्रिय कर्जाको अनुपात तीन दशमलव शून्य एक प्रतिशतबाट घटेर दुई दशमलव ८७ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा एक दशमलव २० प्रतिशतबाट घटेर एक दशमलव शून्य दुई प्रतिशतमा सीमित भएको छ ।