नेपालको राजधानी काठमाडौंजस्तो सहरमा पनि सार्वजनिक यातायातको सहजता नहुनु, वैज्ञानिक ढंगको व्यवस्थापन नहुनु, उचित पार्किङ र बस स्टप नहुनु, अत्यधिक हर्नको प्रयोग हुनु तथा डिजेल गाडीबाट अत्यधिक धुवाँ निस्कनुजस्ता समस्या छँदै छन् । त्यसमाथि सार्वजनिक बसहरूको अवस्था र त्यसमा देखिने अनुशासनहीनता हेर्दा सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको असुरक्षित, अव्यवस्थित, फोहोर र कहिलेकाहीँ चोरीको डरसमेत बोकेर यात्रा गर्नुजस्तो भएको छ ।
काठमाडौंभित्रका प्रमुख रुटहरू जस्तै बूढानीलकण्ठबाट लगनखेल, एयरपोर्टबाट थानकोट, बनेपाबाट काठमाडौं, गोदावरीबाट लगनखेल, साँखुबाट रत्नपार्क, लामाटारबाट लगनखेल र रत्नपार्क, भक्तपुरबाट कलंकी र रत्नपार्क, चाँगुबाट काठमाडौं, सुन्दरीजलबाट रत्नपार्क, टोखाबाट रत्नपार्कजस्ता कैयौँ रुट साथै छोटा रुटहरू पनि छन् । यी रुटहरूले हजारौँ यात्रुलाई दैनिक एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज बनाएका छन् । सार्वजनिक यातायात वास्तवमै आम नागरिकको जीवनको अभिन्न हिस्सा बनेको छ ।
तर आजकल सडकमा सार्वजनिक सवारीसाधनले गर्ने तँछाडमछाड, धुलो–धुवाँ उडाउँदै एकले अर्कालाई उछिन्न खोज्ने प्रवृत्ति र यात्रु चढाउने–ओराल्ने विषयमा देखिने अस्वस्थ प्रतिस्पर्धा हेर्दा उदेक लाग्छ । यात्रुको सुरक्षाभन्दा आफ्नो पालो र आम्दानीलाई प्राथमिकता दिएको जस्तो देखिने यस्ता गतिविधिले सार्वजनिक यातायातप्रति नै गम्भीर प्रश्न उठाउनुको साथै जोखिम बढाएको छ । सडकमा गुड्ने अन्य सवारीसाधनको पनि अवस्था उस्तै होला, तैपनि सार्वजनिक साधन सबैले प्रयोग गर्ने हुँदा यस्तो विषयवस्तु उठाउनुपर्ने देखिन्छ ।
१. के सार्वजनिक यातायातलाई सुधारको आवश्यकता छैन ?
सार्वजनिक यातायात आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सेवा हो । हजारौँ मानिस कार्यालय, विद्यालय, कलेज, अस्पताल, व्यापार–व्यवसाय तथा अन्य कामका लागि दैनिक सार्वजनिक यातायातमा निर्भर छन् । त्यसैले यसलाई केवल व्यवसायका रूपमा होइन, नागरिकलाई दिइने अत्यावश्यक सेवाका रूपमा पनि हेर्नुपर्छ ।
यदि सार्वजनिक यातायातमा सुरक्षा, सरसफाइ, समयपालन, अनुशासन र यात्रुको सम्मान कायम हुन सकेको छैन भने यसमा सुधार आवश्यक छैन भन्न सकिन्छ र ?
२. के हाम्रो महानगरपालिका र नगरपालिकामा चल्ने सार्वजनिक साधनको कुनै कुदाउने मापदण्ड छैन ?
सार्वजनिक सवारीसाधन कसरी चलाउने भन्ने स्पष्ट मापदण्ड हुनुपर्छ । गति कति हुने, यात्रु कहाँ चढाउने र ओराल्ने, कहाँ रोक्ने, कसरी ओभरटेक गर्ने, लेन कसरी प्रयोग गर्ने तथा यात्रुसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा स्पष्ट हुनुपर्छ ।
तर सडकमा देखिने व्यवहार हेर्दा कतिपय सार्वजनिक सवारीसाधन आफ्नै सुविधाअनुसार चलिरहेका छन् । नियम भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन हुन सकेन भने नियम कागजमै सीमित हुन्छ ।
३. के सार्वजनिक सवारीसाधनमा जति पनि यात्रु कोचेर हिँड्न पाइन्छ ?
सार्वजनिक सवारीसाधनको यात्रु बोक्ने निश्चित क्षमता हुन्छ । तर क्षमताभन्दा बढी यात्रु राखेर, ढोकामा झुन्डाएर वा असहज अवस्थामा उभ्याएर यात्रा गराउने प्रवृत्ति देखिन्छ ।
यात्रु बढी भए भन्दैमा सवारीसाधनको क्षमताभन्दा बढी मानिस कोचेर हिँड्ने अधिकार कसैलाई हुनु हुँदैन । केही थप यात्रुबाट हुने आम्दानीभन्दा यात्रुको जीवन ठूलो हो । यात्रुको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।
४. के सार्वजनिक सवारीसाधनमा चर्को स्वरमा म्युजिक बजाएर कुदाउन पाइन्छ ?
सार्वजनिक यातायात सबै यात्रुको साझा साधन हो । चालक वा सहचालकलाई मन परेको भन्दै चर्को स्वरमा म्युजिक बजाउने अधिकार हुँदैन ।
कसैलाई संगीत मन पर्न सक्छ, कसैलाई नपर्न सक्छ । वृद्ध, बिरामी, बालबालिका वा अन्य यात्रुलाई चर्को आवाजले असहज बनाउन सक्छ । त्यसैले सार्वजनिक सवारीमा आवाजको मर्यादा कायम राख्नु पनि यात्रुमैत्री सेवाको एउटा पक्ष हो ।
५. के सार्वजनिक सवारीसाधनमा जथाभावी अश्लील शब्द बोल्न पाइन्छ ?
सार्वजनिक सवारीसाधनमा विभिन्न उमेर, वर्ग र पृष्ठभूमिका मानिस यात्रा गर्छन् । बालबालिका, महिला, वृद्ध तथा परिवारका सदस्यहरू पनि सँगै यात्रा गरिरहेका हुन्छन् ।
यस्तो ठाउँमा चालक वा सहचालकले जथाभावी अश्लील शब्द प्रयोग गर्नु, गालीगलौज गर्नु वा यात्रुसँग असभ्य व्यवहार गर्नु कदापि उचित होइन । सार्वजनिक यातायातमा सभ्य भाषा र सम्मानजनक व्यवहार हुनैपर्छ ।
६. के सार्वजनिक सवारीसाधनमा अपाङ्ग, वृद्ध, महिला तथा बालबालिकालाई सेवा–सुविधा हुनु पर्दैन ?
सार्वजनिक यातायात सबै नागरिकका लागि हो । त्यसैले अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा, महिला, बालबालिका, गर्भवती तथा बिरामी यात्रुलाई आवश्यक प्राथमिकता र सुविधा दिनुपर्छ ।
वृद्ध व्यक्तिलाई बस चढ्न र ओर्लन कठिन हुन सक्छ । अपाङ्गता भएका व्यक्तिलाई थप सहयोग आवश्यक हुन सक्छ । बालबालिका र बिरामी यात्रुलाई पनि विशेष सावधानी चाहिन्छ । सार्वजनिक यातायातमा यस्ता यात्रुप्रति संवेदनशीलता देखिनुपर्छ ।
सार्वजनिक यातायातलाई साँच्चिकै सभ्य र यात्रुमैत्री बनाउने हो भने यसलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री तथा वृद्धमैत्री बनाउनु आवश्यक छ ।
७. के सार्वजनिक सवारीसाधनले लेन अनुशासन गर्नुपर्दैन ?
सडकमा लेन अनुशासन ट्राफिक व्यवस्थापनको आधारभूत कुरा हो । तर सार्वजनिक सवारीसाधनले आफ्नो लेन छोडेर जथाभावी अर्को लेनमा जाने, ओभरटेक गर्ने र साना सवारीसाधनलाई पेलेर अगाडि बढ्ने प्रवृत्ति देखिन्छ ।
ठूलो सवारीसाधन भएको कारण अरूलाई हेप्न वा बाटो मिच्न पाइँदैन । सडक सबैको साझा हो । सार्वजनिक सवारीसाधनले झन् बढी अनुशासन पालना गर्नुपर्ने हो ।
८. के सार्वजनिक सवारीसाधनहरूले हर्न बजाउँदै कुदाउन पाउँछन् ?
काठमाडौंजस्तो घना बस्ती भएको सहरमा ध्वनि प्रदूषण आफैँमा ठूलो समस्या हो । तर सार्वजनिक सवारीसाधनले अनावश्यक रूपमा पटक–पटक हर्न बजाउने र कतिपय अवस्थामा प्रेसर हर्नसमेत प्रयोग गर्ने गरेको सुनिन्छ ।
सहरको मध्य भाग बानेश्वर, बबरमहलजस्ता ठाउँमा समेत प्रेसर हर्न बजाएको सुनिन्छ भने अन्य ठाउँको अवस्था कस्तो होला भन्ने प्रश्न उठ्छ ।
हर्न आवश्यक अवस्थामा चेतावनी दिनका लागि प्रयोग गर्नुपर्छ, अरूलाई तर्साउन वा आफ्नो उपस्थिति देखाउनका लागि होइन । सार्वजनिक सवारीसाधनमा अनावश्यक हर्न प्रयोग नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्छ ।
९. के सार्वजनिक सवारीसाधनको कुनै स्पिड नियन्त्रण हुनु पर्दैन ?
सार्वजनिक सवारीसाधनमा यात्रुहरूको जीवन जोडिएको हुन्छ । त्यसैले गति नियन्त्रण झन् आवश्यक हुन्छ । तर कहिलेकाहीँ चालकहरू एकअर्कालाई उछिन्न खोज्दा अत्यधिक गतिमा सवारी चलाएको देखिन्छ ।
सडकको अवस्था, ट्राफिक, मौसम, यात्रुको संख्या तथा सडकको क्षेत्रअनुसार गति निर्धारण हुनुपर्छ । केही मिनेट छिटो पुग्नु भन्दा सुरक्षित रूपमा गन्तव्यमा पुग्नु महत्वपूर्ण हो ।
१०. के सार्वजनिक सवारीसाधनले जति पनि भारी वा तौल बोक्न पाउँछन् ?
सार्वजनिक सवारीसाधनको क्षमता निश्चित हुन्छ । क्षमताभन्दा बढी यात्रु वा सामान बोकेर चलाउँदा सवारीको नियन्त्रणमा असर पर्न सक्छ र दुर्घटनाको जोखिम बढ्न सक्छ ।
यात्रु बोक्ने सवारीसाधनलाई अत्यधिक सामान बोकाउने वा क्षमताभन्दा बढी तौल राख्ने कामलाई नियमन गर्नुपर्छ । सवारीको क्षमता, यात्रुको सुरक्षा र सडकको अवस्थालाई ध्यानमा राखेर भार व्यवस्थापन गर्न आवश्यक छ ।
११. के सार्वजनिक सवारीसाधनका चालक र सहचालकले सभ्य भाषा बोल्नु जरुरी छैन ?
चालक र सहचालक सार्वजनिक यातायात सेवाका प्रत्यक्ष प्रतिनिधि हुन् । उनीहरूले यात्रुसँग गर्ने व्यवहारले नै सार्वजनिक यातायातको संस्कार देखाउँछ ।
यात्रुले सामान्य प्रश्न सोध्दा झर्किने, कराउने, अपशब्द प्रयोग गर्ने वा असभ्य व्यवहार गर्ने प्रवृत्ति हटाउनुपर्छ । यात्रुसँग सम्मानपूर्वक बोल्नु कुनै अतिरिक्त सुविधा होइन, यो आधारभूत व्यावसायिक व्यवहार हो ।
१२. के कुनै पनि सार्वजनिक साधनको चालकले अत्यन्तै लापरबाही गर्न पाउँछ ?
सार्वजनिक यातायातमा चालकको सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । हालै ग्वार्कोमा लगायत विभिन्न ठाउँमा भएको गम्भीर दुर्घटनाले पनि सडक सुरक्षा र चालकको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउँछ ।
के गम्भीर लापरबाही गर्नेहरूलाई यसरी नै लापरबाही गर्ने छुट छ ?
चालकको लापरबाहीका कारण यात्रु वा पैदलयात्रीको ज्यान जोखिममा पर्नु सामान्य विषय होइन । दुर्घटना भएपछि मात्र कारबाही गर्नेभन्दा दुर्घटना हुन नदिन चालकको क्षमता, सवारीसाधनको अवस्था र ड्राइभिङ व्यवहारको नियमित निगरानी आवश्यक छ ।
१३. के सार्वजनिक साधनहरूले मनलाग्दो गरी समयको ख्याल नगरी चलाउन पाउँछन् ?
सार्वजनिक यातायातको महत्वपूर्ण पक्षमध्ये एउटा समयको विश्वसनीयता हो । यात्रुहरू कार्यालय, विद्यालय, कलेज, अस्पताल तथा अन्य काममा निश्चित समयमा पुग्नुपर्ने हुन्छ ।
तर सार्वजनिक सवारीसाधन आफूलाई मन लाग्दा खरायोको रफ्तारमा कुदाउने र मन नलाग्दा कछुवाको रफ्तारमा चलाउने हो भने यात्रुले कसरी आफ्नो समय व्यवस्थापन गर्ने ?
सार्वजनिक यातायात निश्चित समयतालिकाअनुसार, नियमित र भरपर्दो ढंगले सञ्चालन हुनुपर्छ । यात्रुले बस कहिले आउँछ र कहिले गन्तव्यमा पुग्छ भन्ने सामान्य अनुमान गर्न सक्ने अवस्था हुनुपर्छ ।
१४. सार्वजनिक सवारीसाधन भनेको कुनै निजी सवारी हो ?
पक्कै होइन । सार्वजनिक सवारीसाधन निजी सवारीजस्तो आफूलाई चाहेको बेला चलाउने र नचाहेको बेला नचलाउने साधन होइन । यसको मुख्य उद्देश्य नै यात्रुलाई नियमित, सुरक्षित र भरपर्दो सेवा दिनु हो ।
अफिस वा काममा जान ढिला भइरहेको बेला मानिसहरू कुरेर बस्नुपर्ने अवस्था हुनु हुँदैन । बिरामी, अशक्त, वृद्ध तथा आकस्मिक काममा हिँडेका मानिसहरूको पीरमर्का बुझेर यातायात सञ्चालन हुनुपर्छ ।
यात्रुलाई सुविधा दिने, समयको सम्मान गर्ने र नियमित सेवा प्रदान गर्ने हो भने मात्र सार्वजनिक यातायात यात्रुमैत्री बन्न सक्छ ।
१५. के जहाँ हात ठड्यायो त्यहीँ रोक्न पाइन्छ ?
सार्वजनिक बस जहाँ यात्रुले हात उठायो त्यहीँ रोक्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनलाई थप अस्तव्यस्त बनाएको छ । व्यस्त सडकमा जथाभावी रोक्दा पछाडिबाट आएका सवारीसाधनलाई समस्या हुन्छ, जाम बढ्छ र दुर्घटनाको जोखिम पनि बढ्छ ।
बस स्टप निश्चित र व्यवस्थित हुनुपर्छ । यात्रुले पनि तोकिएको बस स्टपमै बस चढ्ने र ओर्लने संस्कार विकास गर्नुपर्छ । त्यसका लागि राज्यले पर्याप्त, सुरक्षित र यात्रुमैत्री बस स्टप निर्माण गर्नुपर्छ ।
१६. के ठूला गाडीले साना गाडी वा अन्य सवारीसाधनलाई हेप्न र मिच्न पाइन्छ ?
सडकमा ठूलो सवारीसाधन भएको कारण साना सवारीसाधनलाई हेप्ने, बाटो मिच्ने वा जबर्जस्ती अगाडि बढ्ने प्रवृत्ति देखिन्छ । सार्वजनिक सवारीसाधनले आफ्नो आकार र संख्याको फाइदा उठाएर अन्य सवारीलाई दबाब दिनु हुँदैन ।
सडकमा कार, मोटरसाइकल, साइकल, सार्वजनिक बस र पैदलयात्री सबैको अधिकार हुन्छ । सबैले आफ्नो लेन र नियम पालना गर्ने हो भने सडक धेरै व्यवस्थित र सुरक्षित बन्न सक्छ ।
हुन त राज्यकै कमी–कमजोरी धेरै छन् । न त सुरक्षित बस स्टप छ, न त अपाङ्गमैत्री नै । न त सडकमा लेन सबै ठाउँमा छन् । तर भएकोलाई त राम्रो बनाउने प्रयास गरौँ । यी माथि उल्लेखित कुराहरू अवश्य गर्नै पाइँदैन ।
समस्या देश गरिब हुनुमा मात्र छैन । कतिपय अवस्थामा हाम्रो मानसिकता, संस्कार, जिम्मेवारीबोध र नियम पालना गर्ने प्रवृत्तिमा देखिएको कमजोरी पनि समस्याको एउटा कारण हो । त्यसमाथि सम्बन्धित निकायको बेवास्ता र कमजोर नियमनले समस्या झन् बढाएको छ ।
सार्वजनिक सवारीसाधन सुरक्षित, भरपर्दो र समयअनुसार चल्ने हो भने धेरै मात्रामा निजी सवारीसाधन आम मानिसले चढ्न छोड्नेछन् । ट्राफिक व्यवस्थापनमा सहजता आउनेछ, अनावश्यक पेट्रोलियम पदार्थको खपत घट्नेछ र वायु तथा ध्वनि प्रदूषण कम गर्न पनि सहयोग पुग्नेछ । सहरको सडकमा सवारीको चाप घट्नेछ र सहर पनि सहरजस्तो देखिन थाल्नेछ । अझ सार्वजनिक साधनलाई भरपर्दो र सुरक्षित तथा व्यवस्थित बनाउन सीसीटीभीको जडानमा तदारुकता, सवारीसाधनको चेकजाँचमा कडाइ, स्पीड नियन्त्रणमा कडाइ, सरसफाइमा कडाइ, नियमित समयतालिकाको फलो, कतै धेरै बस कतै कमलाई वैज्ञानिक ढंगले, चालकलाई अवेयरनेस प्रोग्राम, उनीहरूको समस्या छ भने त्यसको हित र अधिकार, शोषण भएको छ भने त्यसको निराकरण गर्ने र जिम्मेवार चालक बनाउनेतर्फ लाग्नु साथै व्यवसायीले पनि यात्रुको हितलाई ध्यान दिनु जरुरी देखिन्छ ।
राज्यको नियम हुन्छ, कानुन हुन्छ । सडकको पनि कानुन र नियम हुन्छ । यात्रुको हकहित र अधिकार हुन्छ । त्यो राज्यबाट पाउनु पर्दछ । नभएको ठाउँमा त छैन, भएकोलाई व्यवस्थित पनि गर्न नसक्नु राज्यतर्फ पनिको लाचारीपन हो ।
तर जिम्मेवारी राज्यको मात्र होइन । यातायात व्यवसायीले पनि यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । चालक र सहचालकले अनुशासन पालना गर्नुपर्छ । यात्रुले पनि बस स्टपको प्रयोग गर्ने, सवारीसाधनभित्र मर्यादा कायम गर्ने र नियम पालना गर्ने बानी बसाल्नुपर्छ । चालकले पनि नियमअनुसार गाडी चलाउने र ट्राफिक प्रहरीले पनि उनीहरूलाई सोहीअनुरूपको व्यवहार गरे सडकको सन्दर्य अझै राम्रो हुन्छ र यात्रुले सुरक्षित महसुस गर्न पाउँछन् । तर सडकमा हेर्दा सबै तनावमा हुन्छन्, नियम पनि मान्दैनन्, रिसाउँछन् र प्रेसरमा गाडी चलाउँदा अझै जोखिम बढ्छ र दुर्घटना बढ्छ ।
आशा छ, सार्वजनिक सवारीमा आमूल परिवर्तन आउनेछ र यात्रुले सहज रूपमा यसको उपभोग गरी आफ्नो गन्तव्यमा सहजै पुग्न सक्नेछन् ।
गल्ती गर्नेलाई कारबाही गर्नैपर्छ । हर्न बजाउन, लेन मिच्न, र ट्राफिक नियम उल्लङ्घन गर्न नपाएको भन्दैमा के आन्दोलन गर्न पाइन्छ ? व्यवसाय गर्ने अधिकारसँगै यात्रुको सुरक्षा र सार्वजनिक अनुशासनप्रतिको जिम्मेवारी पनि आउँछ । गल्ती गर्नेलाई कारबाही र फाइन हुनैपर्छ ।
सभ्य समाज बनाउने हो भने सार्वजनिक यातायात सुरक्षित, व्यवस्थित र भरपर्दो हुनु अत्यन्तै जरुरी छ । सार्वजनिक यातायात केवल यात्रु बोक्ने साधन होइन, यो सहरको सभ्यता, अनुशासन र व्यवस्थापनको ऐना पनि हो ।
सरकार, महानगरपालिका, नगरपालिका, ट्राफिक प्रहरी, यातायात व्यवसायी, चालक–सहचालक र स्वयं यात्रु सबै मिलेर यसलाई प्रभावकारी, सुरक्षित, मर्यादित र भरपर्दो बनाउने बेला आएको छ ।
सुधार गर्न सकिने कुरालाई सुधारौँ । भएको सडकअनुसारले व्यवस्थित बनाऔं । सार्वजनिक यातायातलाई यात्रुको यात्राको साथी र भरपर्दो विकल्प बनाऔँ ।