काठमाडौं, स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्ति लिलामी प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर भण्डारीलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।प्रहरीका अनुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आइसकेपछि पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजीयाटा लिमिटेडसँग मिलेमतो गरी गैरकानुनी रूपमा लिलाम गरिएको आरोप उनीमाथि लागेको छ। यसबाट सरकारको हकहितमा क्षति पुगेको प्रहरीको दाबी छ।
भण्डारीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त घटनामा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ।
प्राधिकरणले स्मार्ट टेलिकम प्रालिलाई २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति दिएको थियो। तर, कम्पनीले कानुनअनुसार अनुमतिपत्र नवीकरण नगरेकाले २०८० वैशाख २ गतेदेखि उक्त अनुमति स्वतः रद्द भएको थियो। त्यसपछि कम्पनीका सम्पत्ति तथा दूरसञ्चार पूर्वाधार प्राधिकरणको स्वामित्वमा आएका थिए। त्यसैसँग सम्बन्धित सम्पत्ति लिलामी प्रक्रियामा अनियमितता भएको आरोपमा भण्डारीलाई पक्राउ गरिएको हो।