वीरगञ्ज, पर्सा जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति–सुरक्षा थप सुदृढ बनाउन सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी निर्देशन तथा मधेश प्रदेश सुरक्षा समन्वय समितिका निर्णय कार्यान्वयन गर्ने निष्कर्ष निकालेको हो। बैठकले सम्बन्धित सबै निकायसँग सहकार्य, समन्वय र सहजीकरण गर्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने निर्णय गरेको जनाएको छ।
गृह मन्त्रालयले बिहीबार जारी गरेको निर्देशनमा पछिल्ला घटनाक्रमको सूक्ष्म निगरानी र विश्लेषण गर्दै सुरक्षा निकायबीच समन्वय बढाउन, सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सुरक्षाकर्मीलाई संयमित र जिम्मेवार ढंगले परिचालन गर्न आग्रह गरिएको थियो।सोही निर्देशनअनुसार पर्सा जिल्ला सुरक्षा समितिले जिल्लामा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वीरगञ्जका मुख्य क्षेत्रमा शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।