Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनलाई निरन्तरता÷विकास निर्माणमा खुकुलो

लकडाउनलाई निरन्तरता÷विकास निर्माणमा खुकुलो


काठमाडौं,बैशाख ११
सरकारले भारतसँगको खुला सीमालाई अझ कडाइसाथ बन्द गर्ने भएको छ । भारततर्फ कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको कारण सीमामा अझ कडाइ गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दलका सांसदहरुलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन बुधबारबाट प्रदेशअनुसार सांसदहरुसँग छलफल सुरु गरेका हुन् । सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट खतरामुक्त नभएसम्म लकडाउनलाई निरन्तरता दिने तर विकास निर्माणको कामलाई भने सहजीकरण गरिने जानकारी दिएका थिए ।

छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले भारतसँगको सीमामा अझै कडा गरिने, चीनसँगको सीमा पनि तत्काल नखोलिने तथा अन्तर्राष्ट्रिय हवाइ उडान पनि अनिश्चितकालका लागि बन्द नै गरिने जानकारी गराएका थिए । कोरोना नदेखिएका केही क्षेत्रलाई खुला गर्नुपर्ने आवाज उठिरहेको बेला प्रधानमन्त्री ओलीको उक्त भनाइ आएको हो । सरकारले यही वैशाख १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ ।

नेपाल र भारतको खुला सीमा क्षेत्रमा नेपालतर्फ अहिले एक जनाको ड्युटीबाट अर्को ड्युटीमा खटिनेलाई देखिने गरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । खासगरी ५ नम्बर प्रदेशको सीमामा कडाइ गरिएको छ । यसले अवैध बाटोबाट नेपाल प्रवेश गर्ने वा नेपालबाट भारत प्रवेश गर्नेहरु रोकिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा दुई देशले छिमेकी देशका नागरिकलाई आआफ्नो देशमा प्रवेश गर्न नदिने र आफ्ना नागरिकसरह हेरचाह गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार दुई देशका खुला नाकालाई कडाइसाथ बन्द गरिएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन प्रदेशका सांसदसँग अध्यादेश र बन्दाबन्दी विषयमा छलफल गरेका थिए । आफ्ना प्रदेशमा लकडाउनका कारण समस्या भएको भए जानकारी गराउन सांसदसँग आग्रह गर्दै कोरोना भाइरसबाट खतरामुक्त नभएसम्म यसलाई निरन्तरता दिइने र सीमामा अझ कडाइ गरिने बताएका हुन् । बिहीबार बाँकी प्रदेशका सांसदसँग ब्रिफिङ हुनेछ । सोहीअनुसार प्रदेश नं. २ सँग बिहान १०ः३० बजे, प्रदेश नं ४ सँग अपराह्न ३ बजे, प्रदेश नं ५ सँग अपराह्न ४ः३० बजे र कर्णाली प्रदेशका सांसदसँग साँझ ६ः०० बजे छलफल हुने तय भएको छ ।

प्रधानमन्त्री ओलीले जारी अध्यादेशबारे पनि जानकारी गराउँदै उक्त अध्यादेश कसैप्रति पनि लक्षित नगरी ल्याइएको बताएका थिए । संवैधानिक आयोग पदाधिकारीविहीन भएकाले तिनलाई कामकाजी बनाउनका लागि अध्यादेश ल्याइएको र सहमतिका लागि निकै प्रयाससमेत गरिएको प्रधानमन्त्री ओलीले ब्रिफिङमा जानकारी गराएका थिए । नेपालमा पछिल्लो समयमा कोरोना देखिने अधिकांश भारतीय नागरिक भएको कारण भारतसँगको सीमा नाकामा अझै कडा गरिनुपर्ने आवाज उठिरहेको बेला प्रधानमन्त्री ओलीले भारतसँगको नाका तत्काल खोल्न नसकिने जानकारी गराएका हुन् ।

भारतसँगको नाकाबाट मानिसका आवतजावत रोकिए पनि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आयात भइरहेको छ । औद्योगिक कच्चापदार्थलगायतका वस्तुको आयातको लागि पनि भारतीय सीमा खुला गरिने भएको छ । नेपालभित्रका कुन–कुन जिल्ला वा क्षेत्रलाई खुला गर्ने भन्ने विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिले विभिन्न पक्षसँग परामर्श गरिरहेको छ । यो कुनै राजनीतिक विषय नभएको भन्दै कोरोनाबाट कम जोखिम क्षेत्रलाई क्रमशः खोल्दै जाने नीति समितिले लिएको छ । १५ गते राति १२ बजेपछिको लकडाउन कसरी अगाडि बढ्छ भन्ने विषयमा १४ गतेसम्म निर्णय हुने बताइएको छ ।

उदयपुरमा एउटा समुदायमा कोरोना महामारीको रुपमा देखा परे पनि अन्य क्षेत्रमा भने फैलिएको पाइएको छैन । विभिन्न जिल्ला तथा स्थानीय तहमा परीक्षण जारी रहेको कारण अझै एक सातापछि मात्र कोरोनाको वास्तविक तथ्यांक आउने सरकारी भनाइ छ । सरकारलाई कोरोनाको परीक्षण गर्ने सामग्री बुधबार नै भारत र चीनले उपलब्ध गराएको छ । तिब्बत सरकारले गत चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो । तातोपानी नाका हुँदै आठ करोड ३१ लाखबराबरको उक्त सामग्री बुधबार नेपाल प्रवेश गरेको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री बुधबार नै काठमाडौं आइपुगेको छ ।

अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पीपीई, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पीसीआर मेसिन र ५० थान वेट वाइप छन् । तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । यस्तै नेपाल सरकारलाई भारतले कोभिड–१९ सङ्क्रमणको रोकथाम र उपचारका लागि सहयोगस्वरुप १८ प्रकारका औषधि उपलब्ध गराएको छ ।

भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोरोक्विनलगायत छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार ती औषधि हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोभिड–१९ विरुद्ध विश्व नै लडिरहेका बेला छिमेकीबाट नेपाली जनता र सरकारको प्रयासमा ऐक्यबद्धता जनाउन प्रदत्त सहयोगप्रति आभार व्यक्त गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया