Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात सय ४६ स्थानीय तहमा वाणिज्य बैंक

सात सय ४६ स्थानीय तहमा वाणिज्य बैंक


सुरेश राउत
काठमाडौं, असार ७
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले सात सय ४६ स्थानीय तहमा शाखा बिस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको १० महिनाको बिस्तृत प्रतिवेदन अनुसार सात वटा प्रदेशका सात सय ५३ स्थानीय तह मध्ये अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या सात मात्र रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या भने यस अवधिमा एक सय ६३ पुगेको छ । सो अनुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ९० वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ वैशाख मसान्तसम्म कुल एक सय ८७ वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ४२ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४५ संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने नौ हजार छ सय ९५ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार दुई सय १९ वटा, विकास बैंकहरुको एक हजार दुई सय १६, फाइनान्स कम्पनीहरुको दुई सय ३९ र लघुवित्त वित्तीय संस्थाहरुको चार हजार २१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा प्रदेश नम्वर एकमा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्वर दुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । बाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्वर पाँचमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । सदुर पश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८६ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया