Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसन्चो भएका संक्रमितहरूलाई पनि सुनौँ

सन्चो भएका संक्रमितहरूलाई पनि सुनौँ


काठमाडौं,बैशाख ९
नफुर्किकन र नहौसिकन भन्ने हो भने कोरोना महामारीमा नेपालको अवस्था संसारभरिकै लागि लोभलाग्दो छ । संसारमा आधा करोड मान्छे संक्रमित भएकामा यहाँ आधा सय पनि पुगेको छैन । मृत्युवरण गर्नुपर्ने दुःखद समय त अहिलेसम्म सौभग्यवस आइपरको छैन । यो एउटा महत्वपूर्ण पाटो हो । यसबाट सतर्कताको पक्ष झन् गम्भीरतापूर्वक पालना गर्नुपर्ने भन्ने बुझाउँछ भने कतै सक्रमण भैहाले पनि निको भएकाहरूबाट कसरी आत्मविश्वासका साथ त्यसको समाना गर्ने भन्ने सिक्नुपर्ने अवस्था छ र सिकाइका सन्दर्भमा हालै घर फर्किएकाहरूका अनुभव नेपाली रहनसहन र वातावरणमा मिल्दाजुल्दा हुन कसक्त छन् । चीनको बुहानमा पहिलो चिकित्सकको यो संक्रमणबाट मृत्यु हुँदा चीनको राजनीतिक पक्षले ती चिकित्सिकबाट पर्याप्त जानकारी लिन नदिइएको भनिएको थियो । यो भाइरस सर्वथा नयाँ भएका कारण पनि यसले प्रवेश गरेपछि देखाउने लक्षण व्यक्तिको अनुभवबाट प्रकट भएको भन्दा र त्यसमा पनि चिकित्सकले त्यसको व्यहोरा बताउन पाउँदाको अवस्था भिन्नै हुन्छ र त्यो अनुभव अरुका लागि ठूलो उपलब्धि हुने भनी त्यसो भनिएको थियो । हामीकहाँ पनि एक महिनाको उपचारपछि संक्रमणबाट निको भएर घर जानेहरूका अनुभव पनि त्यस्तै हुन सक्तछ ।

कोरोना भाइरस संक्रमणबाट २७ दिनसम्म अस्पतालमा उपचार गराएर टेकु अस्पतालबाट एक युवती भर्खर मात्रै घर फर्किएकी छिन् । उनीसँग साटनुपर्ने अनुभव धेरै हुन सक्तछ । यद्यपि त्यो अनुभव साट्न संक्रमित नै हुनुपर्ने भन्ने होला । त्यसो होइन । पहिले उनी पनि अरु जोसुकै जस्तो संक्रमण हुन्छ कि भन्ने भयबाट त्रस्त थिइन् । त्यस्तो हँुदाहँुदै संक्रमित भइन नै । यसपछि उनले संगालेका अनुभवहरू र वास्तवमा नै मननयोग्य हुनुपर्छ ।

उनका अनुसार उनमा पनि परीक्षणका लागि अस्पताल आउनुअघि खासै लक्षण देखिएका थिएनन् । भन्छिन् अस्पताल भर्ना भएको दुई दिनपछि बल्ल लक्षण देखियो, सास फेर्न गाह्रो भयो, खोकी लाग्यो, पेट दुख्यो, ‘घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ । जहाजमा पनि एक्लै बसेको थिएँ, पूर्वसावधानीले गर्दा परिवारका सदस्यमा कोरोना सर्न पाएन । अरूलाई फैलन पाएन । डाक्टरहरूले ठीक हुन्छयौ भनिरहेका थिए । अस्पतालले गरेको रेखदेखले पनि ममा आत्मविश्वास पलाउँदै थियो । सरकारले सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनु पर्छ । धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन् । जनता पनि इमानदारपूर्वक आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो । तपाईं बाहिरबाट आउनुभएको छ भने परीक्षण पनि गराउनुस् । यो आफ्नो र आफ्नाहरूका लागि पनि हो । सरकारले त्यो सुविधा पनि दिएको छ त त्यसको उपभोग गर्नु पर्छन नै ।

उखान नै छ, पढेरभन्दा परेर जानिन्छ । माथिका यी अनुभव सुनाउने युवतीले परेर जाने कि हुन् । खोकी लाग्छ त भनियो तर कस्तो खोकी हो भन्ने परेकाले भन्दा अरुले त्यति थाहा पाउन नसक्लान् । खोकी भनेको धेरै थरीका हुन्छन् । टिबी लाग्दा सबैभन्दा पहिले देखिने लक्षण पनि खोकी नै हो । छातीको अवस्था पनि त्यस्तै हो । त्यसकारण यसको लक्षण कस्तो हुन्छ भन्ने परेकाहरूबाट बुझियो भने संक्रमण भैहाले पनि सुरुआती दिनमा नै त्यसको पहिचान गर्न स्वयं संक्रमितलाई पनि सजिलो हुन्छ  । यसरी उपचारबाट घर फर्किएकाहरूको अनुभवलाई कसरी व्यापक बनाउने हो भन्ने तर्फ पनि सोचियोस् । किनभने यो पनि कोरोनाविरुद्धको एउटा अभियानभित्रकै कुरा पर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया