Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयलगानीका क्षेत्र र लाभांशका कुरा

लगानीका क्षेत्र र लाभांशका कुरा


काठमाडौं । तेस्रो लगानी सम्मेलनका दिनहरू नजिकिँदै जाँदा कस्ता परियोजना विदेशी लगानीकर्तालाई दिने र कस्ताचाहिँ आफैंले चलाउने भन्नेबारे सरकारले कुनै स्पष्ट नीति बनाउन सकेको देखिएन । त्यस्तो नीति नहुँदा आफैंले गर्ने कामहरू विदेशी लगानीमार्फत गराइरहेको र त्यसका नाममा ठूलो रकम बाहिरिने गरेको छ । जस्तो नेपालमा दूरसञ्चार क्षेत्र प्रविधिका हिसाबले आफैँ सक्षम छ । त्यसमा नेपाली लगनीकर्ताले नै चासो देखाइरहेका छन् तर त्यही क्षेत्रमा विदेशीहरूको प्रवेश भएर नाफास्वरुप ठूलो रकम बाहिरिने गरेको धेरै भयो । त्यस्ता कम्पनीले ठूलो अंकमा हुने गरी कर समेत छलेका उदाहरण कायम भइसकेका छन् । पछिल्लो समय एनसेल त्यसको उदाहरण हो । थोरै लगानी गरेर छोटो समयमै आधिकारिक नाफा गरेर पनि ठूलो अंकमा हुनेगरी कर र कारोबार छल्न खोजको उदाहरण भर्खरकै हो । दुई खर्बको सम्पत्ति रहेको अवस्थामा छ अर्बमा सेयर बेचबिखन गरेको घटना केहीअघि मात्रै प्रकट भएको हो । यस्ता धेरै उदाहरण हुन सक्छन् ।

कस्ता काम विदेशी लगानीबाट गर्ने र कस्ता काम आफैँ गर्ने भन्ने मापदण्ड नहुँदा नै नेपालमा कुखुराको मासु बेचेर दूर्लभ मानिने विदेशी मुद्राको ठूलो अंक बाहिरिरहेको अवस्था पनि त्यस्तै हो । पछिल्लो समय विदेशी लगानीबाट चलेका उद्योगहरूले आफ्नो लाभांशको अंक शंकास्पद नै हुनेगरी देखाउने गरेको पाइएको छ । वास्तवमा नै लाभ अंश घटेकै हो कि घटाइएको हो भन्ने गम्भीररूपले अध्ययन भएको देखिएन । यहाँ पनि करसँग नै जोडिन्छ । नाफा भएको रकम बाहिरिने धेरै बाटाहरू खुलिसकेका छन् । यस्तो बेला घटी देखिएको लाभांश कतै त्यताबाट पनि चुहिरहेको त छैन भन्ने पक्षबाट छानबिन भएको पनि देखिँदैन । चालू आर्थिक वर्षको नौ महिनामा अघिल्लो वर्षसँग तुलना गर्दा लाभ अंश निकै घटेको देखिन्छ । गत वर्ष अर्थतन्त्रमा व्यापक मन्दी आएको थियो । कतिपयले एउटा छिमेकी देश श्रीलंकाको हालत हुने भनेर चेतावनी पनि दिइरहिएको थियो । वैदेशिक लगानीका उद्योग व्यवसायीले यो अवस्थाबाट लाभा तलिउका होइनन् भन्ने पक्षबाट पनि हेर्नुपर्ने हुन्छ । कानुनका नौसिङ भनेजस्तै कर छलीका सन्दर्भमा त्यस्तो नहोला भन्न सकिँदैन । अहिले लगानी सम्मेलनको ठीकअघि आएको लाभ अंश घटेको कुरालाई सरकारले नजरअन्दाज नगरोस् । यसले लगानीमा नै नोक्सान पार्छ भने कुन कुरा विदेशीले चलाउने र कुन कुरा स्वदेशीले भनी मापदण्ड बनाउने कुरामा पनि हस्तक्षेप गर्छ । त्यसकारण बेलैमा सतर्कता अपनाउन आवश्यक मानिएको हो  ।

उद्योग विभागले हालै दिएको जानकारीअनुसार विदेशी लगानीकर्ताले लैजाने लाभांश चालू आर्थिक वर्षको नौ महिनामा ३४ दशमलव ३० प्रतिशतले कमी आएको छ । आर्थिक मन्दी बितेका वर्षको थियो तर नाफा भने चालू वर्ष घटेको अवस्था छ । गएको वर्षको साउनदेखि चैत मसान्तसम्म विदेशी लगानीकर्ताले १३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ लाभांश लगेका थिए । चालू आर्थिक वर्षको त्यही समय अर्थात् साउनदेखि चैत मसान्तसम्म यस्तो लाभ अंश नौ अर्ब चार करोड ८७ लाख रुपैयाँमा झरेको देखिन्छ । यो भनेको अघिल्लो वर्षको तुलनामा चार अर्ब ७२ करोड ५७ लाख रुपैयाँ कम लाभांश देखिएको अवस्था हो । यसले मन्दी अघिल्लो वर्ष हुने र लाभचाहिँ चालू वर्ष घट्ने स्थिति कसरी आयो भन्ने नै अहिलेको जिज्ञासाको विषय हो । लाभांश घट्नु भनेको त्यसबाट प्राप्त हुने राजस्व पनि घट्नु हो । बितेको नौ महिनामा राजस्वको प्रतिशत चालिसको हाराहारीमा रहेको भनेर त अर्थमन्त्रीले नै जानकारी दिएको अवस्था छ । त्यसमा यो लाभांशको भाग सानो होला तर काल पल्किएको अवस्था हो भने त्यो गम्भीर हुन्छ, ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया