Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभीआईपीको भ्रमणले प्रकोप क्षेत्रमा झन् पीडा

भीआईपीको भ्रमणले प्रकोप क्षेत्रमा झन् पीडा


काठमाडौं  । ठूलो मानवीय क्षति हुनबाट सौभाग्यवश जोगिएको बझाङ केन्द्रित भूकम्पका पीडितहरूले उचित राहत पाउन नसेका गुनासो बढिरहेको छ । ठूलो मानवीय क्षति हुनबाट जोगिएको यस कारणले मानियो कि भौतिक क्षतिको अवस्था निकै उच्च छ । मानिसका घर टहरादेखि विद्यालय भवनहरूमा जस्तो क्षति पुगेको देखियो, त्यसले भूकम्पको धक्का विनाशकारी नै रहेको देखाउँछ । यो भूकम्पले हल्लाएर घर भत्किँदा एक जना महिलाको च्यापिएर ज्यान गयो । करिब हप्ताभरि नै परकम्पनहरू गइरहे । एकदिनमा सय पटकसम्म त्यस्ता पराकम्पन गएका विवरणहरू आइरहे । यसले पनि भौतिक क्षतिलाई बढाएको थियो । त्यसको आतंक कस्तो भने अझै पनि मानिसहरू आफ्नो घरमा बासबस्न सकेका छैनन् । जसरी २०७२ मा काठमाडौं उपत्यका हल्लिएको थियो करिबकरिब यो ठाउँको अवस्था पनि त्यस्तै रहेको भनी समाचारहरू आइरहेका छन् । भत्किएका र चर्किएका घरहरूका चित्रले पनि त्यस्तै देखाउँछ । पहिलो जोगिएको पश्चिम क्षेत्र करिब दशकपछि आएको यो भूकम्पले विगतलाई सम्झाएको छ र यस्ता विपद्बाट जोगिन जोगाउन राज्यले गर्नुपर्ने तयारी अपूरो रहेको पनि देखाएको छ ।

बझाङको यो भूकम्प भूभागको रूपले धेरै विस्तार भएन । करिब एउटा जिल्लाको वरिपरि मात्रै रहेको देखिएको थियो । यस्तो पीडितलाई राहत र उद्धार गर्न राज्यलाई केही हदसम्म सजिलो हुनुपर्ने हो र त्यस्तो कार्यले तीव्रता पाउनुपर्ने हो । तर पीडितले हप्तादिनसम्म नै राज्यको उपस्थिति नभएको भनी गुनासो गरिरहनुपरेको देखियो । प्रदेश सरकारसमेत राहत दिने कार्यमा चुकेको बताइएको छ । भूकम्पको केही दिनपछि प्रधानमन्त्रीले नेतृत्व गरेको टोली नेपाली सेनाको हेलिकोप्टरबाट भूकम्प प्रभावित जिल्ला बझाङको सदरमुकाम उत्रियो । यसमा उपप्रधान तथा रक्षामन्त्री उपप्रधान तथा गृहमन्त्री परराष्ट्रमन्त्री बझाङका सांसद आदि थिए । यो टोली त्यहाँ पुगेपछि राहतमा केही राहत होला भन्ने आम सोचाइ रहेकोमा उल्टो भएको स्थानीयले महसुस गरे । समाचारहरू त्यसरी नै आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यो टोलीको स्थलगत अध्ययन राहतविनाको अवलोकन र राजनीतिक भ्रमणजस्तो रहेको भनी उल्लेख भएको पाइयो । पचास हजारका दरले राहत त बाँडियो तर त्यो वास्तवमा पीडितले नपाएका गुनासाका विषय बनेको अवस्था बन्यो । प्रधानमन्त्रीको स्थलगत अवलोकन भ्रमण हुँदाका समयसम्म क्षतिको आकलन समेत गरिसकिएको थिएन । यसबाट राहतको मापदण्ड पनि उचितरूपले बन्न नपाएको देखायो ।

बझाङको यो भूकम्पलाई विज्ञहरूले यस क्षेत्रमा अर्को ठूलो भूकम्पको संकेत पनि मानेका छन् । भौगोलिक अवस्थामा अपेक्षाकृत सानो क्षेत्रमा रहेको भनिएको यो प्रकोपको त उचितरूपले उद्धार गर्न र राहत दिलाउन सकिएन भने भविष्यमा आइपर्ने झनै ठूला प्रकोपहरूको सामना कसरी होला भन्ने प्रश्न अहिले नै उठेको छ । प्राकृतिक प्रकोपमा भीभीआईपीहरूको यस्ता भ्रमणले स्थानीय तहमा भइरहेका उद्धार कार्यलाई समेत प्रभाव पार्ने गरेको भनेर विगतमा धेरैपटक चर्चा भइसकेका छन् । यो ठाउँमा यसपटक पनि यस्तै भयो । सदरमुकाममा भीभीआईपीहरूको भ्रमण हुने भएपछि बझाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीसहित कार्यालय प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू बिहानैदेखि सदरमुकाममा स्वागत र सुरक्षा व्यवस्थापनको तयारीमा व्यस्त रहनुप¥यो । यसले जिल्लाका दुर्गम गाउँका उद्धार कार्यलाई प्रभाव पारेका भन्ने रिपोर्टहरू आएका छन् । प्राकृतिक प्रकोपहरूमा उद्धार राहतलगायतका कामहरू प्रधानमन्त्रीको निर्देशनबाट मात्र चल्ने हो र भन्ने प्रश्नहरू यहाँ पनि उठेको पाइयो । यस्तो हुनु राम्रो होइन । प्रकोप पीडितहरूको उद्धार र राहतलाई कुनै पनि राजनीतिसँग जोड्न हुँदैन । यो भूकम्पका पीडितले त्यस्तो महसुस गरेका कुरा आएका छन् । यदि यस्तो भएको छ भने अविलम्ब सच्चिनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया