Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविदेश पठाउँदा र जाँदा होसियारी अपनाऔँ

विदेश पठाउँदा र जाँदा होसियारी अपनाऔँ


काठमाडौं । विदेशमा गएको अवस्थामा कारण जे भए पनि मर्ने र मारिने क्रम बढ्दै गएको छ । त्यो खाडी प्रदेशको अवस्था र अधिक तातोले होस् कि अवैध बाटो रोजिएका कारण वा आतङ्कवादी र लुटेराहरूको सिकार भएर । जे भए पनि नेपालीहरुले ज्यान गुमाइरहनुपरेको छ । पछिल्लो समय इजरायलमा पीडादायी घटना प्रकट भयो । सरकारी व्यवस्थापनमा नै गएका नेपालीहरुको यकिन संख्या सरकारी निकायलाई नै जानकारी रहने गरेको देखिएन । त्यसको उदाहरण हो, इजरायलमा यति ठूलो आक्रमण भएको र त्यो निरन्तर चलिरहेको अवस्थामा पनि त्यो देशमा कति नेपाली छन् र तीमध्ये कतिको हताहती भयो भन्नेमा सरकार लामो समयसम्म बेखवर रहनु । त्यो देशमा नर्सिङ सेवा र कृषि विषयका विद्यार्थीहरुलाई सरकारी निकायहरुले नै पठाएका हुन् । कृषि विषयका विद्यार्थीहरुलाई पठाइएको महिना दिन नपुग्दै प्रारम्भिकरुपमा नै १५ जनाको ज्यान गएको खबर आयो ।

संसारभरि नै आतङ्कवादीहरुको आक्रमण कुन बेला हुन्छ भन्ने जानकारी हुँदैन । तर पनि त्यस्तो आक्रमण भएको खण्डमा त्यसबाट जोगिने र उद्धारका लागि सम्भावित उपायहरुको आकलन नगरी मान्छे पठाइँदा विपत्को उचित व्यवस्थापन गर्न कति गाह्रो हुँदोरहेछ भन्ने यो पटकको घटनाले एउटा पाठ पनि दिएको छ । यसले धेरैको जीवनको सहारा नै खोसेको छ । आफ्नै आँखाअघि साथीलाई गोलीले उडाइदिएको घटना संयोगवश जोगिएर आएका ती विद्यार्थीका लागि जीवनभरि बिर्सन नसकिने घाउ बन्यो भने मृतकका आफन्त हप्ता दिनसम्म बेहोस रहेका घटनाका दृश्यहरु वर्णन गरीसाध्य नहोला । यी दुःखद परिदृश्यहरुका बीच अबको वैदेशिक रोजगारीको सेवाको मूल्यांकन हुन जरुरी छ ।

इजरायलमा भएको असोज २२ को घटनामा नेपालीहरुको यति ठूलो संख्याको हताहती अकल्पनीय नै हो । नेपाल आतंकवादीको क्रुरताबाट यतिबेलासम्म जोगिएको देशमा पर्छ । तर, जुन देशमा यस्तो घटना भयो त्यहाँ भने यो एउटा नियमितजस्तै भइसकेको छ । कुनै पनि नयाँ घर बनाउँदा ग्यारेज बनाएजस्तै त्यहाँ भने बङ्कर बनाउनुपर्ने रहेछ । ती बङ्करबाट ठूलो संख्यामा नेपालीहरु जोगिन पाएको अवस्था देखियो । देशभित्र युद्ध चलिरहेका बेला पनि त्यहाँको सुरक्षाले जसरी उद्धार ग¥यो त्यो भने सराहनीय नै हो । यसले हताहतीको ठूलो सम्भावनाबाट नेपालीहरु जोगिएको अवस्था छ । यद्यपि डेढ दर्जनको भने ज्यान गयो नै । हमास विद्रोहीले आक्रमण मात्र गरेनन् कतिपयलाई बन्धक पनि बनाए । यतिबेलासम्म केही नेपाली बेपत्ता भएको अवस्था छ । यदि ती बन्धक भएका छन् भने विद्राही पक्षसँग नेपालले तिनलाई छुटाउन पहल थाल्नुपर्छ । यो आक्रमणमा कुनै पूर्वसूचना थिएन । यसबारे कुनै जानकारी नै नभएका पनि पीडित भएका छन् । नेपालीहरु निर्दोष थिए । आफूहरु विदेशबाट आएका र नेपाली हौँ भन्दाभन्दै पनि गोली चलाइएको भन्ने प्रत्यक्षदर्शीबाट समाचार आइरहेका छन् । यो निन्दनीय क्रूरता हो । अब यस्तो नहोस् भन्ने कामना गरौँ । अरु जे भए पनि पहिलो कुरा त आफैँ सतर्क हुन जरुरी छ । देशले नै आफ्ना नागरिकहरुलाई विदेश पठाउँदा गन्तव्य मानिएको देशको अवस्थाको सही मूल्यांकन गरेर आवश्यक प्रबन्ध गरियो भने यस्तो अप्रिय घटना व्यहोर्नबाट केही हदसम्म मद्दत पुग्छ । सम्बन्धित अधिकारीहरूको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया