Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयरेमिट्यान्सको मुटु जोगाउने अभियान थालौँ

रेमिट्यान्सको मुटु जोगाउने अभियान थालौँ


काठमाडौं । देशको समग्र अर्थतन्त्र नै वैदेशिक रोजगारीमा गएका युवाहरूको हातमा छ । ठूलाभन्दा ठूला आर्थिक संकट आउनबाट जोगाउने हालसम्मको एकमात्र माध्यम नै वैदेशिक रोजगारीमा गएका तिनै युवाहरूले पठाएको रकम हो । यही कारण राज्यले कतिपय अवस्थामा विदेशी मुद्रा सञ्चितिमा बलियो अवस्था देखाउने गरेको छ र त्यसले डुब्नै लागेको अर्थतन्त्र जोगिएको पनि छ । तिनको प्रमुख स्रोत भनेको नै यिनै वैदेशिक रोजगारीमा गएका युवाहरू हुन् । अघिल्लो वर्ष आयातीत व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आयो, जसले राज्यको आम्दानीमा नै गम्भीर असर पा¥यो । तर, यो उताबाट रेमिट्यान्स नआएर होइन, बरु देशभित्रै अर्थतन्त्र चलाउनेहरूको गलत नीतिका कारण थियो भन्ने पछि प्रमाणित नै भयो । पछि सबै आयात खुलाइयो । त्यस्तो बेला पनि सञ्चिति घटेन । यसले नै बताउँछ कि वैदेशिक रोजगारीमा गएकाहरूले रकम नपठाएर होइन, त्यसको परिचालन गर्नेहरूको गलत नीतिले त्यो अवस्था आएको हो । तर, अहिले ती युवाहरुको मुटु संकटमा परेको देखियो । राज्यले यस्ता मुटुलाई जोगाउन अविलम्ब पहल गर्न अवश्यक देखिन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशमा रोजगारीमा गएकाहरूको हृदयाघातका कारण ठूलो संख्याले जीवन गुमाइरहेका अवस्था प्रकट हुँदै छन् । त्यसमा रोजगारदाताले नेपाली श्रमिकका स्वास्थ्य सुरक्षामा पर्याप्त चासो नदेखाएका कारण यस्तो स्थिति आएको भन्ने मन्त्रालयको ठहर छ । मन्त्रालयको विवरणमा विभिन्न देशको वैदेशिक रोजगारीमा गएकामध्ये कामका सिलसिलामा नै पछिल्लो एक दशकमा मात्रै दुई हजार दुई सय सात जनाले हृदयघातका कारण ज्यान गुमाएका छन् । यो विवरण सही हो भने यसलाई सामान्यरूपले लिन हुँदैन ।

हृदयाघातका कारण विदेशमा मृत्यु हुनेको यो संख्या नेपालको भन्दा ठूलो हो । त्यसमाथि सडक दुर्घटना, कार्यस्थल दुर्घटनाका कारण मृत्यु हुनेको संख्या पनि उति नै रहेको देखिन्छ । योभन्दा ठूलो सख्याचाहिँ हृदयघातका कारण मृत्यु हुनेको रहेको छ । त्यस कारण पनि यसलाई कसरी हुन्छ, जोगाऔँ भनिएको हो । मन्त्रालको विवरणअनुसार पछिल्लो पाँच वर्षमा मात्रै पाँच सय ९९ जनाले हृदयाघातका कारण ज्यान गुमाएका छन् । सन् २०१७/१८ मा एक सय ८६ जना, सन् २०१८/१९ मा एक सय १९ जना, सन् २०१९/२० मा एक सय तीन जना, सन् २०२०/२१ मा एक सय एक जना र सन् २०२१/२२ मा ९० जना युवाको ज्यान गएको छ ।

कार्यक्षेत्रमा अकारणले ज्यान जानु कतिपय अवस्थामा आफ्नै कमजोरी पनि हुन सक्तछ तर हृदयघात भनेको त्यस्तो होइन । कतिपय अवस्थामा त हृदयघात हुने सम्भावित कारणहरूको जानकारी गराउन सकिए मात्रै पनि जीवन जोगाउन सकिने अवस्था आउँछ । कार्यस्थलमा यस्तो जानकारीको सुविधा भए/नभएको सम्बन्धित एजेन्सीहरूले अध्ययन गर्न गराउन सक्तछन् । त्यस्तो कार्यको अनुगमन हुनसके धेरैको ज्यान जोगिन सक्तछ । कतिपय अवस्थामा त हृदयघात भएको घण्टौँसम्म उपचार नपाएर जीवन गएका समाचार पनि आउनेगरेका छन् । प्रतिवेदनअनुसार नसर्ने रोग हृदयघातका कारणबारे सरकारले अध्ययन अनुसन्धान नगरेको गुनासो पाइन्छ । खाडी र मलेसियामा धेरै नेपाली युवाले हृदयघातका कारण ज्यान गुमाउन परेको मन्त्रालयको प्रतिवेदनले देखाएको छ । त्यसो भए बढी हृदयघात हुने ठाउँमा त आवश्यक सतर्कताका उपायहरू अपनाऔँ र रेमिट्यान्सका स्रोत मानिएका युवाका मुटु जोगाउने अभियान थालौँ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया