Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसबैको ध्यान कर्णालीमा केन्द्रित गरौँ

सबैको ध्यान कर्णालीमा केन्द्रित गरौँ


काठमाडौं । केही समय पहिले बझाङ र बाजुरामा आएको भूकम्पले सुदूरपश्चिमका केही जिल्लामा पर्ने घरहरूमा पारेको चिराले पछिल्लो समय छिमेकी दुईवटा जिल्लामा ठूलो क्षति गरायो । विगतका उदाहरण हेर्ने हो भने शुक्रबार मध्यरातमा गएको जाजरकोट केन्द्रित भूकम्पले जति क्षति गरायो त्यो स्तरमा क्षति नहुनुपर्ने हो । विज्ञहरूका अनुसार यसअघि गएका भूकम्पले खासगरी माटो र ढुङ्गाका घरहरूलाई आँखाले नदेखिने तर भित्रभित्र चिराचिरा पारेर हल्लाएका थिए । बझाङ भूकम्पको परकम्पको संख्या गणनामा आएको÷नआएको गरी सरदर पाँच सयको हाराहारीमा पुगेका थिए । त्यसबेला छ दशमलव छ स्केलको भूकम्पपछि निरन्तर पराकम्प आएका हुन् । त्यसले पछिल्लोपटक यी छिमेकी जिल्लामा आएको भूकम्प छ दशमलव चारको थियो । तर क्षतिको मात्रा भने सयौँ गुणा बढी भयो । स्थानीय तहबाट रिपोर्ट भएअनुसार क्षतिको आकलन अझै हुन सकेको छैन । यति हो, जाजरकोट र रुकुमका दुई जिल्लामा सग्लाघर बाँकी रहेनन् भने पनि हुन्छ । सबै नागरिक सडकमा झरेका छन् । उद्धार र राहतको व्यापक आवश्यकता देखियो । मध्यरातको समयले पनि समयमा उद्धार नहुँदा बाच्न सक्नेलाई पनि जोगाउन नसकिएको अनुभव सुनाउँछन् स्थानीयहरू ।

शुक्रबार राती ११ं बजेर ४७ मिनेटमा आएको यो भूकम्पले पारेको क्षतिको बारेमा भोलिपल्ट शनिबार पत्रकाहरूसँग कुरा गर्दै नलगाढ नगरपालिका–१, कल्पटका शिवशंकर आधारभूत विद्यालयका प्रधानाध्यापकले गरेको वर्णन सुनियो भने त्यहाँको डरलाग्दो चित्र देख्न सकिन्छ । उनका अनुसार जति घर भत्किएको देखियो त्यसले कोही पनि जीवित नरहनेजस्तो देखाउँछ । भन्छन्, ‘मैले पढाउने विद्यालयका तीन जना बालबालिका भूकम्पमा परे । स्कुल चिराचिरा परेको छ । अब त्यो भवनमा विद्यालय चलाउन सकिने अवस्थै छैन । गाउँमा सबैजसो घर भत्किएका छन् । एकाधबाहेक घर सग्ला छैनन् । भूकम्पले नचर्किएको त घर नै छैन । घरमा पुगेको क्षति हेर्दा यो बस्तीमा धन्न धेरै मान्छेहरू जोगिएछन् भन्नुपर्ने अवस्था छ । मान्छेहरूकै उद्दारमा भ्याइनभ्याइ छ । घरगोठ भत्किएकाले गोठमा रहेका भैँसीबाख्राहरूलाई दाम्लो काटेर बाहिर निकाल्ने अवस्था छैन । भत्किएको घरबाट निकालेको शवलाई नजिकैको अर्को त्यस्तै क्षतिग्रस्त घरमा राख्नुपरको छ । भूकम्प प्रभावितहरू घरबाट निस्किएर खुला बारीमा बसिरहेका छन् । घरभित्र पस्ने र बस्ने अवस्था छैन । चर्केको र क्षतिग्रस्त भएकाले स्कुलमा पनि बस्न भएन ।

उल्लेखित शब्दचित्रले पनि यो भूकम्प कति भयावह रहेछ भन्ने देखाउँछ । यी पङ्क्ति संयोजन भएको बेलासम्म एकसय ६० जनाको मृत्य भएको छ । करिब पचासको हाराहारीमा बालबालिका नै परेको बताइएको छ । एउटा परिवारबाट छ जनाको ज्यान गएको विवरणहरू आएका छन् । एकजना उपमेरले नै ज्यान गुमाइन् । सरकारी निवासमा बसेकाहरूको पनि घरले किचेर ज्यान गयो । सडकमा झरेका मान्छे अत्यावश्यक सामान झिक्नका लागि पनि घर पस्न मानेका छैनन् । घर हेर्दै कतिबेला ढल्ने हो भन्ने भय व्याप्त छ । अहिलेको प्रमुख सवाल हो जेनतेन जोगिएकाहरूलाई उचित बसोबास र भोजन पानीको व्यवस्था । त्यसमाथि उपचारको पनि आवश्यकता देखिन्छ । त्यसै पनि अस्पतालका संख्या थोरै छन् । त्यहीअनुसार चिकित्सकको पनि आवश्यकता पर्ला । केही दिनका लागि त चिकित्सकको संख्या थपिएका छन् तर त्यो कति समयसम्म त्यहाँ बस्छ भन्ने पनि यकिन छैन । यी सबै कुराको निष्कर्ष हुन्छ अब सबैको ध्यान कर्णाली केन्द्रित हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया