Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमानवीय क्षति रोकौँ

मानवीय क्षति रोकौँ


काठमाडौं । जाजरकोट भूकम्पले खासगरी दुई जिल्लामा ठूलो मात्रामा मानवीय र भौतिक क्षति पु-यायो । यी जिल्लाका विभिन्न स्थानमा गरी दुई सय ५४ जनाको ज्यान गयो भने करोडौँ मूल्यको पशुचौपायाको पनि क्षति भएको छ । यी दुई जिल्लाका सीमित गाउँ तथा नगरमा साठी हजारको संख्यामा घरहरू ध्वस्त भए । मानिसका दैनिक गुजाराका लागि घरभित्र राखिएका खाद्यान्नदेखि लत्ताकपडा आदि पनि घरका भित्ता भत्किएर पुरिएको अवस्थामा छन् । भूकम्प गएको करिब दुई हप्तासम्म पनि त्यस्ता सामग्रीहरू घरबाट झिक्न नसकिएका समाचारहरू आइरहेका छन् । यसका कारण त्यसपछि जारी रहेको निरन्तरको पराकम्प र त्यसले दिएको मानसिक त्रास पनि अझ बढी रहेको छ । पहिले आएको ठूलो भूकम्पले घरहरूमा जे–जस्ता चिरा पारेको थियो । त्यसपछि आएको पराकम्प भनिएको अर्को भूकम्पले त्यसलाई खण्डहर बनाइदिएको भन्ने विवरणहरू आइरहेका छन् । यसले पनि मानिसहरू आफ्ना घरभित्र पुरिएका सामग्री लिन जाने आँट गर्न नसकेको अवस्था छ । कतिसम्म भने पालमा बसेकाहरूले नियमित औषधी पनि झिक्न सकेका छैनन् ।

यही अभावका बीचमा थप मानवीय क्षति बढ्न सक्ने अवस्थाहरू प्रकट हुँदै आएका छन् । जसप्रति राज्यको ध्यान गम्भीररूपले गएकोजस्तो देखिएन । भूकम्प गएको यो दुई हप्ताको बीचमा मात्र भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच जनाको अत्यधिक चिसोका कारण र त्यसबाट जोडिन आवश्यक न्याना कपडाहरू नभएका कारण मृत्यु भयो । त्यसमा शुक्रबार दुई जना र गत बुधबार एक जना तथा अघिल्लो शुक्रबार दुई जनाको गरी एकहप्ताका बीचमा चिसोका कारण पाँच जनाको मृत्यु भइसकको छ । समग्र राज्यको ध्यान यो भूकम्पबाट नागरिकलाई उद्धार गर्ने भूकम्पका दिन जे–जसरी जोगिएका होइन । उनका जीव्न यसरी अरू कारणले जान नपाओस् भन्ने तर्फ केन्द्रित भएको थियो भने यस्तो दुःखद् अवस्था आउनु हुने थिएन । उल्लेखितरूपले मृत्यु भएका पाँचै जना भूकम्पका घाइते होइनन् । भूकम्पबाट घाइते भएकामध्ये अहिलेसम्म एकजनाको मात्र मुत्यु भएको छ । यतिबेलासम्म घाइतेको उपचारमा चिकित्सकहरू दत्तचित्त भएर लागेका यी उदाहरण हुन् । घाइतेको संख्या पनि निकै ठूलो थियो । तीमध्ये उपचार पाएर घर फर्किसकेका छन् । तर उनीहरूको पनि वासस्थानको अभाव र त्यहीँ उचित रेखदेख नभएका कारण त्यो जीवन पनि जोगिने हो कि होइन भन्ने चिन्ता बढेको अवस्था छ । उनलाई यतिबेला विशेष निगरानीको खाँचो पर्छ । अहिलेको अवस्थामा त्यो सम्भव हुनेजस्तो देखिएको छैन । त्यसकारण राज्यको ध्यान जाओस् भनिएको हो ।

भूकम्पपछि शिविरमा बस्दा चिसोले ज्यान गुमाएकाहरूमा बढी वृद्धहरू छन् । पाँचमध्ये एकजना मात्र पचासभन्दा कम उमेरका छन् । अरू असीको हाराहारीका रहेका पाइयो । तर सबैको मृत्यु भने निमोनियाबाट भएको छ । उनीहरूले समयमा तातो पाएका थिए भने योजीवन कम्तीमा यो बेलाचाहिँ जोगिने थियो भन्ने चिकित्सकहरूकै निश्कर्ष आयो । यतिबेला भूकम्प प्रभावित क्षेत्रमा निमोनिया एउटा महामारीका रूपमा नै फैलिरहेको स्थलगत अध्यनहरूले देखाएका छन् । एउटा पातलो पालभित्र बसेको कुनै पनि परिवारमध्ये तीनचार जना नै यो रोगले ग्रसित रहेको भन्ने देखियो । खासगरी सुत्केरी आमा र महिना दिन पनि नपुगेको बालकलाई जोगाउने चुनौती डरलाग्दो रहेको उद्धारमा खटिएकाहरू र स्थलगत रिपोर्ट गरिहेकाहरूको अनुभव छ । यतिबेला सातमध्ये छ वटा प्र्रदेशले जस्तोसुकै सहयोगका लागि तयारी अवस्थामा रहेको बताइएको छ । त्यसो हो भने जिम्मेवारी र क्षेत्र बाँडेर राहत पु¥याउँ र कम्तीमा थप मानवीय क्षति हुनबाट रोकौँ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया