Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारले गल्ती नदोहोर्याओस्

सरकारले गल्ती नदोहोर्याओस्


काठमाडौं । संसारमा जहाँ पनि युद्ध चल्छ त्यहाँ मारिने नेपाली पर्ने सम्भावना हुन थालेको छ । त्यसमा पनि अझ दुःखद् पक्ष के हो भने युद्ध चलिरहेको र युद्धको सम्भावना रहेका देशहरूमा नेपालले औपचारिकरूपमा रोजगारीका लागि श्रम स्वीकृति र लेखन, पढन तथा त्यसबाट कमाइ गर्न भन्दै त्यसलाई पनि अनुमति दिइँदा पूर्वदेखि पश्चिम भूभाग नै यतिबेला शोकमा डुबिरहेको छ । दुई महिनाअघि इजरायल–गाजा युद्धमा त्यसबारे कतै सरोकार नै नरहेका १० जना विद्यार्थीहरूले ज्यान गुमाउनुप¥यो । एक जना अझै बेपत्ता छन् । तिनका परिवार र आफन्त जनमा कस्तो बितिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ । युद्धको चेपमा परेर पनि ज्यान जोगाउन सफल भएकाहरूलाई परराष्ट्रमन्त्री आफैगएर उद्धार गरे । निश्चय नै यो राम्रो पक्ष हो । तर मानिसहरूको लास ल्याउन लामै समय लाग्यो र त्यो पनि खाइखटाइ गरेर आयो । यसले शोकलाई झनै विस्तार गरेको देखायो । यो युद्ध नेपाली नमारिएको भए नेपालीका लागि धेरै चासो रहने थिएन ।

पछिल्लो समय रुस र युक्रेन युद्ध नेपालका लागि अर्को पीडा भएर आएको छ । अहिलेसम्म नेपालीहरू मारिएका संख्या यकिन हुन सकेको छैन । एक दर्जन नामहरू भने आइसकेका छन् । यो क्रम निरन्तर बढिरहने देखिन्छ । सरकारबाट श्रम स्वीकृति नै लिएर कतिजना र मानव तस्करीबाट कतिजना युद्ध चलिरहेका यी देशमा पुगेका छन् भन्ने कतै रेकर्ड नै छैन । रुस र युक्रेनबीच युद्ध चलेको दुई वर्ष भयो । यता सरकारले भने यी देशमा अस्तिसम्म नै अनुमति दिइरहेको रहेछ । गएको हप्ता मात्रै सरकारले एउटा वक्तव्य निकालेर यी देशमा रोजगारीका लागि जान नदिने गरी श्रम स्वीकृति स्थगन गरेको सूचना दिएको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गरेको छ । यसको अर्थ हो विभागलाई पनि यो युद्धबारे जानकारी थियो । विभागले हाल रसिया तथा युक्रेनबीच युद्ध भइरहेको तथा नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भई युद्धमा दुःखद् निधन भएको समाचारहरू विभिन्न समाचार पत्रमा आइरहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भइरहेकाले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिकहरू रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको जनाएको छ ।

जुनबेला यी देशमा युद्ध सुरु भयो त्यसैबेला यस्तो सूचना आएको भए कम्तीमा युद्धभूमिमा जान राज्यले निरुत्साहित गरको भन्ने अर्थ लाग्थ्यो । तर युद्ध चर्किएको दुई वर्षसम्म सरकार मौन रह्यो मात्रै होइन यी देशमा जान पे्ररित समेत गरिह्यो । श्रम स्वीकृति दिनुभनेको प्रेरित नै गर्नुृ हो । युद्ध सुरु भएपछि अहिलेजस्तो वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिकहरू रसिया जाँदा हुन सक्ने क्षतिको ख्याल गरिएको भए त्यति टाढाको भूभागमा भएको युद्धमा नेपाल यसरी रुनुपर्ने थिएन । जुनदिन एउटा नेपाली मान्छे लासमा परिणत भएको समाचार आउछ, एउटा पूरैगाउँ रुवावासीमा डुव्छ । यहीँबाट प्रश्न उठ्छ यसको दोषीको हो ? यसको प्रष्ट उत्तर छ, सरकार नै दोषी हो र सरकारकै गल्ती हो । यस्तो गल्ती सरकारले फेरि नदोहोर्याओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया