Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपारदर्शिताको कसीमा बजेट

पारदर्शिताको कसीमा बजेट


कम्युनिष्ट पर्टीको सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैँ बजेट प्रस्तुत गरेको छ । बजेटको आकार प्रकार कस्तो हो, यसले निर्धारण गरेका लक्षहरूले देशको आवश्यकता के–कति मात्रामा सम्बोधन गरेका छन् वा छैनन्, प्रस्ताव गरेका साधनस्रोत कसरी जुट्ला भन्ने विषयहरू यतिबेला गम्भीर छलफलमा छन् । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो । बजेटका बारे सबैका आ–आफ्ना धारणा हुन्छन् । तर, समग्रमा बजेट सफल र असफल भयो भने त्यसले प्रभाव पार्ने क्षेत्र भनेको देश र समाज नै हो । बजेट पारित गर्ने सन्दर्भमा यो छलफलले संसद्लाई सहयोग गर्ने भएकाले यस्तो छलफललाई सकारात्मक नै मान्नुपर्छ । संसद्ले पारित नगरुन्जेल यो संसद्मा सरकारले प्रस्तुत गरेको एउटा प्रस्तावको हैसियत मात्र राख्छ । त्यसकारण यस्तो छलफल बजेटकै एउटा अंगका रूपमा रहिआएको छ ।

विगतमा पनि यस्तै हुन्थ्यो, बजेट आएर संसद्बाट पारित नहुन्जेल खुला छलफल चलिरहन्थ्यो । बजेटमा पारदर्शिताको अवस्थाबारे यसपटक विगतभन्दा केही भिन्न विषय प्रस्तुत भएको पाइएको छ । सरकारले आउँदो वर्षको बजेटको तयारी र त्यसलाई प्रस्तुत गर्ने सन्दर्भ चलिरहँदा एउटा अध्ययनले बजेटको पारदर्शितामा नेपालको परिसूचक घटेकोदेखियो । एउटा अन्तर्राष्ट्रिय संस्थाले हालै सार्वजनिक गरेको बजेट सर्वेक्षण प्रतिवेदनले नेपालको केन्द्रीय बजेट पारदर्शिता घट्दै गएको भनेको छ ।

बजेट भनेको सरकराले प्रस्तुत गरे पनि संसद्ले पारित गरेपछि मात्र त्यसको हैसियत कायम हुन्छ । संसद् भनकै पारदर्शिताको बढीभन्दा बढी सन्दर्भ जोडिने संस्था हो । उल्लेख भएको प्रतिवेदनअनुसार नेपालको बजेट पारदर्शिताको अंक एक सयमा नेपालले ४१ अंक पाएकोदेखियो । अध्येताहरूका अनुसार सर्वेक्षणमा समावेश विश्वका एक सय १७ मुलुकमध्ये पारदर्शिता श्रेणीमा नेपाल ६५औं स्थानमा रहेको छ । हरेक दुई वर्षमा गरिने यो सर्वेक्षणमा सन् २०१८ को अन्तिमसम्म प्रकाशित बजेट दस्तावेज, कार्यक्रम गतिविधि र परिवर्तनलाई समेटिएको बताइएको छ । बजेटका प्रक्रियामा नागरिक सहभागिता परिसूचकमा नेपालले २२ अंक प्राप्त गरेको छ भने बजेटमा स्वतन्त्र निगरानी निकायको भूमिका परिसूचकमा ४८ अंक आएको छ । प्रतिवेदनअनुसार दक्षिण एसियामा अफगानस्तान ५० अंकसहित पहिलो स्थानमा रहेको छ भने भारत ४९ अंकसहित दोस्रो, श्रीलंका ४७ अंकसहित तेस्रो, नेपाल ४१ अंकसहित चौथो, बंगलादेश ३६ अंकसहित पाँचौ र पाकिस्तान २८ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

यही प्रतिवेदनअनुसार यो अघिल्लो वर्ष सन् २०१७ को सर्वेक्षणले नेपाल ५२ अंकसहित दक्षिण एसियामा नै पहिलो स्थानमा थियो । पछिल्लो सर्वेक्षणमा बजेट सूचनाको उपलब्धतामा कमी भएको पाइएकोले परिसूचकमा कमजोरदेखिएको हुनसक्छ । जे होस् पारदर्शिताका सन्दर्भमा कुनै पनि विषयमा कम अंक आउँछ भने त्यो ठाउँमा लोकतान्त्रिक सरकारले आफूलाई सच्याउनुपर्छ । अहिले त संसद्मा बजेट आउनै लागेको बेला सरकारलाई सतर्क तुल्याउने गरी यो प्रतिवेदन आएको छ । यस्तो पारदर्शिताको कसीमा यो बजेट सफल होस् भन्ने कामना गरौं । हरेक कुरा पारदर्शी भयो भने सरकारको भ्रष्टाचार हुन नदिने भन्ने नाराले पनि सार्थकता पाउँछ । बजेटमाथि संसद्मा छलफल हुँदा यो पक्षलाई पनि ख्याल गरियोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया