Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रकोप नमानिएको ‘डढेलो प्रकोप’

प्रकोप नमानिएको ‘डढेलो प्रकोप’


काठमाडौं । सतहत्तरमध्ये चौहत्तर जिल्ला आगलागी र डढेलोको प्रकोपमा परेका छन् । कतिपय ठाउँमा गाउँबस्ती नै खरानी भएका छन् भने अझै कति जोखिमपूर्ण अवस्थामा देखिन्छन् । नागरिक तहबाट यो प्रकोप फैलिन नदिन गरिएका प्रयास प्रभावकारी हुन सकेका छैनन् । केन्द्रीय राजधानीकै एक ठाउँमा लागेको आगो निभाउने प्रयत्न गर्दा लप्काले भेटेर दुई जनाको ज्यान गयो । पछिल्लो जानकारीअनुसार यतिबेला आगलागीको विस्तार सबैतिर भइसकेको छ । ७४ जिल्लामा मात्रै एक हजार चार सय ११ वटा आगलागीका घटना भएको रेकर्ड कायम भएको छ । अवस्था कस्तोसम्म भने एउटा आगलागीबाट एउटा बस्तीका दुई सय हाराहारीमा घर जलेर नष्ट भएको भन्ने समाचार अब सामान्य भइसकेका छन् । यो कुनै एक ठाउँ मात्रैको कुरा होइन । यस पटकको आगलागीले सबैतिर यस्तै क्षति पु¥याइरहेको छ । घर जलेर नष्ट भएका परिवारहरू हरेक बिहानबेलुका के खाने र कसरी रात कटाउने भन्ने चिन्तामा छन् । सबै बस्ती जलेको ठाउँमा त्यही भित्रबाट केही सहयोग हुने देखिँदैन ।

यस्तो विपद्लाई सरकार भने प्रकोप मान्न समेत तयार भएको देखिँदैन । न प्रदेश, न केन्द्र कतैबाट पनि राहत वितरणको चर्चासमेत भइरहेको छैन । स्थानीय निकायले केही राहत दिएका होलान् तर त्यसले पुग्ने अवस्था छैन । भूकम्प र बाढी पहिरो गएका बेला सरकार तत्कालै राहतका प्याकेज बोकेर घटनास्थलमा नै पुग्ने गर्थे । तर डढेलो भने उनका लागि प्रकोप मानिएको अवस्था छैन । अत्यधिक गर्मीले स्थानीय बासिन्दा एकसरो लुगामा हुन्थे । घर जले पनि उनका साथमा त्यसबाहेक केही बाँकी रहेको देखिएन । पालिका र जिल्ला प्रशासनले पीडितहरूको व्यवस्थापन गरिएको बताएका छन् । यता पीडितले भने एउटा पाल समेत पाउन सकेका छैनन्, जसले उनको बसाइँ खुला आकाशमा नै भइरहेको भन्ने समाचार आइरहेको पाइन्छ ।

गृह मन्त्रालयको अभिलेखअनुसार यस्तो आगलागी गएको फागुनदेखि नै सुरु भएको हो । चैत १८ देखि वैशाख १८ सम्म मात्रै साढे एक हजार आगलागीका घटना भएका छन् । लुम्बिनी तीन सय ९९, कोशी तीन सय २६, मधेश प्रदेश दुई सय ८१, बागमती एक सय ३८, कर्णालीमा एक सय चार, गण्डकीमा ९३ र सुदुरपश्चिम प्रदेशमा ७० स्थानमा आगलागी भएको छ । यो मितिसम्मको तथ्याङ्कअनुसार आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ भने ९० जान गम्भीर घाइते भएका छन् । छ सय ८३ वटा घरगोठ र नौ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन् भने आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कले बताएको छ ।

यति ठूलो मानवीय र भौतिक क्षतिलाई सामान्य आँक्न हुँदैन । माथिको विवरणले आगजनी नभएको कुनै प्रदेश देखिँदैन । मौसमविद्का अनुसार यस्तो प्रकोप अझै लामै समय रहने सम्भावना छ । पछिल्ला दुई सातादेखि तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ, लुम्बिनीको तराईका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । कतिपय ठाउँमा स्कुल कलेजहरू पनि बन्द भएका छन् । यस्तो बेला राज्यले यो प्रकोपलाई राष्ट्रिय प्रकोपका रूपमा लिएर उद्धार र राहतलाई युद्धस्तरमा चलाउनुपर्ने हो तर त्यस्तो भएको देखिँदैन । यतिबेला सम्भावित प्रकोप फैलिने गाउँबस्तीको निगरानी गर्न आवश्यक देखिन्छ भने पीडितको तत्कालै उद्धार आवश्यक छ  । यसतर्फ अविलम्ब सरकारको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया