Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्री निवासबाटै कोरोना भ्रम

प्रधानमन्त्री निवासबाटै कोरोना भ्रम


बालुवाटार यतिबेला धेरै चर्चामा आइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकको कारण यस्तो चर्चा भएको हो । एउटा त प्रधानमन्त्री निवासमा सरकारी खर्चको खाजापानी खाएर यस्तो बैठक चल्यो भन्नेमा चर्चा भएको हो । दोस्रो, सत्तारुढ दलको यस्ता ठूलो र निर्णायक बैठकमा देशले तत्काल भोग्नुपरेको कोरोना संकटका बारेमा पाँचौँ बैठकसम्म एक शब्द पनि बोलिएन । असार १० मा सुरु भएको यो बैठक अझै कति दिन चल्ला तर आठ दिनसम्म कोरोनाको विषयले प्रवेश नै पाएन । जब कि यसमा सरकारी बेवास्ताको चरम भयो भनेर यही बेला सडक आन्दोलन र अनसनसमेत चलिरहेको आवस्था छ ।

त्यो सत्य पनि हो । त्यस्तो किन पनि भने एउटा पुरिया जीवनजल नदिइएका कारण मान्छेका ज्यान गएका घटनाहरू यहीबेला सार्वजनिक भइरहेका थिए भने यता औषधि उपचारका वस्तु आयतमा व्यापक भ्रष्टाचार भएको भन्ने विवरणहरू सार्वजनिक भैरहेका थिए । क्वारेन्टाइनको बास त उल्लेख गर्नै नपर्ने विषयमा परिसकेका छन् । यस्तोबेला सत्तारुढ दलको स्थायी समिति बैठकमा यतिलामो समयसम्म कुरा पनि नउठ्नु एउटा गम्भीर विषय हो ।

तर, कोरोनाको नामै नउठेको चाहिँ होइन । कोरोनाबुटी अर्थात् कोरोनाजन्तर यो बैठकको पहिलो दिन नै चर्चामा आएको विषय हो । यो बैठकका सहभागीहरूका घाँटीमा जब यस्तो जन्तरले ठाउँ पायो त्यसपछि त एउटा करिब–करिब डरलाग्दै भन्ने खालको माहोल खडा भयो । यो थियो, बैठकको पहिलो दिन नै सहभागी नेताहरूले भाइरस भगाउने भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको देखिएपछि त्यो विषयमा मन्त्रालयले वक्तव्य नै जारी गरेर यस्तो भ्रममा नपर्न भनी सर्वसाधारणलाई ध्यानाकर्षण गरायो । प्रधानमन्त्री निवासमा भएको बैठकमा यस्तो भ्रम फैलाउने काम हुन्छ भने अनुमान गरौं, त्यो सरकराले कोरोनाका बारेमा कस्तो धारणा बनाएको होला ? त्यसबाट यो रोगको रोकथाम कसरी चलेको होला ?

मन्त्रालयले आफ्नो वक्तव्यमा भनेका छ, ‘कोरोना रिमुभिङ कार्ड’मा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्छ । मन्त्रालयका प्रवक्ताका अनुसार ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने कसैको भ्रममा परी यसको प्रयोग नगर्न अनुरोध गरिन्छ । उनले अगाडि भने संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।

यसले नै बुझाउँछ सत्तारुढ दलको यो तहको बैठकले एकातिर कोरोनाबाट पीडित नागरिकहरूको क्रन्दन सुनेन भने अर्कातिर भ्रम फैलायो । तर, पहिलो दिन नै यस्तो कारबाहीयोग्य भन्ने काम भयो । प्रधानमन्त्रीको निवासमा र यता त्यस्तो काम गरेबापत कारबाहीचाहिँ कसैमाथि पनि भएन । यसले कोरोनामा सरकार वास्तवमा नै नागरिक र आफ्ना लागि भिन्नाभिन्नै मापदण्डमा चलिरहेको भन्ने बुझाउँछ । यसमा ‘जो अगुवा उही बाटो भन्ने’ भन्ने उखान चरितार्थ भएको छ । मन्त्रालयले भनेअनुसार यो ‘भाइरस रिमुभिङ कार्ड’ वास्तवमा नै कोरोनाभन्दा पनि खतरनाक देखिन्छ । प्रवक्ताको भनाइमा नै अहिलेसम्म कुनै पनि यसकिसिमको कार्ड पत्ता लागेको छैन । प्रधानमन्त्रीको निवासबाट नै यस्तो काम हुन्छ भने यसको संवेदनशीलताप्रति सरकार उदासिन रहेको योभन्दा अर्को उदाहरण नहोला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया