Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमेलम्ची सुरुङको गुणस्तरमा प्रश्न

मेलम्ची सुरुङको गुणस्तरमा प्रश्न


सरकारले मेलम्ची खानेपानी आयोजनामा गरेको खेलाँची र हेलचेक्र्याइँको कारण गत असार ३० गते मुख्य सुरुङमार्गभित्रको ढोका फुटेर एक जना बेपत्ता, दुुई जना घाइते र एक जना मृत भेटिए । त्यसदिन सिन्धुुपाल्चोकको अम्बास्थस्ति मुख्य सुरुङको १७ नम्बरको ढोका फुटाएर पानीले मानिस बगाएको थियो ।

गत असार २९ गते मेलम्चीको पानी सुरुङमा पठाएर परीक्षण गरिएको थियो र त्यसलाई खानेपानी मन्त्री बिना मगरले निकै महत्वका साथा बढाइचढाइ गरेर प्रचारबाजी गरेकी थिइन् । मेलम्चीबाट दैनिक लगभग ५४ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने योजना छ र त्यसका लागि २७ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको हो । यसका लागि अहिलेसम्म झण्डै २० अर्ब रूपैयाँ खर्च भइसकेको छ । पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा झर्नेछ भने दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्केको पानी झार्दा दैनिक ५४ करोड लिटरसम्म पुग्नेछ । ती सबै पानी यही सुरुङबाट आउनेछन् र सुरुङमा साना–ठूला गरी ३४ वटा यस्ता ढोका रहेका छन् ।

तीमध्येको अम्बाथानको ढोका अहिले पानीले भत्काइदिएको हो । त्यस्तै ढोका ग्याल्थुुम र सिन्धुु अडिटको पनि छन् । यी ढोकाको डिजाइन, निर्माण र जडान गर्ने जिम्मा भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडलाई दिइएको थियो । तर सुरुङ निर्माण गर्ने ठेक्काचाहिँ सन् २००९ मा चाइना रेल्वे १५ न्युरो ग्रुप जेभीलाई दिइएको थियो । सरकारले त्यसलाई काम गर्ने वातावरण नै बनाइदिएन । अनावश्यक तनाव मात्र दियो । त्यही कारण उसले २०७० सालमा सम्झौता तोड्यो । त्यसपछि इटालियन कम्पनी कोअपरेटिभ मुराटोरी डिरेभेन्ना (सीएमसी) बाँकी कामको ठेक्का दियो । त्यसले पनि स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण नै पाएन ।

सरकारका मन्त्री र सचिवले अनावश्यक तनाव दिएको आरोप लगाएर त्यसले पनि सम्झौता तोडेर २०७५ पुुस एक गते फर्कियो । सुरुङ निर्माणको बाँकी काम त्यसपछि चाइना सिनो हाइड्रोलाई दिइयो । त्यो पनि मूल्य बढाएर । त्यसले सुरुङ निर्माणको काम पूरा गरेपछि गत असार २१ गते मेलम्ची आयोजनाले परीक्षणको रूपमा सुरुङमा पानी हाल्यो । त्यसको नौ दिनपछि अर्थात् असार ३० गते सुरुङको १७ नम्बर गेटमा त्यस्तो दुुर्घटना भयो ।

काठमाडौँ उपत्यकामा बढ्दो जनसंख्याका कारण खानेपानीको समस्या हुुने अध्ययन विसं २०२९ सालमा नै गरिएको थियो । सम्भाव्यता अध्ययन गर्दै जाँदा २०४१ सालमा मेलम्चीसहित २२ वटा विकल्प पहिचान भएको थियो र २०४९ सालमा मेलम्चीको याङ्ग्री र लार्के खोलाको पानी सुरुङ बनाएर काठमाडौँ ल्याउन उपयुुक्त हुुने निष्र्कष निकालिएको थियो । त्यही निष्र्कषअनुसार २०६६ सालमा मात्रै सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजल छिचोल्ने २७ दशमलव पाँच किलोमिटर लामो सुरुङको निर्माण प्रक्रिया अघि बढाइएको थियो । सुरुङ निर्माण गर्न थालेपछि आठ पटक सरकार परिवर्तन भइसकेका छन् र सबैले त्यसमा आँखा लगाइरहेका छन् । यही आयोजनाका कारण एक जना तालुुकवाला मन्त्रालयका सचिवले झुण्डिएर आत्महत्या समेत गरेका थिए । खान पल्लेकाहरूले लुछ्दालुछ्दै ठेकेदार कम्पनीहरूले काम छाडेर हिँडेका मात्र छैनन्, निर्माण कार्यको गुणस्तर पनि खस्केको रहेछ ।

त्यसको पछिल्लो प्रमाण गत असार ३० गते १७ नम्बर गेट भत्कनुु हो । यति थोरै पानी छाड्दा त यसरी सुरुङको गेट नै भत्कन्छ भने पूरै पानी त्यो सुरुङ र गेटले थेग्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ । तसर्थ सरकारले यथासिघ्र अन्तर्राष्ट्रिय विज्ञहरूलाई बोलाएर सुरुङको गुणस्तर परीक्षण गर्नुुपर्दछ । अन्यथा खेलाँचीको परिणाम भयावह हुुन सक्दछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया