Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबालुवाटारमा कोरोना प्रवेशको स्रोत खोजियोस्

बालुवाटारमा कोरोना प्रवेशको स्रोत खोजियोस्


कोरोना संक्रमण डरलाग्दो आकारमा परिणत हुँदै गरेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामा एउटा अर्को घटनाले थप भय उत्पन्न गरेको छ । पछिल्लो पटक सबैभन्दा सुरक्षित मानिएको कडा सुरक्षा घेराभित्र रहेको प्रधानमन्त्री निवासमा सवा सयजतिको परीक्षण गरिएकोमा ७० जनाको हाराहारीमा कोरोना संक्रमण देखियो । प्रधानमन्त्री भने स्वास्थ्यका कारणले पहिलेदेखि नै धेरै सतर्क रहेका भन्ने विवरणहरू सर्वसाधारणको जानकारीमा आइरहेका छन् । प्रधानमन्त्री संलग्न हुने हरेक कार्यक्रम निवासको घेराभित्र नै सम्पन्न हुनेगरेका भन्ने त विगतदेखिकै सत्य हो ।

गएको चैत महिनायता प्रधानमन्त्री निवासबाट बाहिर निस्किएका भन्ने जानकारी अपवाद मात्रै होला । पछिल्लो समय यो दलको सचिवालयको बैठक एक पटक पेरिसडाँडामा बसेको थियो । त्यसपछि फेरि त्यो बैठक बालुवाटारभित्रै बस्ने तय भएको छ । यस्तोमा निवासभित्र कोराना कसरी प्रवेश भयो भन्ने आफैँमा एउटा प्रश्न हुन सक्छ । यद्यपि प्रधानमन्त्री भने जोगिएको अवस्था छ । तर उनका वरिपरिका सबैमा यो संक्रमण देखियो ।

यसमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार, विदेश मामिला सल्लाहकार, प्रेस सल्लाहकार र स्वकीय सचिवमा कोरोना पुष्टि भयो । यसअघि बालुवाटारभित्रकै फोटोग्राफर मात्र होइन चिकित्सकमा समेत कोरोना देखिएको छ । यो समूह भनेको प्रधानमन्त्रीको धेरै नै निकट रहने समूह हो । उनीहरू आफैँले सामाजिक सञ्जालमार्फत आफूहरूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

यो राजनीतिक समूह मात्र होइन प्रधानमन्त्री निवासको सुरक्षामा खटिने भित्री घेरामा रहेका सुरक्षाकर्मीहरूको पनि ठूलो संख्या संक्रमित भएको देखियो । यसमा नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ तथा राष्ट्रिय अनुसन्धान विभागका दुई जना गरी ६७ जनामा कोरोना पुष्टि भयो ।

अहिलेसम्म सरकारी घेरामा एकैपटक यति ठूलो संख्यामा संक्रमण देखिनुले प्रधानमन्त्री निवासमा कोरोनाको सतर्कता कस्तो छ भन्ने कुरा देखाउँछ । यसअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक र फोटोग्राफरलाई कोरोना पुष्टि भएपछि निवासमा कोरोना प्रवेश गरेको संकेत प्राप्त भइसकेको थियो । त्यसबेला उनीहरूलाई कोराना पुष्टि भएपछिको एक/डेढ हप्तापछिको कुरा हो यो । अहिले अनुमान के छ भने यस्तो परीक्षण गर्न नै ढिलाइ भयो ।

बालुवाटारमा कोरोना देखिएको यो घटनाले एक पटक फेरि कोरोना परीक्षणको अहिलेको दररेटमाथि प्रश्न खडा हुन्छ । बालुवाटारको सुरक्षा घेराभित्रबाट यति ठूलो संख्याको संक्रमण भेटिएको अघिल्लो दिन काठमाडौंमा संक्रमितको संख्या यो बेलासम्मको सर्वाधिक थियो ।

शनिबारसम्म देशभर २१ हजार तीन सय दुई जना सक्रिय संक्रमित रहेको अवस्थामा काठमाडौं उपत्यकामा मात्रै १२ हजार दुई सय ५४ जना सक्रिय कोरोना संक्रमित पुष्टि भएको अवस्था छ । काठमाडौं उपत्यकाको उक्त सक्रिय संक्रमितको संख्या कुल संक्रमितको ५७ दशमलव ५२ प्रतिशत हो । काठमाडौं यसकारणले बढी चर्चामा छ, यो केन्द्रीय राजधानी हो भने सबैभन्दा बढी शिक्षित जनसंख्या रहेको ठाउँ पनि यही हो । अब त योभन्दा झनै बढी सुरक्षित मानिएको ठाउँ प्रधानमन्त्री निवास नै सबैभन्दा असुरक्षित रह्यो ।

यसले एकप्रकारले सरकारको कमजोरीलाई नै देखाउँछ । समाजमा थप भय सिर्जना गर्छ । त्यसकारण कुन स्रोतबाट कोरोना संक्रमण बालुवाटार प्रवेश ग-यो त्यो पत्ता लगाउन जरुरी छ । कहाँ र कोबाट हेलचेक्र्याइँ भएको छ त्यो पत्ता लागाउन जरुरी छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार सरकारले अपनाएको मापदण्ड निवासले पालना गरेन । वास्तवमा त्यसै हो भने यो अनुसन्धानको विषय हुन जान्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया