Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकमिसनको आरोपमा मौन रहनु सुशासनलाई चुनौती

कमिसनको आरोपमा मौन रहनु सुशासनलाई चुनौती


देशको सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माणको प्रस्ताव भएको १० वर्षभन्दा बढी भयो । ६७ सालमा यसको डीपीआर तयार भएको थियो । त्यसयता यो आयोजना कमिशनको खेलमा खुलारूपले प्रयोग हुँदै आयो । कहिले आफैँ बनाउने त कहिले अरुलाई दिने, फेरि आफैं बनाउने अनि फेरि अरुलाई दिने गर्दागर्दै गएको दुई वर्षदेखि त यो आयोजना लापत्ता नै भयो । ७५ असोज ६ मा वर्तमान सरकारले एउटा विदेशी कम्पनीलाई बिनाप्रतिस्पर्धा दिने गरी निर्णय भएपछि आफैँ बनाउने भन्ने कुरा त समाप्त भयो । अझै के हुने हो भन्ने अन्योल कायमै छ । त्यसबेला दुई खर्ब ६० अर्बमा बन्ने भनिएको आयोजनाको लागत कति बढ्ने हो भन्ने अर्को पक्ष त छँदै छ ।

यस्तो बेला यो आयोजनाको एउटा चरण पार गराएका पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सार्वजनिकरुपमै एउटा नयाँ कुरा खुलासा गरे । त्यो थियो, यो परियोजनाका नाममा वर्तमान र पूर्व गरी तीन जना प्रधानमन्त्रीले तीन/तीन अर्बका दरले रकम बाँडेर खाएको भन्ने । यो आरोप एक जनाबाहेक अहिलेसम्म खण्डनमा आएको छैन । यसको कुल रकम नौ अर्ब हुन्छ । आरोप लगाउने र खेप्ने दुवै पक्षको हैसियत उच्चस्तरको हो भने यो आरोपले एउटा निकास पाउनुपर्ने धारणा राखेका छन् आम नागरिकले । तर त्यो धारणा पनि निरुत्तरित नै रहेको छ ।

यी आरोपीमध्ये एक जना पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिए पनि वर्तमान प्रधनमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने मौन छन् । यो विषय मौन बस्न मिल्ने थिएन । आरोपी भट्टराईले उनको निर्वाचन क्षेत्रको एउटा कार्यक्रममा ‘बुढीगण्डकी जलविद्युत् परियोजना प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले अर्बौं रकम कमिसन खाएर अलपत्र पारेको’ भनी लगाएको आरोप त्यसको प्रकृति हेर्दा हो कि जस्तो देखिन्छ । यो आयोजना जसरी भनियो वास्तवमा त्यो अलपत्र नै छ । यस्तो बेला भूतपूर्वले भन्दा वर्तमान प्रधानमन्त्रीले आरोपको अवस्था प्रस्ट पार्नुपर्ने हो तर अहिलेसम्म त्यस्तो भएको देखिएन ।

विपक्षी दलका नेताको पार्टीले भने ‘बुढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ भनेर सार्वजनिक वक्तव्य नै दियो । त्यसमा कमिशन लिएको कुरा प्रमाणसहित पुष्टि गर्न चुनौती दिँदै उक्त विषयबारे अख्तियारले गहिरो अनुसन्धान गर्नुपर्ने धारणा पनि राखिएको छ । सत्तापक्षका नेताहरू भने यसमा मौन नै बस्न रुचाए ।

यो घटनामा आरोप लागेका यी कुनै प्रतिक्रियाविहीन अवस्थामा रहेका नेताहरू दुवैले यो आयोजनालाई कुनै एउटा कम्पनीका हातमा बिनाप्रतिस्पर्धा सुम्पिएका थिए । यसले शंका गर्ने ठाउँ दियो । आरोप लागिसकेपछि जस्तो होस् यदि त्यसलाई अस्वीकार गर्ने हो भने त्यसको प्रतिवाद हुनुपर्छ । त्यस्तो केही भएन । यो ठाउँमा आरोप लगाउने पनि कठघरामा उभिनुपर्छ यदि त्यो गलत हो भने । आरोपितले त मौन बस्न मिल्दै मिल्दैन । तर बसिरहिएको अवस्था छ । यो सुशासनका लागि चुनौतीको रुपमा देखिएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया