Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबेरोजगारीको डरलाग्दो अवस्था

बेरोजगारीको डरलाग्दो अवस्था


काठमाडौं ।
देशमा संस्थागत रोजगारी थपिने कुनै संकेत नभइरहेको बेला पछिल्लो नयाँ परिस्थितिले त ४० लाखको संख्यामा बेरोजगारी थपिने हुने आँकलन आइसकेको छ । त्यसै पनि दुई लाखलाई दिने रोजगारीमा सात लाख सूचीकृत भएका विवरणहरू आइरहेका छन् । प्रधानमन्त्री मन्त्री सबैले देशभित्रै रोजगारी दिने भनी गरिएका बचनलाई नागरिकले पत्याएका छैनन् । भारतबाट आफ्नै देशमा बनिबुतो गरी गुजारा गर्ने भनी फर्किएका जनता दशैँतिहार नै नभनी र बढ्दो महामारीकै मुखमा ज्यानको बाजी लगाएर छिमेकी देश भारततर्फ लाग्नुबाट पनि यो कुरा प्रस्ट हुन्छ । संकटको यस्तोबेला पनि नेपालले आफ्ना नागरिकलाई आफ्नो देशमा थाम्न सकेन ।

चाडपर्वमा विदेशबाट स्वदेश आउने परम्परा यो पटक तोडियो र यही चाडपर्वकै समयमा स्वदेशबाट विदेश जानेको लहर नै चल्यो । त्यसको उदाहरण हो, गएको आसोज–कात्तिकतिर नेपालको सीमा छाड्नेको भीड । सरकारले रोजगार दिन्छ भन्ने लागेको भए वा त्यस्तो विश्वास दिलाउन सकिएको भए यस्तो हुने थिएन होला । अवस्था कस्तो आयो भने अब त प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि धान्न नसक्ने भयो । यो कार्यक्रम आफैँ कुनै उत्पादनमूलक नभएर वितरणमुखी भएको हुँदा अर्बौँ खर्च हँुदा पनि रोजगारीको अवस्था भने जस्ताको तस्तै रहेका प्रतिवेदनहरू आइरहेका छन् । अघिल्लो वर्ष मात्र यो कार्यक्रममा करिब चार अर्ब रुपैयाँ सकिएको थियो ।

आर्थिक वर्षको अन्तिमतिर रकम गएको हुँदा त्यसबेला रकम सक्ने काम मात्र भएको थियो । झारपात उखेल्न लगाइएको कामको एक महिनापछि चिनो पनि नभेटिनु स्वाभाविक हो । महालेखाले समेत यो कुरालाई औँल्याएको छ । पछिल्लो समय त आवश्यकता परेकाहरूले त्यो झारपात पनि उखेल्न समेत नपाउने अवस्था देखिँदै छ । यो कार्यक्रमअन्तर्गत सात लाखभन्दा बढी बेरोजगार नागरिकहरू सूचीकृत भएका छन् भने सरकारले रोजगार कार्यक्रममार्फत चालू आवमा दुई लाख श्रमिकलाई न्यूनतम एक सय दिनको रोजगारी दिने तय भएको छ । यो हिसाबले यही ठाउँमा करिब पाँच लाखको संख्या बेरोजगार हुने भयो । विवरणअनुसार रोजगारी मागेर सूचीकृत भएका सात लाख ४३ हजार ८९ जनामा चार लाख २७ हजार आठ सय ८० जना पुरुष तथा तीन लाख १४ हजार तीन सय १८ जना महिला छन् ।

यसको अर्थ हो करिब पाँच लाखको संख्या त रोजगारशून्य हुने नै भयो । यस्तो अवस्थामा यो जनशक्तिको सजिलो गन्तव्य छिमेकी देश भारत नै हो । त्यसै पनि कोरोनाका कारण देशमा कुनै नयाँ उद्योगधन्दा चलेका छैनन् र खुलेका पनि छैनन् । विकासनिर्माणका कामहरू पनि ठप्प नै छन् । खासगरी महिला जनसंख्या अलमलिने अर्थात् यो वर्गले केही न केही रोजगारी उत्पादन गर्ने क्षेत्र कृषि नै हो । तर त्यसमा पनि समस्या समयमै मलखाद नपाएको समस्या उस्तै रह्यो । सम्बन्धित मन्त्रालयका अनुसार कोभिड १९ महामारीका कारण बेरोजगार दर बढ्दै जाने संकेत सूचीकृत हुनेको संख्यामा भएको वृद्धिले पनि देखाउँछ । तर सरकारले कुनै नयाँ कार्यक्रम ल्याएको छैन । यसले बेरोजगारीको संख्या झन् थामिनसक्नुको हुने निश्चित छ । सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया