Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनेताका अव्यावहारिक भाषण

नेताका अव्यावहारिक भाषण


काठमाडौं ।
खासगरी यतिबेला सत्तारुढ दलका दुई खेमा आरोप प्रत्यारोपमा व्यस्त छ । यही क्रममा पहिले सम्पन्न भइसकेका वा सम्पन्न हुनलागेका कामको शिलान्यासदेखि देशमा विकासको लहर चलेको भन्दै प्रचारप्रसार गरिरहेका छन् सत्तारुढ दलका दुबै पक्ष । खासगरी संसद् विघटन भएपछिका दिनमा सत्तारुढ दलभित्र चरम विवाद सुरु भएको हो, जो यसको विकेन्द्रीकरण र व्यक्ति–व्यक्तिबीचको छेडाखानी र आरोप प्रत्यारोपको चरम नै हुनेगरी प्रकट भइरहेको छ । यसले गर्नेलाई भन्दा देख्नेलाई लाज हुने अवस्था छ । आज एक जनाले अर्कोलाई खुइल्याउने र भोलि उसले त्यसको जवाफ दिँदा झनै बढी हुनेगरी नाङ्गो पार्ने होड पनि चरम अवस्थामा नै पुगेको पाइन्छ । यसले वातावरण कता जाँदै छ भन्ने साधारणले मानिसले मात्र होइन स्वयम् ती नेताहरूले पनि बुझेजस्तो देखिँदैन ।

हावादारी बोलेर भए पनि अर्को पक्षलाई सकेसम्म गाली गर्नैपर्ने भन्ने छाप परिसकेको देखियो शीर्षदेखि मझौला तहका नेतासम्ममा । त्यसको एउटा उदाहरण देखाएका छन् वाग्मती प्रदेशका मुख्यमन्त्रीले । यस्ता सभाहरूका कुरा उल्लेख गरेर साध्य हुने अवस्था छैन । तर यी मुख्यमन्त्रीले जस्तो प्रकारले आमसभाका जनताको ध्यान तान्न खोजे त्यो आफैँमा एउटा नमूना बनेको छ । उनले त्यो ठाउँमा जे भने त्यो सुनेर त्यो सभामा आउनेहरूले आफ्ना प्रदेशप्रमुखको प्रत्यक्ष परिचय कुन रूपले पाए होलान् भन्ने जिज्ञासा उठ्छ ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा नेकपा चितवनले गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘आजको यो विशाल जनसभाले विरोधीहरूको मुटु थर्किनेछ, कतिलाई त आईसीयूमै भर्ना गर्नुपर्नेछ, धेरैलाई हर्ट अट्याक हुन सक्नेछ, डाक्टरसापहरूले आफ्ना हस्पिटलहरूमा आईसीयू बेड सुरक्षित राखिदिन आग्रह गर्दछु, विरोधी जो भए पनि तिनको उपचार गरिइयोस् भनी अनुरोध गर्दछु, यो सभा देखेपछि कति विरोधीहरू नारायणीको पुलबाट हामफालेर आत्महत्या गर्न सक्छन्, त्यहाँ निगरानी बढाउनुपर्ने भएको छ, आज मतपत्र चपाएर, च्यातेर विजयी हुनेहरू प्रधानमन्त्रीको उपस्थितिमा बहिष्कारका नारा र विज्ञप्ति लिएर बसिरहेका छन्, म प्रश्न गर्छु कसको जुठोपुरो खाएर बसेको ?’

देशको प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा चलेको सभामा प्रदेशको मुख्यमन्त्रीको यो भाषणमा गुदी कुरा के हो भन्ने उनका यी भनाइबाट अनुमान गरौं त कस्तो चित्र आउँछ । त्यो सभामा धेरै मान्छे आए भनेर कसैको मुटु नै फुट्ला त ? तर उनको दाबी भने त्यस्तै देखियो । यो कुनै हँसीमजाकमा भनिएको जस्तो पनि थिएन । उनले विभिन्न चिकित्सकहरूलाई डाक्टरसापहरूलाई आफ्ना हस्पिटलहरूमा आईसीयू बेड सुरक्षित राखिदिन आग्रह गर्दछु, भनी अपिल नै गरे । त्यसपछिको पालो आयो अत्महत्याको । उनले यो भिड देखेर विरोधीले आत्महत्या गर्ने भन्दै नारायणी किनारामा निगरानी बढाइदिन सम्बन्धित निकायलाई एकप्रकारले निर्देशन नै दिए ।

उनी यो प्रदेशका मुख्य प्रशासक भएका नाताले उनले बोलेका कुरा निर्देशन नै हुन्छन् । अनुमान गरौँ त कुनै पनि राजनीति गर्ने मान्छे कुनै आमसभामा केही संख्याका मान्छे देख्नासाथ मुटु फुट्नेसम्मको आत्महत्या गर्ने हदको कुरा होला ? कुनै साधारण व्यक्तिले यसो भनेका भए उसको मनस्थिति ठीक थिएन भनौँला तर यो कुरा त मुख्यमन्त्रीबाट आएको हो । यसले पनि बुझाउला कस्ता व्यक्तिलाई कस्तो पद दिइएछ र यस्ता अव्यावहारिक भाषणबाट के अनुकरण गर्ने ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया