Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयशक्ति प्रदर्शन र सडक कब्जा

शक्ति प्रदर्शन र सडक कब्जा


काठमाडौं ।
प्रतिनिधिसभा विघटन भएको करिब दुई महिना भयो । यसलाई कितपयले असंवैधानिक भनेका छन् भने कतिपयले भने संवैधानिक । यो काम कति संवैधानिक हो र कति असंवैधानिक भन्नेबारे सर्वाेच्च अदालतमा बहस चलिरहेको छ ।

यो बहसमा करिब पाँच सय जना वकिल भिडिरहेका छन् । माघ ४ गतेदेखि सुरु भएको यो बहस निरन्तर निरन्तर चलिरहेको छ । विघटनको पक्ष र विपक्षमा लागेका दुवै पक्ष यतिबेला आम हडतालदेखि सडक कब्जासम्मका काम गरेर आ–आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । तर यसले नागरिकरको दैनिकीलाई चौपट्ट हुनेगरी प्रभाव पारिरहेको छ भने कोरोनाले थलिएको अर्थतन्त्रमा यसले अर्को संकट थपिरहेको छ । यसमा दुःखद पक्ष के रह्यो भने सत्तापक्ष र सरकार आफैँ सडकमा उत्रियो । यसरी सरकार नै सडकमा आउँदा त्यसबाट पुग्ने क्षतिको गुनासो गर्ने ठाउँ यतिबेला जनताले पाएका छैनन् ।

यसरी गरिने सडक कब्जा र हडतालले आम सर्वसाधारणका दैनिकीलाई नकरात्मक असर पार्नुका साथै कतिपय मानिसलाई भोकभोकै समेत पारेको छ । त्यस्तै कोरोनाबाट बच्ने प्रमुख उपाय भौतिक दूरीको अवस्थालाई पनि अन्त्य गरेको छ । कोरोनाको संक्रमण भनेको आजको आजै देखिने कुरा होइन । यसले हप्ता/दुई हप्तापछि कस्तो रूप लेला भन्न सकिन्न । कामना गरौँ त्यस्तो नहोस् । तर यो मान्छेले कामना गरेर मात्र रोकिने कुरा होइन त्यसका लागि वातावरण चाहिन्छ । त्यो

वातावरण झन्झन् बिग्रिँदै गइरहेको छ र सरकार पनि यसको कारक बन्दै छ । सरकारले त अदालतको प्रतीक्षा गर्नुपर्ने हो । त्यस्तो भएन । ऊ आफैँ ठूलो भिड देखाएर आफ्नो शक्ति नागरिकबीच प्रदर्शन गर्न खोजिरहेको छ । सरकार हुनु नै आफैँ एउटा शक्ति हो भन्ने सरकारले नै बिर्सिएको जस्तो देखियो । अरुले गल्ती वा ज्यादती गरे तिनलाई सही बाटोमा हिँडाउने काम सरकारको हो । तर सरकार आफैँ पनि त्यस्तै सडक कब्जा गरेर प्रदर्शन गर्न लाग्छ र त्यसबाट आफू शक्तिशाली भएको ठान्छ भने यो भनेको ओखतीविहीन अवस्था हो ।

यसले देशलाई कतै पनि पु-याउँदैन । बरु भय, आतङ्क र हिंसा थप्छ । अहिलेका दृश्यहरू यसतर्फ केन्द्रित हुँदै छन् । सरकारले प्रदर्शन गर्न सडकका बारहरू भत्काएको भन्ने कुराले त झनै अर्थ राख्छ । विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलले शनिबार देशभर प्रदर्शन ग-यो । यसको अघिल्लो दिन सरकारले राजधानीको दरबारमार्गजस्तो व्यस्त ठाउँमा दिनैभरि प्रदर्शन ग-यो । त्यसको अघिल्लो दिन बिहीबार सत्तापक्षकै अर्को पक्षले आम हडताल नै गरेको थियो ।

आम हडतालका क्रममा त मानवीय क्षति पनि भयो । अरु प्रदर्शनमा त्यस्तो भएन होला मान्छेले सहजता महसुस गर्न पाएनन् । यो भनेको साधारणका लागि तनावयुक्त वातावरण र दिनहरू हुन् । सडकहरू शक्ति प्रदर्शनकै लागि बनेका हुन्जस्तो गरिएको छ यतिबेला । एउटा प्रदर्शनमा कम्तीमा त्यो दिनभरि सहरको यातायात चौपट हुन्छ । मान्छेहरू भनेको समयमा गन्तव्यमा पुग्न पाउँदैनन् । यसले पार्ने चौतर्फी नोक्सानीको क्षति कसले व्यहोर्ने ? सरकार ! यो प्रश्नको उत्तर देऊ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया