Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआफ्नो आदेश आफैँ उल्लङ्घन

आफ्नो आदेश आफैँ उल्लङ्घन


काठमाडौँ ।
सरकारले बनाएका नियम आफैँ उल्लङ्घन गर्न थालेको छ । कोरोना रोकथामका लागि आफैँले बनाएको नियम र सर्वसाधारणको लागि दिएको आदेश आफैँले उल्लङ्घन गर्दै जाने हो भने देशमा कोरोनाको अवस्था कस्तो होला ? यो प्रश्न सरकारका निर्णय र उसका कामले उब्जाएको हो । खासगरी कोभिड–१९ को दोस्रो लहर बढेर अत्यासलाग्दो अवस्थामा पुगेको बेला सरकारले संक्रमण रोकथाम र सतर्कता अपनाउनका लागि ३० बुँदे आदेश जारी गरेको थियो । यसले केही हदसम्म नियन्त्रणका लागि सहयोग पुग्ने भनी ठानिएको बेला सरकार आफैँले त्यस्तो आदेशको उल्लङ्घन गर्न थालेपछि चिन्ता बढाएको छ ।

कोरोनाको संक्रमण विस्तार हुने प्रमुख माध्यम हो भीडभाड । त्यसलाई रोक्न सकियो भने मात्रै पनि ठूलो मात्रामा संक्रमण आफैँ नियन्त्रणमा आउन सक्छ । तर सरकारले चाहिँ यस्तो निर्णय गरेको क्षणदेखि नै त्यसको उल्लङ्घन गर्नथाल्यो । बालुवाटारको निवासबाट आदेश जारी गर्ने सरकारले त्यही बालुवाटारको निवासबाट नै र केही मिनेटमा नै त्यसको उल्लङ्घनको सिलसिला पनि सुरु भयो ।

त्यसदिन सरकारले एक पटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट यस्तो निर्णय भएर त्यो कक्षबाट बाहिर निस्किएका प्रधानमन्त्रीले त्यही निवासको अर्को कक्षमा दुई सयभन्दा बढी सख्ंया उपस्थित भएको एउटा कार्यक्रममा सहभागी भएर उद्घाटन र सम्बोधन गरे । यसमा उनले २५ जनाभन्दा बढीको उपस्थिति हुन नपाउने भनी सरकारले गरेको निर्णयको चर्चा समेत गरेनन् । बालुवाटारको यो दिनको कार्यक्रममा प्रधानमन्त्री केपी ओली मात्र होइन यस्तो निर्णय गर्ने मन्त्रिपरिषद्का सबै सदस्यको उपस्थिति रह्यो । यो बैठक थियो एमाले महाधिवेशन आयोजक कमिटीको । त्यसदिन झुक्किएर यस्तो भयो कि भन्ने ठाउँ पनि रहेन । त्यसको भोलिपल्ट पनि यस्तै भयो ।

सोमबार सरकारले भीडभाडको कार्यक्रम नगर्न कडा आदेश जारी गरेको थियो भने मंगलबार प्रधानमन्त्री आफैँले अर्को भीड खडा गरे चितवनको अयोध्यापुरीमा राखिने रामसीता, लक्ष्मण र हनुमानको मूर्ति हस्तान्तरणको कार्यक्रम राखेर । यो कार्यक्रममा प्रधानमन्त्री निवासमा मन्त्री सांसदसहित सय डेढ सयको उपस्थिति थियो । यो भनेको सरकारले तोकेको संख्याभन्दा झण्डै १० गुना बढीको उपस्थिति हो ।

यस्तो आदेशको उल्लङ्घन प्रधानमन्त्री आफैँले मात्र होइन उनले अध्यक्षता गरेको पार्टीको भातृसंस्थाबाट पनि त्यस्तै भयो । यो आदेश भएको भोलिपल्टै एमालेको भ्रातृसंगठन नेपाल खेलकुद महासंघले सार्वजनिकस्थल राष्ट्रिय सभागृहमा कार्यकर्ता भेलाको आयोजना ग¥यो । यो भेलामा यस्तो उपस्थिति थियो जो उक्त हलमा कतै खुट्टो राख्ने ठाउँ समेत थिएन र त्यसमा उपस्थित रहेकाहरूले आक्कलझुक्कलले मात्र मास्क लगाएका देखिए ।

कार्यक्रममा करिब एक हजार जनाको उपस्थिति रहेको अनुमान गरिएको थियो । यसको अर्को पक्ष हो भेलाका प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री नै रहनु । उनी त्यसमा गएनन् अलग कुरा हो तर सत्तारूढ पार्टीका नेताहरूको भने ठूलै उपस्थिति थियो । यसको भोलिपल्ट आधा दर्जन मन्त्रीको उपस्थितिमा चितवनमा दशौँ हजार मानिस एक ठाउँमा भेला भए । देवघाटमा त १५ सयको संख्यालाई सामूहिक बास र भोजनको पनि व्यवस्था भयो ।

यो ठाउँमा अनुमान गरौँ सरकारको आदेश सरकार नै मान्दैन भने अरुले कसरी पालना गर्लान् । यदि पालना भएन भने कोरोनाको ग्राफ कहाँ पुग्ला र त्यसको जवाफदेही को हुने ? यो प्रश्न निरुत्तरित नै छ । ध्यान रहोस् यो आदेशमा नै भनिएको छ– आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुनेछ । हेर्नु छ प्रधानमन्त्री र मन्त्रीमाथि कस्तो कारबाही होला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया