Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकार नै आदेश उल्लङ्घनको प्रमुख पात्र

सरकार नै आदेश उल्लङ्घनको प्रमुख पात्र


काठमाडौं ।
महामारीका बारेमा सामान्यतया सरकारले जारी गरेका सूचनाहरू जनताले भन्दा सरकारले बढी पालना गरिरहेको होलाजस्तो लाग्छ । तर यथार्थ कस्तो छ भने सरकार आफूचाहिँ आदेशकर्ता र त्यसको पालना गर्नेचाहिँ जनता मात्र हुन् भन्ने सोच व्यवहारमा पनि प्रकट भइरहेका छन् ।

अरु बेलाको अवस्था र यसमा प्रशासकीय कुरा मात्र थियो भने अलग कुरा हो तर सरकारको कामले महामारी फैलाउने काम गरिरहेको छ भने त्यो गम्भीर कुरा हो । त्यसका लागि सरकार र सरकारमा रहेकाहरू जो–जोबाट त्यस्तो काम हुन्छ तिनीहरूलाई कडारूपले कारबाही गरिएन भने यो सधैँ दोहोरिरहने अवस्था बन्दोरहेछ । अरु देशमा त प्रधानमन्त्री समेत कारबाहीमा परेका उदाहरण छन् । सरकारमा रहेकाहरूको कामले देश र दुनियाँ प्रताडित हुननपरोस् भन्ने मान्यता भएका देशमा यस्तो हुन्छ । हामीकहाँ सरकारले राम्रो नगरे पनि नराम्रो पनि नगरोस् भन्ने नागरिकको सामान्य आसा हो  ।

कोरोना महामारी र त्यसको रोकथामका लागि अपनाइएका पद्धतिमा सरिक मान्छे अझ त्यसमा पनि प्रधानमन्त्री र मन्त्रीकै व्यवहारबाट संक्रमण झनै विस्तार हुने देखियो भने त्योजत्तिको डरलाग्दो अवस्था अरु नहोला । पछिल्ला उदाहरण दुःखलाग्दा छन् । देशमा निषेधाज्ञा लागू गरेपछि र जे–जे कुरामा प्रतिबन्ध लगाइयो त्यसको सबैभन्दा बढी उल्लङ्घन गर्नेमा सरकारका सदस्य नै देखिए । अझ भन्ने हो भने प्रधानमन्त्री नै उद्घाटनजस्ता कार्यक्रममा सरिक हुन रुचाएका घटनालाई मन्त्रीले पनि अनुकरण गर्दै आएका पाइयो ।

यता कोरोना संक्रमणको ग्राफ उच्चस्तरमा बढिरहँदा प्रधानमन्त्रीको अत्यधिक जनताको उपस्थिति हुनेगरी कार्यक्रम बढिरहे । त्यही समयमा धरहरालगायतका अन्य उद्घाटनका कार्यक्रम रोकिएनन् ।

सरकार आफैँले २५ जनाभन्दा धेरै मानिस भेला हुन नमिल्ने भनी सार्वजनिक गरेको स्वास्थ्य प्रोटोकल स्वयम् बालुवाटारले नै मानेन । लगातारजस्तो हुनेगरी दुई दिनसम्म करिब तीन सय जनाको हाराहारी संख्या रहेको पार्टीमञ्चको बैठक यसैबेला भयो । स्थिति कस्तोसम्म भयो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको भन्दै सरकारले अब अस्पतालहरूमा बेड उपलब्ध गराउन नसक्ने बताइरहेको बेलामा मन्त्रीहरू भने बिहाभतेरमा रमाइरहेका देखिए ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ, भनेर अपिल आएका दिन मन्त्रीहरू भने विभिन्न सार्वजनिक स्थानमा सामान्य प्रोटोकलको समेत पालना नगरी गए ।

कोरोना महामारी उच्च दरमा बढिरहेको र नागरिकहरूलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको बेला दुई जना मन्त्रीका कर्तुत चर्चामा आए । कृषि तथा पशुपन्छी विकासमन्त्री विवाहमा सहभागी भएर दर्जनौंको संख्यालाई वरिपरि राखेर फोटो खिचाएको दृश्य एउटा थियो जसमा कसैले मास्क लगाएका थिएनन् । भौतिक दूरीको कुरा गर्ने हो भने एक मिटरको दूरीमा १०–१२ वटा टाउका जोडिएका देखिन्थे । अर्को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले देखाएको चरित्र पनि त्यस्तै थियो ।

प्रधानमन्त्रीले भर्चुअलरूपमा उद्घाटन गरेको कार्यक्रममा यी मन्त्री आफूचाहिँ भौतिकरूपमा नै उपस्थित भएर त्यस्तै भीडभाडमा एक/डेढ घण्टा बिताए । उनको यस्तो उपस्थिति पनि मास्कविनाकै थियो । भौतिक दूरी कायम गर्ने कुरा त झन् परै रह्यो । भीडभाड जुटाउने र त्यसमा रमाउने काममा सरकार त्यसै पनि सबैभन्दा अघि थियो नै निषेधमा पनि यस्तो व्यवहार देखाउनु योभन्दा विडम्बना अरु के होला?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया