Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदशैँ बजारको माग र आपूर्ति

दशैँ बजारको माग र आपूर्ति


काठमाडौं । यतिबेला देशमा दशैँलगायतका चाडबाड भित्रिन लागेको अवस्था छ । चाडबाड नजिकिँदै गरेका संकेतहरू सरकारी काम र अरु कुराले पनि बताइरहेका छन् । वर्षको सुरुमा कोरोनाको दोस्रो लहरले ठूलो संख्यामा मानिसको ज्यान लियो । सामन्य अक्सिजनको अभाव र अस्पतालका शय्याको अभावमा मानिसको समूहगत रूपमा नै मृत्यु भयो ।

चालू वर्षको यो घटना सबैभन्दा पीडादायक थियो । अघिल्लो वर्ष कोरोना सुरु भएको र सुरक्षाको अनुभव नभएको अवस्थमा पनि यतिठूलो क्षति भएको थिएन जति यो वर्षको ती प्रारम्भिक महिनामा भयो । यो क्रम अझै रोकिएको छैन । अझै पनि हजारमा सय जना संक्रमित भइरहेका छन् । हो, मृत्युदरचाहिँ घटेको छ । वर्षको प्रारम्भमा दोस्रो लहरले त्यति ठूलो संख्याको ज्यान लिने कारणमा राजनीतिक दलको गतिविधि पनि कारक मानिएको थियो । त्यसमा पनि सत्तारुढ दल विशेष रूपले चर्चित रहे । त्यसबेलाका प्रधानमन्त्री आफैँ भीडभाडका प्रवर्तक भएको आरोप लाग्ने गरेको थियो । उनी आफैँ सडकमा विपक्षीलाई शक्ति देखाउन ओर्लिएका थिए त्यसबेला ।

भीडभाड कोरोना विस्तारको उर्वराभूमि मानिन्छ । मान्छेबाट मान्छेमा सर्ने रोग हो भन्ने त अब कसैमा छिपेको छैन तर कतिपय कारणले त्यो जानेर पनि सतर्कताको अभाव देखिन्छ । चाडबाड नजिकिएको सन्दर्भको चर्चा हुँदा यसबाट जुट्ने भीडभाडले के गर्ला भन्ने चिन्तासँगसँगै आउँछ । यतिखेर संक्रमणको दर घटेको हो कि परीक्षणको भन्ने बहस चलिरहेको छ । सरकारले परीक्षणको दर बढाउने कुनै सुरसार गरको छैन । अर्कोतर्फ यातायातका साधनले अपनाउनुपर्ने सुरक्षा बन्दोबस्तीमा लत्तो छाडेका छन् । यी दुवै कुरा दशैँका लागि खतरनाक हुन सक्छ । यद्यपि खोपको अभियान भने चलिरहेको छ । तर खोपले मात्रै संक्रमण रोकिँदैन भन्ने त सरकार आफैँले नै बताइरहेको छ नै । यहीबीचमा करिब १० लाखजतिको खोपको मात्र खेर गएको हल्ला आएको छ म्याद गुज्रिएको कारण । यसका बारेमा पनि सरकारले प्रस्ट पारेको छैन ।

यो त भयो दशैँको भीडभाडमा कोरोनाबाट के होला भन्ने विषय । अर्को छ सर्वसाधारणले यो चाडबाडका बेला प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति र मूल्यको कुरा । विगतका दिनहरूले नै बताउँछन् यस्ता अवसरमा हाक्काहाक्की लुटपाट चलिरहन्छ अभाव खडा गरेर मूल्य बढाउने काम गरेर । यद्यपि सरकार भनिरहेको छ चाडबाडमा कुनै पनि वस्तुहरूको अभाव हुँदैन र मूल्य पनि बढ्दैन । यो भनेर मात्र हुँदैन । यसबारेको संयन्त्र कस्तो छ भन्ने कुरामा भर पर्ने हुन्छ । अझ यस्तो कालोबजारी भएमा नागरिकका सूचनालाई प्रभावकारी बनाउने हो र उनले दिएको सूचनाका आधारमा छापा मारेर स्थलगत रूपमा नै कडा दण्ड दिने व्यवस्था मिलाइयो भने केही हदसम्म यस्तो अस्वाभाविक अवस्था केही हदसम्म रोकिन सक्तछ ।

चाडबाड नजिकिँदै गर्दा स्वाभाविक रूपमा दैनिक उपभोग्य सामग्रीलगायतका मागमा वृद्धि हुन्छ नै । आवश्यकता हुन्छ त्यो माग र बजारलाई सन्तुलनमा राख्नु । राज्यका निकायहरूको परीक्षण हुने समय र थलो नै यही हो । विगतमा सरकार यो कामका लागि असफल भएको छ । प्रधानमन्त्री आफैँले सार्वजनिक स्थलबाट नै कालोबजारीयाहरूले आफूलाई उपयोग गरेको भनी बारम्बार बताइएको अवस्था सम्झनायोग्य छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया