Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमेलम्चीको गाडी प्रकरण छानबिन गर

मेलम्चीको गाडी प्रकरण छानबिन गर


काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिमार्फत चल्ने  एउटा स्वतन्त्र निकाय हो । साधनस्रोत परिचालनदेखि कार्यक्रम निर्धारणमा समेत यो स्वतन्त्र हुन्छ । यसका साधन र स्रोतमा त यसका आधिकारिक पदाधिकारीबाहेक राज्यका जतिसुकै ठूला पदाधिकारी हुन् तिनले कुनै पनि हैसियतबाट प्रयोग गर्न पाउँदैन । यदि त्यस्तो भयो भने त्यो आपराधिक हुन्छ र दण्डनीय पनि । यतिबेला प्रमुख प्रतिपक्षी दलका एक जना सांसद यो आयोजनाकोे गाडी दुरूपयोग गर्नेमा परेका छन् । त्यो आधुनिक मानिने गाडी अनधिकृत रूपमा प्रयोग गरेका विवरणहरू छताछुल्ल भएका छन् । तर न त्यो आयोजनाले केही बोलेको छ न ती सांसदले र न सरकारले नै । यो गैरजिम्मेवारीपनको हद नै मान्नुपर्छ ।

यता यो दलले निरन्तर छ महिनादेख संसद् अवरोध गरिरहेको छ । त्यो निकायले आफूले गर्ने काम गर्न पाएको छैन अवरोधका कारण । उता यस्तो अवरोध गरिरहेको छ भने यता तिनै सांसदले तलबभत्ता भने लिइरहेका छन् । यो आफैँमा आलोचित विषय थियो । सांसदले संसद्को काम प्रतिकात्मक रूपमा कुन दिन रोक्नु एउटा कुरा हो तर छ/छ महिनादेखि त्यसलाई निरन्तरता दिनु आफैँमा आलोचित थियो भने तिनैमध्येका एक सांसद त्यो अवरोधका लागि आयोजनाको गाडी प्रयोग गरिहेका छन् ।

समाचारमा आएअनुसार सांसद शेरबहादुर तामाङले एक वर्षदेखि चढ्ने गरेको बा. १ झ ८७६८ नम्बरको हाइलक्स जापानी गाडी मेलम्ची खानेपानी आयोजनाको हो । यतिबेला त्यो गाडीको इन्जिन बिग्रिएछ र मर्मतमा राखिएको छ । त्यो मर्मतखर्चको बिल मात्रै आठ लाखको हाराहारीमा उठेको छ त्यसको भुक्तानीका लागि यो बिल यी सांसदले त्यही आयोजनामा पठाएका छन् । यो विवरण सुन्दैमा पनि आपत्तिको छ । एउटा त त्यो गाडी अनधिकृत व्यक्तिले प्रयोग गरे । त्यसो गर्न पाइँदैन । अर्को यसरी चलाए मात्र होइन इन्धन आदि सबै खर्च पनि त्यही आयोजनालाई व्यहोर्न लगाइयो । मर्मतका लागि यति ठूलो रकमको बिल पनि त्यही आयोजनाले व्यहोर्नुपर्ने भयो । यो उक्त आयोजनाका लागि सांसदले गरेको धेरै ठूलो अन्याय हो । यो आयोजना अनुमानित लागतभन्दा धेरै बढी खर्च भएकोमा पर्छ । कारण के हो भन्ने सम्भवतः यिनै कुराहरू जोडिएर आएका हुनुपर्छ ।

सांसद तामाङ त्यस्तो दलका सदस्य हुन् जो यसअघि सत्तारुढ थियो । त्यसबेला उनी मन्त्री पनि भए । पछि उनी त्यो दलको सचिवालयका सचिव थिए । यसले के देखाउँछ भने मेलम्चीको यो गाडी सत्ताको प्रभावमा उनका हातमा पुगेको हो । सत्ताको यस्तो दुरूपयोग गर्ने व्यक्ति वा पदाधिकारीले दण्डित हुनुपर्ने व्यवस्था गरिएन भने उनीहरूको मनोबल बढ्न जान्छ र कुनै पनि निकाय यिनका पञ्जाबाट जोगिने छैनन् । त्यस कारण पनि तामाङजस्ता कतिले यस्तो दुरूपयोग गरेका छन् तिनको यथाशीघ्र छानबिन गरेर कडाभन्दा कडा कारबाही गरियोस् । यो ठाउँमा ध्यान दिनुपर्ने के पनि छ भने, यी सांसद हरेक भाषणमा भ्रष्टाचारको चर्को विरोध गर्थे । समाचारका यी विवरणले त्यो विरोध कस्तो रहेछ भन्ने पनि देखायो । भ्रष्टाचार देखिएपछि त कारबाही होस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x