Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयशिक्षामा अयोग्यताको उत्पादन कहिलेसम्म

शिक्षामा अयोग्यताको उत्पादन कहिलेसम्म


काठमाडौं । देशको शिक्षा क्षेत्र कुन हदसम्मको अवस्थामा रहेछ भन्ने हालै सम्पन्न भएको एउटा परीक्षाले चित्र प्रकट गरेको छ । यो विवरणलाई आधार मान्ने हो भने कम्तीमा माध्यमिक तहसम्मको शिक्षाका नाममा खेलबाडमात्र भइरहेको छ र यसबारे सरकार गम्भीर भएन भने देश निर्माणको आधारभूत जग मानिने शिक्षा जग भत्किनैलागेको बुझ्न सकिन्छ । जब शिक्षा दिने शिक्षक नै अयोग्यभन्दा अयोग्य छन् भने तिनले दिने र दिएको शिक्षा कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ । त्यसै पनि शिक्षा क्षेत्रको सुधारका लागि प्राप्त भएका र हुने सुझावलाई सरकारले कहिल्यै टेर्ने गरेको छैन । अरु त अरु मानिसको ज्यानसँग जोडिने चिकित्सा शिक्षामा गर्न भनी दिइएको सुझाव त सरकारले कार्यान्वयनमा ल्याएन । त्यस्ता सुझाव कार्यान्वयनमा ल्याइएन मात्रै होइन उच्चस्तरको धेरै विज्ञले तयार बनाएको त्यो प्रतिवेदन नै सरकारले लुकायो ।

शिक्षाको अवस्था कस्तो छ भन्ने हेर्न यस्ता सयौँ उदाहरण छन् । यसमध्ये पछिल्लो समय शिक्षकको एउटा परीक्षामा प्रकट भएको एउटा परिणाम धेरै नै डरलाग्दो देखिन्छ । यो सन्दर्भ हो केही अघि शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा । यो परीक्षामा सहभागीबाट करिब ९० प्रतिशत शिक्षक अनुत्तीर्ण रहेका छन् ।

परीक्षामा सहभागीमध्ये यो बेलासम्म उनीहरु शिक्षाक पेसामा नै थिए र कतिपय त दशकौँदेखि पठनपाठनमै थिए । विवरणअनुसार आयोगले गएको चैतको मध्यमा सञ्चालन गरेको परीक्षामा ३२ हजार ९७ जना सहभागी रहेका थिए । यसको एक महिनापछि २० वैशाखमा यसको परिणाम आयो । त्यो परीक्षामा जम्मा तीन हजार आठ सय ८६ को संख्यामात्रै उत्तीर्ण भयो । यो भनेको परीक्षामा सामेल भएको कुल परीक्षार्थी संख्याको १२.१० प्रतिशत मात्रै हो । कुनै पनि परीक्षामा परीक्षार्थी उत्तीर्ण अनुत्तीर्ण हुन्छन् नै जो स्वाभाविक प्रक्रिया माने हुन्छ । तर यो भनेको त्यति सहजको कुरा होइन । जब माध्यमिक तहका विद्यार्थीलाई पढाइरहेका र पढाउन सक्छु भन्नेहरु आफ्नै ज्ञानमा यति कमजोर छन् भने तिनले कस्तो शिक्षा दिइरहेका होलान् अनुमान गर्न सकिन्छ । यो नतिजाले समग्र शिक्षा क्षेत्रलाई अचम्म पारेको हुनुपर्छ ।

एक विज्ञका अनुसार – शिक्षकको नतिजा हेर्दा हाम्रो विश्वविद्यालयको सिकाइप्रति नै प्रश्न उठाउनुपर्ने देखिएको छ । आयोगले परीक्षा तयारीका लागि पाठ्यक्रम तयार गरी सार्वजनिक गरेको थियो, सबै कुरा सहज रुपमा राखिदिए पनि मिहिनेत गरेनन्, आफूले पढाउने विषयमा सबै जानकारी हुनुपर्ने भएकाले परीक्षामा त पढ्नुपर्दथ्यो नै ।

जानकार सूत्रका अनुसार परीक्षामा भाग लिनेहरु प्रायः सबै नै लामो समयदेखि सम्बन्धित विषयमा पढाइरहेकामध्ये नै पर्थे । त्यसो हो भने उनले पढाएका विषयमा पनि शंका उठ्ने भयो । यो कुरा राज्यका लागि र खासगरी शैक्षिक क्षेत्रमा ठूलो क्षति हो । अब सधैँ यस्तो क्षति भइरहनुहुँदैन । यो ठाउँमा शिक्षक अयोग्य भए भन्ने त देखियो नै तर त्योभन्दा गम्भीर पक्ष हो आउँदो पिँढी नै अयोग्य हुनु । यसका विषय थिए स्वास्थ्य, शुक्ल यजुर्वेद र संस्कृत व्याकरण आदि । कम्तीमा यी विषयमा यस्तो कमजोरी देखियो अब सरकाले यसलाई सुधार्न ठोस काम गर्न जरुरी छ । त्यसो भएन भने शिक्षाका नाममा राज्यको ठूलो खर्च भएर पनि अयोग्यहरुको उत्पादन भइरहनेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया