Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिवर्तमान मन्त्रीहरूले देखाएका रमिता

निवर्तमान मन्त्रीहरूले देखाएका रमिता


काठमाडौं । पाँचदलीय गठबन्धन सरकारको बाह्रौँ महिना चलिरहँदा पाँच पटक मन्त्रिपरिषद् फेरबदल भएको छ । अहिलेको मन्त्रिपरिषद्ले पछिल्लो पुनर्गठनको आकार पाउन नै तीन महिना लागेको थियो । त्यस्तै पछिल्लो समय यस्तो पुनर्गठन हुन सहभागी सम्बन्धित दलले सिफारिस गरेको २१ दिनपछि मात्रै सम्भव भयो । सत्तागठबन्धनको एउटा एकीकृत समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने भनी गएको जेठ २२ मा निर्णय गरेको थियो । गठबन्धनका

प्रधानमन्त्री त्यो कार्यान्वयन तीन हप्तापछि मात्र गरे । उनको सिफारिसमा आइतबार राष्ट्रपतिले नयाँ मन्त्री समावेश गरी मन्त्रिपरिषद् पुनर्गठन गरिन् । सोमबार शपथग्रहणको कार्यक्रम भयो । यसले यो मन्त्रिपरिषद्मा प्रकट भएको ऊहापोह र जान लागेका मन्त्रीले आदेश मान्ने/नमान्ने भन्ने व्यापक स्तरको चर्चा अब सकिएको छ । नत्र कतिपय अवस्थामा मन्त्रीले पद छाड्न नमानेका कारण विभिन्न घटनाका सम्भावनाहरू प्रकट भइरहेका थिए । त्यसो त हटाइएका मन्त्रीहरूले देखाएका रमिता पनि कम रोचक छैनन् । कोही रुन थाले, कोही भने आफूले अहिलेसम्म कसैले गर्न नसकेको काम गरेको भनी आफँैलाई धाप दिइरहे । कसैले चाहिँ आफू फेरि छिटै नै मन्त्री हुने भनी कर्मचारीसमक्ष बताइरहेका थिए ।

दलीय पद्धतिमा दलको सिफारिसबाट मन्त्री हुने हो । तर यो पटक बजेट पारित नभएको भन्दै प्रधानमन्त्रीले झुलाएको आरोप लाग्यो । जो–जो जुन दलबाट मन्त्री भएका थिए उनीहरू अरु दलका नेतासँग समेत मन्त्रीपद थमाउन हारगुहार गर्न पुगे । उक्त दलले आफ्नै मन्त्री फिर्ता गराएर नयाँ नियुक्त गर्न यति लामो समय कुर्न प¥यो । यसले आउँदा दिनहरू सरकारका लागि कस्ता होलान् भनी अनुमान गर्न ठाउँ दिएको छ । यो पुनर्गठन वास्तवमा नै सकसपूर्ण थियो । बितेको तीन सातामा धेरै प्रकारका रस्साकसी चले । मन्त्री फेर्न पाइँदैन भनी हस्ताक्षर समेत बटुलियो । केही दिनपछि फेरि ती हस्ताक्षर त्यही अवस्थामा फिर्ता भए ।

पदमा निरन्तरतर रहनका लागि मन्त्रीहरूले दलीय सीमारेखा पनि तोड्ने प्रयास गरे । उनको दलका नेतृत्व झनै कठोर बन्दै गयो । त्यस कारण पनि यी मन्त्रीको बहिर्गमन सकसपूर्ण बनेको देखियो । त्यस कारण पनि यो विगतको जस्तो सामान्य रहन गएन । यी मन्त्रीका मन्त्रालयभित्रको बिदाइ समारोहहरूले पनि धेरै कुरा बताउँछन् । बिदाइ समारोहमा मन्त्रीले रुवाइका कारण बोल्न नसकेका दृश्यहरू सधैँका लागि एउटा अभिलेख बन्न सक्लान् । त्यसै कारण होला बिदाइमा पत्रकार सम्मेलन गरेर कोही आफैँलाई धाप मार्नेमा देखिए भने कोही रुवाबासी गर्नमा भनी समाचार आए । मन्त्री हेरफेरमा यस्ता दृश्य पहिलो पटक प्रकट भएका हुनुपर्छ ।

यो मन्त्रिपरिषद्मा एक जना चर्चित महिला थिइन् । आफ्ना मुद्दाहरू राख्ने मामिलामा सधैँ आक्रामक देखिने उनको स्वभाव मन्त्रीपद छोड्दा भने विचलित भएको देखियो । यो निवर्तमान सहरी विकास मन्त्री (रामकुमारी झाँक्री)को कुरा हो । मन्त्रीबाट हटाइएपछि मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनको भावुकता कस्तो रूपमा प्रकट भयो भने पत्रकारसँग सवाल–जवाफ समेत गर्न सकिनन् । आँखाबाट आँशु आए । यो रुवाइ केको लागि थियो भन्ने धेरैले बुझ्न सकेनन् । यो पदमुक्ति अप्रत्यासित थिएन । तीन साताअघि दलले फिर्ता बोलाएको थियो र नियुक्ति दिलाउँदा नै यो पद छ महिनाका लागि भनिएको थियो । यो ठाउँमा त्यो सर्त बिर्सिएको जस्तो देखियो । निवर्तमान पर्यटनमन्त्रीले त बिदाइ समारोहमा आफूले आफैँलाई एक सयमा ९० नम्बर दिएर उत्कृष्ट काम गरेको घोषणा गरे । उनको भनाइ थियो, ‘मलाई कोही पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्नुभयो भने मेरो उत्तर हुनेछ– ९० प्रतिशत ।’ यो पनि एक प्रकारको आत्मरति नै थियो । कसै–कसैले यसलाई बहुलठ्ठीपनको संज्ञा दिएका छन् । यस्तो चरित्रले सरकारको अवस्था बुझाउँछ जो सकारात्मक नहोला । अब यस्तो नहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया