Techie IT
×
गृहपृष्ठसम्पादकीयखाद्यवस्तुमा खेलबाडविरुद्ध कठोर बन

खाद्यवस्तुमा खेलबाडविरुद्ध कठोर बन


काठमाडौं ।  संसारभरि नै सबैभन्दा बढी संवेदनशील मानिने वस्तु हो, खाद्यान्न । खासगरी दैनिक उपभोग्य वस्तुको गुणस्तरले मान्छेको स्वास्थ्यलाई निर्धारण गर्छ । करिब ९० प्रतिशत रोगको स्रोत चुलो हुनेगरेको विज्ञहरूको भनाइ हुन्छ । यतिठूलो प्रतिशत भाग ओगटेको रोगको स्रोत चुलो हो भने त्यसमा जाने वस्तुहरू त्यसका कच्चापदार्थ हुन् । त्यस कारण सर्वसधारणबाट सधैँ नै यस्ता वस्तुहरूमा खेलबाड हुन नदिऔँ भन्ने माग हुन्छ । यसको निदान भनेको सरकारी तहबाट निरन्तर अनुगमन र कैफियत भेटिए कठोरभन्दा कठोर कारबाही नै हो । तर यता न बजारको अनुगमन हुन्छ र न कारबाही नै । बजारको अनुगमन भइहाले पनि र कैफियत भेटिए पनि त्यस्तो अपराधजन्य काम फेरि नदोहोरिने गरी कारबाही भएका उदाहरण विरलै मात्र पाइन्छ । यस्ता कुराहरू कारबाहीको भयबाट रोकिने हुन्छन् । संसारभरि सबैभन्दा बढी र कठोर कारबाही हुने क्षेत्र नै खाद्यान्न र त्यसको गुणस्तरमा हुने खेलबाडमा हो । त्यस्तै होस् भन्ने अपेक्षा हुन्छ नेपाली जनताको पनि । तर सरकार भने यसको सुनुवाइमा लागको पाइँदैन । त्यस कारण उपभोक्ताहरू यसलाई दुःखद पक्ष मान्छन् ।

नेपाली जनताले उपभोग गर्ने बजार स्वास्थ्यका लागि कति खतरापूर्ण छ भन्ने सम्बन्धित निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको जानकारीबाट नै बुझ्न सकिन्छ । उसका अनुसार गत आर्थिक वर्षमा मात्र दैनिकरूपमा उपभोगमा आउने, जीवनका लागि अति आधारभूत खाद्यान्न, पानी, दूधलगायतका पदार्थ गुणस्तरहीन भएको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा एक सय १५ वटा वस्तुका विरुद्ध मुद्दा दायर भए । त्यसमा हरेक घरका प्रमुख उपभोग्य वस्तु खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थसँग सम्बन्धित ३० वटा, दुध तथा दुधजन्य पदार्थका १९ वटा, पशुपन्छीका दानाको १८ वटा, प्रशोधित पानीको १४ वटा, चिया/कफीको आठवटा, फल तथा सागपातका सातवटा, मसलाजन्य पदार्थका पाँचवटा, गुलियो पदार्थका तीनवटा, तेल तथा घ्यूजन्यका दुईवटा, सोया ससको एउटा र अन्य आठवटा थिए । यी वस्तुहरूमा एउटा संख्यामा पनि कैफियत भेटिन हुँदैन भन्ने मान्यता हो । देशमा प्रचलित खाद्य ऐन तथा नियमले पनि दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको पाइएमा हदैसम्मको दण्डको व्यवस्था गरेको छ । यो भनेको कानुनमा यस्तो कैफियत गरिए पर्याप्त दण्डको व्यवस्था छ तर त्यसको सन्देश सम्बन्धित व्यवसायीसम्म पुगेको छैन । पुगेका छ भने पनि दण्डको यस्तो भयको महसुस हुन पाएको छैन वा गराइएको छैन । प्रत्येक पटक खाद्यवस्तुमा यस्तो गुणस्तरहीनताको अवस्था दोहोरिरहेको देखिनुले त्यस्तै बुझाउँछ ।

विभागका प्रवक्ताले भनेअनुसार परीक्षण गरिएकामध्ये फल तथा सागपातजन्य पदार्थका ६१ खाद्यान्न/दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीको २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुधजन्य पदार्थका १५ वटा, तेल तथा घ्यूजन्यका १४ वटा, चिया कफीका १३ वटा, मसलाका छ वटा, गुलियो पदार्थका चारवटा, मासु तथा मासुजन्यको एउटा र अन्य ११ वटा गरी कुल दुई सय २४ वटा नमूनाहरू उपभोगयोग्य थिएनन् । उल्लिखित वस्तुहरू दैनिक उपभोगबाट हटाउनै नसकिने खालका हुन् । फलफूल तथा सागपात खाद्यान्न, प्रशोधित भनिएको र महँगो मूल्य तिरिएको पिउने पानी बालबालिकादेखि वृद्धवृद्धाले अत्यधिक उपभोग गर्ने गरिएका दुध तथा दुधजन्य पदार्थ यस्ता कुरा हुन् जोविना जीवन चल्दैन । यस्ता वस्तुमा खेलबाड हुन्छ भने त्यो कुनै पनि हालतमा सह्य हुनुहुँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया