Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


प्रधानमन्त्रीको स्वास्थ्य, गुमराहमा जनता
प्रधानमन्त्री केपी ओलीको उपचारमा संलग्न चिकित्सकहरुको टोलीकै सदस्यहरुले पनि कुरा फेरेर उपचारलाई राजनीतिकरण गरिदिएका छन् । प्रधानमन्त्री ओलीको गत २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसका लागि उनी गत १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुनुअघि गत १८ गते नेकपा सचिवालय र मन्त्रिपरिषद्को छुट्टै बैठक बसेको थियो । ती बैठकमा प्रधानमन्त्री १९ गते भर्ना हुने र २१ गते दोस्रो पटक मिर्गौैला प्रत्यारोपण गरिने विषयमा छलफल भएको जानकारी दिएको थियो । सोहीअनुरुप प्रधानमन्त्रीको भर्ना र शल्यक्रिया सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओली उपचारका लागि अस्पताल भर्ना हुँदा सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री ओलीलाई अपदस्थ गर्नेसम्मको कसरत भइरहेको थियो । उनकै पार्टी सचिवालयबाट भएको त्यस्तो कसरत भइरहेको थियो । उनले त्यस्तो कसरतलाई समेत ध्यानमा राखेर सबैखाले प्रतिकूलतालाई चुनौती दिँदै अप्रेसनको जोखिम मोलेका थिए ।

अस्पताल भर्ना भएर अप्रेसनको तयारी भइरहँदासम्म प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्रको विरोधी खेमाको बाक्लो भेटघाट र बैठक हुने गरेको थियो । अप्रेसन सफल भएको साँझ र भोलिपल्ट बिहान बैठक भए पनि त्यसपछि बैठकहरुको सहभागिता पातलिँदै गएको थियो । अप्रेसन हुने र त्यसको चार पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किने प्रचार गरियो । त्यो प्रचार पार्टीका विरोधीलाई तत्काल मुख बुझो लगाउनका लागि गरिएको थियो । अप्रेसन सफल भएकै दिन पनि चिकित्सककै मुखबाट त्यही बोल्न लगाइयो । आइतबार सोमबारको समयसीमा गुज्रिँदै प्रधानमन्त्रीको स्वास्थ्य अप्रत्याशित रुपमा सुधार भएको प्रचार पनि भयो । त्यतिबेला पार्टीका प्रधानमन्त्रीविरोधी खेमाबाटै अस्पतालबाट प्रधानमन्त्री ओली तीन महिनासम्म काममा फर्किन नसक्ने जानकारी सार्वजनिक गरियो र त्यसलगत्तै प्रधानमन्त्री ओली पूर्णरुपमा काममा फर्किन छ महिनादेखि एक वर्षसम्म लाग्ने समाचार प्रकाशमा ल्याइएको छ । यसअघि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली स्वयंले चार/पाँच दिन अस्पताल बसेर आफू नियमित काममा फर्किने भनी देशबासीलाई सम्बोधन गरेर अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य ठीक कहिले होला भन्ने विषयमा सार्वजनिक भएका यी फरक–फरक म्यादका सूचना नेकपाको आन्तरिक विवादमा विपक्षीलाई छक्याउन गरिएको प्रचारबाजी हो र त्यसको मारमा जनता परेका छन् । नेकपाभित्रको शक्तिसंघर्षको मारमा भएको यस्तो प्रचारबाजीको शिकार पनि बनाइएको छ । प्रधानमन्त्री ओली उनका गुट वा उनको पार्टी नेकपाका मात्र प्रधानमन्त्री होइनन्, राष्ट्र र जनताको साझा प्रधानमन्त्री भएकाले यसरी प्रधानमन्त्रीको स्वास्थ्यबारे जनतालाई गुमराहमा राख्न पाइँदैन । यो अपराध हो ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीको उपचार गर्ने चिकित्सकका बारेमा पनि कुरा लुकाइएको छ, हेर्न मात्रै आएका हुन् भने बेग्लै कुरा, होइन भने प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने भारतीय चिकित्सक प्रा.डा अनन्त कुमारका बारेमा कुरा लुकाएर पेशागत मर्यादा र कूटनीतिक मर्यादा दुवैमा खेलबाड गर्नु शोभनीय हुँदैन । उपचारलाई यसरी घृणित राजनीतिक चालबाजी बनाइनु किमार्थ राम्रो होइन । यसरी प्रधानमन्त्री ओलीको उपचार प्रक्रियालाई राजनीतिक दाउपेचको विषय बनाएर अपारदर्शी ढंगले प्रस्तुत गरिएकै कारण मनगढन्ते आशंकाका आधारमा हल्लालाई नै समाचार समेत बनाइएका छन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया