Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअभागी र अदूरदर्शी प्रधानमन्त्री

अभागी र अदूरदर्शी प्रधानमन्त्री


विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । चीन हँुदै इरान, दक्षिण कोरियालगायत १८ भन्दा बढी मुुुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको छ । यस्तो जटिल परिस्थितिमा भने नेपाल र नेपालीको नेतृत्व र जिम्मेवारी बोकेका प्रधानमन्त्री केपी ओलीले आफ्नै देश र जनताको बारेमा राम्रोसँग बुझ्नसमेत सकेका छैनन्, कारण उनी आफैँ अस्वस्थ्य हुनु हो । उनी अस्वस्थ्य हुनुमा उनको दोष नभएर हाम्रा अदूरदर्शी नेतृत्व र केही मात्रामा भाग्यलाई पनि दोष दिन सकिन्छ ।

यतिखेर उनले नेपाल र नेपाली जनताको अवस्था कस्तो छ, अझै विदेशमा रहेका नेपालीको अवस्था कस्तो छ भनी नियमित अनुगमन गर्नुपर्ने अर्थात् अनुगमन गर्नका लागि सम्बन्धित मन्त्रालय, मन्त्री, राजदूतावास, नियोग तथा सचिवहरूलाई निर्देशन दिनुपर्ने थियो । अभिभावकोे रूपमा रहेका ओलीले गहन जिम्मेवारी लिई आफ्नो भूमिकामा चुक्न नहुने थियो । तर, यतिखेर उनको अवस्था नै सामान्य छैन । यसअघि पनि उनको अवस्था सामान्य थिएन । तर पनि देशलाई हाँक्दै हिँडेका थिए । स्वास्थ्य राम्रो नहुँदा पनि देशलाई हाँक्ने आँट देखाएका ओलीको मिर्गौला फेरेर पनि नेपालीहरूको नेतृत्व लिई सुखी र समृद्ध नेपाल र नेपाली निर्माण गर्छु भन्ने जुन अठोट छ त्यसलाई हृदयबाट नै नमस्कार र प्रशंसा । तर, नेतृत्व लिने जुन साहस देखाएका छन् त्यसमा प्रशंसा गर्ने ठाँउ छन् । तर, यति भन्दाभन्दै पनि उनी अस्पताल प्रवेशअघि नै विश्वका अन्य मुलुकमा जस्तै नेपाली नागरिकको पनि कोरोनाका कारण भविष्य सुरक्षित छैन भनेर थोरै भए पनि सोच्नु पर्नेथियो । तर, उनले सोचेनन् र हिजोका दिनमा जस्तो अदूरदर्शी नेतृत्वपन देखाए । जसले गर्दा कोरोनाको त्रास नेपालीमा फैलिएको छ भने केहीमा संक्रमणको अवस्था देखापरेको छ ।

यदि स्वदेश र विदेशमा रहेका जति पनि नेपालीहरूको अवस्थाको बारेमा उनले पर्याप्त सोचेको भए आज यस्तो अवस्थामा खेल्नुपर्ने भूमिकामा निपूर्ण भई जिम्मेवारी पूरा गर्न सक्थे भने प्रशंसा र तारिफ पनि पाउँथे । यहाँ गैरजिम्मेवार व्यक्ति धेरै छन्, त्यसैले गर्दा थोरै मात्र भए पनि जिम्मेवार निर्वाह गर्नले तारिफ पाउनु स्वभाविक हो । प्रधानमन्त्री ओली मात्र होइन, चाहे अमेरिकी राष्ट्रपति टम्प हुन् वा उत्तर कोरियाको किम जोङ । उनीहरूको जिम्मेवारी हो, आफू र आफ्नो मुलुकको रक्षा गर्नु । त्यसैले प्रधानमन्त्री ओली अहिलेको उनको अवस्थामा चाहेर पनि भाग्यमानी बन्न सक्ने अवस्थामा छैनन् । अब उनी स्वस्थ भई उठेर नेपालको नेतृत्व सम्हाल्ने क्रममा दूरगामी नेतृत्वसहित अभागी सोच लिएर नआऊन् । उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नेतत्वमा रहेका अन्य सरकारका जिम्मेवार व्यक्तिहरूले कोरानाबाट स्वयम् पनि बचेर देशविदेशमा रहेका नेपालीलाई पनि बचाउन सकून् ।

उनले आफ्ना मन्त्रीहरूलाई नेतृत्व नदिएका हुन् वा नसकेका हुन् । विश्वले संकटकाल घोषणा गरेको अवस्थामा नेपाल भने भर्खर कोरानो भाइरससँग लड्ने तयारीमा जुट्दै छ । भोलिका दिनमा कोरोना भाइरसबाट नराम्रो अवस्था सिर्जना भएमा त्यसको दोष सरकारलाई लाग्नेछ । त्यस्तो अवस्था सिर्जना हुन नदिनको लागि सरकारले पूर्वतयारी गर्न ढिला भइसकेको छ । कोरोना भाइरसको कारण अहिले भइरहेका घटना आगामी दिनमा नहोस् । हालसम्म नेपालीहरूले कोरोनाको जोखिम मोल्नु परेको छैन । यस्तै सुखद समाचार विश्वलाई नै दिन सरकार निरन्तर लाग्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया