काठमाडौं । सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटमा भाषा नेपाली र अंग्रेजी के हुने र कस्तो हुने भन्ने बारेमा करिब छ वर्षदेखि विवाद जारी छ । यही विवादका कारण नेपालका सवारीसाधनले विभिन्न खाले नम्बर प्लेट बोकेर गुडिरहेका छन् । सरकारी, प्राइभेट, भाडा, कूटनीतिक नियोगलगायतका सवारीसाधनहरूमा नम्बर प्लेटको अहिलेसम्म पनि एकरूपता छैन । यसको मुख्य कारण प्लेटमा देखिएको भाषा विवाद हो ।
यसलाई अहिलेसम्मका कुनै पनि सरकार वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले समाधान गर्न सकेका छैनन् । नेपालमा २०७४ साल भदौ ५ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएको थियो । सुरुदेखि नै यसमा भाषा विवाद निकालियो । इम्बोस्ड नम्बरको नमूना नम्बर प्लेट सार्वजनिक भएदेखि नै भाषा विवाद आएको हो । जडान सुरु भएपछि सर्वोच्चमा मुद्दा प-यो र तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले २०७४ साल फागुन १० गते अन्तरिम आदेश जारी गरी तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न भने ।
त्यसपछि २०७६ साल मंसिर २७ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले इम्बोस्ड नम्बरमा अंग्रेजी भाषा प्रयोगविरुद्धको रिट खारेज गरेको थियो । रिट निवेदन खारेजीसँगै पुनः इम्बोस्ड नम्बर प्लेट राख्न थालियो । तर, त्यसमा फेरि पनि भाषा विवाद निकालियो । भाषा विवादको कारण उक्त इम्बोस्ड नम्बर प्लेट जडान कार्य फेरि अलमलमा प-यो ।
यही चैत १३ गते सोमबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर इम्बोस्ड नम्बर प्लेटमा केही शब्द नेपाली प्रयोग गर्ने भनेर निर्णयका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार नम्बर प्लेटमा देश र प्रदेशको नाम नेपालीमा लेख्ने गरी कानुनी व्यवस्था गर्न लागेको जानकारी गराए । उनले प्लेटमा उल्लेख गरिएको नम्बरभन्दा पनि त्यसमा टाँस गरिएको चिप्सले गाडीको नम्बर र त्यसको सम्पूर्ण विवरण ‘रिड’ गर्ने भएको कारण देश र प्रदेशको नाम नेपालीमा लेख्ने गरी सरकारले कानुनी व्यवस्था गर्ने बताए ।
प्लेटमा टाँस गरिएको चिप्समा सबै विवरण हुन्छ भने यसमा भाषा विवाद निकालेर अहिलेसम्म गिजोल्नुपर्ने नै थिएन । यो कुरा बुझेर पनि नबुझेको जसरी गिजोलियो वा यति सानो कुरा पनि बुझ्न मन्त्री र सरकारी अधिकारीहरूलाई आधा दशकभन्दा बढी समय लाग्यो । यसले नेपाली शासकहरूको योग्यतामाथि प्रश्नचिह्न उठाएको छ । जे होस् चिप्समा सबै विवरण अंग्रेजीमा राखेर बाहिर आँखाले देखिने प्लेट नेपालीमा वा बाहिर देखिने प्लेटमा देश, प्रदेश र अंक अंग्रेजीमा राखेर मेसिनले ‘रिड’ गर्ने चिप्समा नेपाली र अंग्रेजी दुवै भाषामा राख्दा पनि कुनै समस्या भएन ।
तर, यति सानो विषयमा पनि यति लामो समयसम्म विवाद गर्नु लाजमर्दो कुरा हो । अब नम्बर प्लेटमा पुनः भाषाको विवाद ननिकालियोस् । यदि मन्त्री श्रेष्ठले भनेको जस्तै प्लेटमा जे लेखे पनि चिप्सको कुरा मुख्य हो भने इम्बोस्ड नम्बर प्लेटको भाषा विवाद अनावश्यक हो । यस्तो विवाद चाँडै अन्त्य होस् र अन्य विषयमा यस्ता विवाद नआऊन् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया