Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपरीक्षण, परीक्षण र परीक्षण

परीक्षण, परीक्षण र परीक्षण


विश्व स्वास्थ्य संगठनका महानिर्देशक एडोनोम गेब्रेयुसले हाल फैलिएको कोरोनाको रोकथामको अचुक औषधि भनेको परीक्षण, परीक्षण र परीक्षण मात्रै हो भनी संसारका मुलुकलाई सुझाएका थिए र त्यसमा पनि झन् बढी प्रभावित देश तथा प्रभाव विस्तार हँुदै गएका देश यसका लागि विशेष सतर्क भएर यस्तो परीक्षणलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । वास्तवमा नै यस्तो भनाइलाई अवलम्बन गर्ने मुलुक जोगिएका पनि देखिए र यसको अवलम्बन नगर्ने देश झनै बढी प्रभावित हँुदै आएका छन् । बढी प्रभावित हुनेमा इटाली संसारकै उदाहरण भएको छ । इटालीमै भएको एउटा अध्ययनअनुसार यो देशमा कोरोना भाइरस लागको भन्ने करिब सातदेखि आठ हप्ताको बीचमा मात्र जानकारीमा आयो, जुनबेला सखापै भैसकको थियो । यो भाइरसको विस्तार एकबाट १० र १० बाट सय तथा सयबाट हजारको दरले फैलिँदो रहेछ भन्ने पुष्टि नै भैसकेको छ । यदि रोग लाग्नासाथ अथवा भाइरस प्रवेश गर्नासाथ परीक्षण गरिएको भए रोकिने रहेछ भन्ने उदाहरण पनि कायम भएको छ । त्यसको उदाहरण हो, दक्षिण कोरिया ।

विश्व स्वास्थ्य संगठनले यो देशलाई पनि ठूलो जोखिममा रहेको भनी बताएको थियो, बरु त्यसबेला यस्तो जोखिम इटालीमा धेरै थिएन । दक्षिण कोरिया चीनको नजिक पर्छ । तर, यो देशले त्यो जोखिमलाई आफैँ न्यूनतममा झा¥यो आफ्नै बलबुता र विवेकबाट । भनेजस्तै यो देशले परीक्षणलाई प्राथमिकता दियो । अमेरिकी एक प्राध्यापकका अनुसार कोरियाले प्रतिदिन अमेरिकाले एक महिनामा गर्नेभन्दा धेरै कोरोना संक्रमणको परीक्षण गरेको पाइएको थियो । उसले मान्छेलाई परीक्षणविना सडकमा हिँड्न पनि दिएन । यसको अर्थ हो, उसले बल प्रयोग गरेको पनि होइन । पैदलयात्रीदेखि सार्वजनिक र निजी गाडीमा हिँडिरहेकाहरुलाई आधा मिनेट रोक्ने र स्याम्पल लिने अनि परीक्षण गर्दा कुनै कैफियत आए उसलाई पछ्याउने नत्र छाडिदिने गरेको थियो । यसो हँुदा मान्छेले आफूमाथि भाइरसको परीक्षण गर्ने गरेको भन्ने पत्तै पाएनन् । यता यो कामले रोग फैलिन पनि पाएन र मान्छेले सास्ती पनि खेप्न परेन । संसारले लकअप र के–के हो त्यो त्यो गरिरहँदा कोरियाले यी केही नगरी नै नियन्त्रणमा लियो । जसको कारण कोरियामा भाइरसको नयाँ संक्रमण विस्तार रोकियो र करिब नौ हजार संक्रमित रहेका ठाउँमा करिब डेढ सयको मात्र मुत्यु भयो ।

पछिल्लो समय युरोपमा यो भाइरसले च्यापेको पाइयो । इटाली आफ्नो कारणले होला तर अमेरिका युरोपका देशहरुमा जसरी यो भायरस बढ्दो क्रममा छ त्यसको कारण परीक्षणमा ध्यान नदिइएको बताइँन्छ । अमेरिकाको टेम्पल युनिभर्सिटीका क्रायस जोन्सनका अध्ययनले पनि त्यस्तै देखाएको छ । क्रायस जोन्सनका अनुसार बिरामीको पहिचान, परीक्षण र उनीहरुलाई एकान्तमा राख्ने दिशामा दक्षिण कोरिया र चीनले निकै राम्रो काम गरे । भन्छन् परीक्षणबाट नै उनीहरुलाई एकान्तवासमा पठाउन सहयोग पुग्छ । चीन, ताइवान, सिंगापुर र हङकङले पनि यही प्रक्रियालाई अपनाएका छन् । जसले भाइरसको प्रकोप पनि यी मुलुकमा कम देखिएको छ । यसो हो भने नेपालले पनि परीक्षणलाई किन जोड नदिने ? नेपालले परीक्षणलाई सबैभन्दा कम प्राथमिकतामा राखेको अवस्था छ । कतिसम्म भने राष्ट्रिय तालाबन्दी गरेपछि पनि यस्तो परीक्षणलाई प्राथमिकतामा राखेको वा त्योअनुरुप काम गरेको पाइएन । नेपालमा यतिबेला सबैभन्दा दुरुह काम नै कोरोनाको परीक्षण गराउनु हो । यस्तो अवस्था कायम रहुन्जेल अरु प्रकृया कति प्रभावकारी होलान् भन्ने अध्ययन गरियोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया