Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकाठमाडौं महानगरबाट अन्य स्थानीय तहले सिक

काठमाडौं महानगरबाट अन्य स्थानीय तहले सिक


काठमाडौं । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्ने काठमाडौं महानगरपालिकाको उद्देश्यअनुसार ऐतिहासिक धरोहर मानिने दरबार हाई स्कुलमा शिक्षामा सिप कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रमअन्तर्गत शनिबार पनि पठनपाठन गर्न थालिएको छ । उक्त कार्यक्रमअन्तर्गत ९० घण्टे कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाककलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् । दरबार हाई स्कुललगायत महानगरभित्रका सबै सामुदायिक विद्यालयमा यही शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा ९ देखि १२ सम्म उक्त शिक्षा महानगरले थालनी गरेको हो । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सिपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित महानगरले शैक्षिक सत्र २०८० मा उक्त कार्यक्रम लागु गरेको हो । जुन कार्यक्रम अहिले परीक्षणका रूपमा लागु भएका छन् ।

काठमाडौंको मुटुमा रहेको दरबार स्कुलले ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत सौन्दर्यकला, बिजुली जडान तथा मर्मत कार्यक्रमलाई छनोट गरेको छ । उक्त कार्यक्रम शुक्रबार मात्रै गर्ने भनिए पनि समय अपुग भएपछि शनिबार पनि अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षामा सिप कार्यक्रम पठनपाठन गरिएको विद्यालयले जनाएको छ । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ एन्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ । अहिले काठमाडौं महानगरमा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ मावि र ३० प्राथमिक विद्यालय छन् । विद्यालयको संख्या मात्र होइन जनघनत्व पनि धेरै छ, काठमाडौंमा । यहाँ पाँच सय ४० त निजी विद्यालय छन् । जहाँ एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् । महानगरले सबै विद्यालयलाई कुनै न कुनै प्राविधिक शिक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।

नयाँ विषय समावेश गरेर महानगरले कडाइ गर्न थालेपछि अहिले दरबार स्कुलमा विद्यार्थीको संख्या बढ्न थालेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस ऐतिहासिक विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययममा पढाइ हुन थालेपछि विद्यार्थीको संख्या बढ्न गएको हो । विद्यालयका अनुसार अघिल्लो वर्षसम्म पाँच सय विद्यार्थी अध्ययन गर्दथे भने अहिले छ सय ५० विद्यार्थीले पठनपाठन गरिरहेका छन् । गत वैशाखमा यो वर्षका शैक्षिक सत्रमा मात्र एक हजार पाँच सय विद्यार्थी भर्नाका लागि आएका थिए, स्थान अभावका कारण सबैलाई समावेश गर्न नसकिएको विद्यालयले जनाएको छ । यसले के देखाएको छ भने स्थानीय तहले विद्यालय सञ्चालनका लागि सही नीति लिएमा सरकारी विद्यालयमा पनि विद्यार्थीको चाप थेग्नै नसक्ने गरी बढ्छ । अहिले सरकारी विद्यालयमा विद्यार्थीको चाप घट्नुमा निजी विद्यालयको आकर्षणभन्दा पनि सरकारी विद्यालयमा देखिएको बेथिति प्रमुख हो । यसलाई सुधार गर्न स्थानीय तहले प्रयास गर्ने हो भने जहाँ पनि निजीको सट्टा सरकारी विद्यालयमै विद्यार्थीको चाप बढ्ने छ ।

बाध्यताले मात्र निजी विद्यालयमा अभिभावकहरूले आफ्ना सन्तान पठाएका हुन् । काठमाडौं महानगरले जस्तै अन्य नगरले पनि आफ्नो क्षेत्रभित्रका विद्यालय सुधारका लागि प्राविधिक र अन्य पक्षमा सुधार गर्ने हो भने विद्यार्थी फेरि सरकारी विद्यालयतर्फ नै फर्कने छन् । अर्कोकुरा अहिले विद्यालय वा क्याम्पसबाट शैक्षिक बेरोजगार मात्र उत्पादन भइरहेका छन् । निजी होस् वा सरकारी जुनसुकै विद्यालयमा पनि प्राविधिक शिक्षाको कमीका कारण यो अवस्था सिर्जना भएको हो । काठमाडौं महानगरले जस्तै प्राविधिक शिक्षालाई अनिवार्य गर्ने काम अन्य स्थानीय तहले पनि गर्नुपर्छ । अनि मात्र रोजगार जनशक्ति उत्पादन हुनेछ । काठमाडौं महानगरपालिकाबाट अन्य स्थानीय तहले पनि यो कुरा सिक्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया