Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी

लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी


फ्रान्कफर्ट, जेठ २२
जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएको बुधबार जनाएको छ । कोरोनाभाइरसबाट सिर्जित विषम परिस्थितिका कारण कम्पनीको पुनः संरचना गर्ने कार्यमा पनि संकट उत्पन्न भएको छ ।

एएफपीका अनुसार केही महिनादेखि विश्वभर हवाई सेवा ठप्पप्रायः छ । कम्पनीले यही कारण अभूतपूर्व नोक्सानी व्यहोर्न बाध्य हुनुपरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी कास्र्टन स्पोहरले एक विज्ञप्ति जारी गर्दै मागमा विस्तारै सुधार हुनेक्रममा रहे पनि कम्पनीलाई गतिशील बनाउन पुनः संरचनाका कदम चाल्नुको विकल्प नरहेको बताए ।

तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो तर यो समय तुलनात्मक रुपमा कम पर्यटक भ्रमण गर्ने समय हो । विमान कम्पनीको निर्देशनात्मक बोर्डले सोमबार जर्मन सरकारबाट ९ अर्ब डलरको ऋण स्वीकार गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । समूहले आफ्ना सेयरहोल्डरलाई यो विषय अनुमोदन गर्न जुन २५ मा अनलाइन बैठक गर्दै छ ।

प्रस्तावित सरकारी लगानीको अर्थ हो लुफ्थान्सामा जर्मन सरकारको सेयर २० प्रतिशत हुनेछ । यो सेयरसँगै लुफ्थान्सामा जर्मन सरकारको शेयर रहेको सबैभन्दा ठूलो कम्पनी हुनेछ । युरोपेली क्षेत्रका अन्य प्रतिस्पर्धीझैं लुफ्थान्सा समूह पनि कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित छ । यस समूहले हाल युरोविङ्स, स्वीस, ब्रसेल्स र अस्ट्रियन एयरलाइन्सको स्वामित्व ग्रहण गरेको छ ।

यस समूहसँग रहेका कुल ७ सय ६० वटा विमानमध्ये ३ सय वटा विमान अर्को वर्षसम्म त्यतिकै थन्किनेछन् भने २ सयवटा विमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नुपर्नेछ । विमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x